विपद्का बेला पनि चलेन अनलाइन पोर्टल

विराटनगर । कोशी प्रदेश सरकारले विपद्का बेला सूचना दिन भनेर बनाएको पोर्टल नै प्रयोगविहीन बनेको छ । गतसाता परेको अविरल वर्षाले प्रदेशभर क्षति गरिरहँदा स्थानीय जनतालाई सचेत र सुरक्षित गराउने सवालमा सरकारको पोर्टलले कुनै काम गरेन । यस अवधिमा त्यो पोर्टलमा प्रदेश सरकारले कुनै सूचना सार्वजनिक गरेको देखिएन । गत असार २४ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्मा प्रदेशबासीलाई सूचना अपलब्ध गराउन उपयोगी हुने भन्दै उक्त पोर्टल उद्घाटन गरेका थिए । पोर्टलको उद्घाटन गर्दै मुख्यमन्त्री हिकमत कार्कीले विपद्बाट हुने क्षतिलाई न्युनीकरण गर्न र जनताको जीउधनको सुरक्षा गर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताएका थिए ।

तर, चार दिनसम्म बाढी पहिरोले ठुलो धनजनको क्षति हुँदासमेत प्रदेश सरकारले उक्त पोर्टलको प्रयोग गर्ने तर्फ कुनै ध्यान दिएन भने कुनै सूचना पनि सार्वजनिक गरेको देखिदैन । ‘सरकारले यस्ता एपहरू बनाउने र केही समयपछि निस्प्रभावी हुने हो भने बनाउनुको कुनै अर्थ हुँदैन,’ उनले त्यति बेला भनेका थिए, ‘त्यसैले यस्ता पोर्टलहरूको प्रभावकारिताको बारेमा अध्ययन गर्ने, यसले समाजमा पारेको सकारात्मक र नकारात्मक सबै प्रभावको बारेमा बेलाबेलामा अपडेट गर्नुपर्छ ।’

मुख्यमन्त्री कार्कीले नै भने जस्तै प्रदेश सरकारले जनतालाई पूर्व तयारी तथा भइसकेपछि राहत उद्धार लगायतका विषयमा चासो समेत दिएको नपाइएको भन्दै विपक्षी नेताहरुले आलोचना गरेका छन् ।‘मुख्यमन्त्री र मन्त्री ज्यूको दबाबमा पोर्टलको उद्घाटन भएको हो,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक कर्मचारीले भने ‘१० लाख बजेट यो पोर्टल बनाउन छुटाइएको थियो । प्रभाकारी नहुने भन्ने हामीलाई पूर्व सूचना आएपछि रोक्न खोज्यौं । दबाब थेग्न नसकेपछि पैसा घटाएर सम्झौता गरेका हौं ।’

आगलागी, बाढी, पहिरो, जंगली जनावरको आक्रमणको जोखिम क्षेत्र लगायत सबै प्रकारका विपद्को उच्च जोखिममा रहेका स्थानहरूको पहिचान गरेर त्यस्ता क्षेत्रका बारेमा पूर्व जानकारी गराउने गरी मन्त्रालयले यो पोर्टल बनाएको हो ।सो पोर्टलमा बाढीपहिरो आउने स्थानका नागरिकहरूलाई पूर्व सूचनाको जानकारी दिनुका साथै प्रहरी, एम्बुलेन्सलगायत आकस्मिक सेवाका लागि फोन गर्न सकिने सुविधासमेत उपलब्ध हुने जनाएको थियो ।

मन्त्रालयका प्रवक्ता विश्वदीप बेस्राले भने केही समयपछि उक्त पोर्टल चल्ने दाबी गरेको छन् । डाटा इन्ट्री गर्ने काम भइरहेकाले अब केही समयपछि पोर्टल चल्ने उनले बताए ।

गतसाताको बाढीले कोशी प्रदेशमा ठुलो धनजनको क्षति पुगेको छ । पहिरो र डुबानबाट कोशी प्रदेशमा २२ जनाको मृत्यु भएको भने १३ जना घाइते भएका छन् । ४ जना अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।

मङ्गलबार, १५ असोज, २०८१, बिहानको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर