कोशीको बेथिति रोकिनुपर्छ

विराटनगरस्थित कोशी अस्पताल प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल हो । दैनिक हजारौं सर्वसाधारणले उपचार सेवा लिन आउने अस्पताल राजनीतिक हस्तक्षेप र प्रशासनिक अक्षमताले विवाद र लफडामा पर्दै आएको छ भने सेवा पनि गुणस्तरीय दिन सकेको छैन । सरकार फेरिएपिच्छे फ ेरिने मेडिकल सुपरिटेण्डेन्ट र अस्पताल विकास समितिले अस्पताललाई भर्तीकेन्द्र मात्र बनाएका छैनन्, ठूलो अनियमितता पनि गरेको आरोप लाग्दै आएको छ । मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकार मातहत आएपछि कोशीमा केहि सुधारको संकेत देखिएको थियो । किनकि नजिकै रहेको मन्त्रालयले अस्पतालनको निगरानी गर्न थालेको थियो । तर, अस्पताललाई संघ सरकारले फिर्ता लिएपछि बेथिति मौलाएको छ । अस्पतालमा आवश्यक विभागमा कर्मचारी र चिकित्सको अभाब छ भने अनावश्यक ठाउँमा स्वास्थ्य कर्मी र कर्मचारी भर्ती गरेर भिड जम्मा गरिएको छ । अस्पताल विकास समिति र मेसुले अस्पताललाई राजनीतिक भर्तीकेन्द्र बनाएका छन् । विना प्रतिस्पर्धा चिकित्सक र कर्मचारी ठाडो तोक आदेशमा नियुक्त गर्ने कार्यले गुणस्तरी सेवा प्रदान गर्ने भन्दा निजी अस्पतालको रेफरल सेन्ट कोशी बन्ने खतरा छ ।

पछिल्लो समयमा असोज ६ गते अस्पालका मेसु परिवर्तन गर्ने निर्णय स्वास्थ्यमन्त्री प्रदिप पौडेलले गरे । मेसु डा.रविनराज सिंहलाई हटाएर डा.रुना झालाई मन्त्रालयले मेसुको जिम्मेवारी दियो । डा.सिंह मेसु रहँदा विना प्रतिस्पर्धा मिलेमतोमा ९ जना चिकित्सक नियुक्त गरेको विषय मन्त्रालयसम्मै पुगेको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल र मेसु डा.सिंहको मिलेमतोमा चिकित्सक नियुक्त गरिएको थियो । अत्यावश्यक विभागमा चिकित्सक नियुक्त नगरी धेरै चिकित्सक भएको विभागमा थुपार्ने काम भएको समाचार हाम्रोमतसहितका सञ्चार माध्यममा प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण नै सोधेको थियो । अस्पतालमा आएको बेला स्वास्थ्यमन्त्री पौडेलले त्यसबारे प्रश्न नै उठाएका थिए । तर, स्पष्टिकरणपछि कुनै कार्वाही मन्त्रालयले गरेको अहिलेसम्म देखिएको छैन । बरु मन्त्रालयले अघिल्ला स्वास्थ्यमन्त्री प्रदिप यादवले नियुक्त गरेका मेसुलाई परिवर्तन गरेको छ । अस्पतालमा लेनदेनको आधारमा कर्मचारीको नियुक्ति हुने गरेको आरोप लाग्दै आएको छ । विना प्रतिस्पर्धा र कुनै टिप्पणीसमेत नउठाई भइरहेको कर्मचारी नियुक्तिले सो आरोपलाई बल दिएको छ ।

मन्त्रालयले मेसु परिवर्तनको निर्णय गरेपछि पनि अस्पतालमा पदमुक्त भएका मेसु सिंहले जथाभावी निर्णय गरेको पाइएको छ । असोज ६ गते पदमुक्त भएका उनले असोज १० गते ७ जना कर्मचारीलाई नियुक्ति दिएको पाइएको छ । सिंहले दबाबमा नियुक्ति दिनुपरेको स्वीकार गरेका छन् । तर, अस्पतालमा नियुक्त भएकाहरुको न कुनै फायल टिप्पणी उठेको छ, न सदर भएको छ । त्यति मात्र हैन, मन्त्रालयले पदबाट हटाउने निर्णय गरिसकेपछि डा.सिंहले करोडौं रुपैयाँ भुक्तानीको चेकमा हस्ताक्षर गरेको पाइएको छ । सामान्यतः सरुवाको निर्णय भइसकेपछि अत्यावश्यक बाहेक अन्य काम नगर्ने प्रचलन कर्मचारी प्रशासनमा हुन्छ । तर, कोशीमा त्यसो भएको छैन । डा.सिंहले जाँदाजाँदै अघिल्लो वर्षको मिति राखेर अस्पतालका लेखा अधिकृत बस्ने घर भाडामा लिने सम्झौता पनि गरेका छन् । लेखा अधिकृतको घरभाडा अस्पतालले दिने कुनै नियम र निर्णय छैन । तर, मिलेमतोमा कर्मचारी नियुक्तिदेखि, भुक्तानी र घरभाडाको सम्झौताको काम भएको छ । नयाँ मेसुको जिम्मेवारी लिएर आएकी डा. रुना झाले यो बेथितिलाई रोक्नुपर्छ । आफैंमा चर्चित र स्थापित पहिचान बोकेकी डा. झाले कोशीको बेथिति सुधार गर्नसक्ने अपेक्षा गरिएको छ । अस्पतालको नेतृत्वले कडाईपूर्वक अगाडि बढ्ने हो भने अस्पतालका सबैखाले बेथिति नियन्त्रण हुनेछ । सेवा प्रवाह गुणस्तरीय र सरल हुनेछ ।

बुधबार, १६ असोज, २०८१, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर