सम्पादकीय
शनिबार सबेरै बिहान ललितपुरको नख्खु खोलाले घेरेपछि घण्टौंसम्म गुहार लगाउँदा पनि राजु साहको परिवारलाई उद्धार गर्न कोही पुगेन । सर्वसाधारणले हेर्दाहेर्द साह, उनका भाई राज साह, मेघना साह र सेतु साहलाई बाढीले बगायो । उनीहरुमध्ये तीन जनालाई काभ्रे तेमालका चनिकलाल तामाङले ज्यानको बाजी लगाएर बचाए । सेतु साह भने बेपत्ता छन् । सरकार मातहतको जल तथा मौसम विज्ञान विभागले ठूलो वर्षा हुने र जोखिम बढ्ने सूचना एक साता अगाडिदेखि दिएको थियो । तर, सरकारको पूर्वतयारी नहुँदा देशभर ठूलो धनजनको क्षति भएको छ । १५० भन्दा धेरैको ज्यान गएको छ भने ५० भन्दा धेरै अझै बेपत्ता छन् । अर्बौको भौतिक संरचनामा क्षति पुगेको छ । पूर्वसूचना प्राप्त हुँदाहुँदै जनधनको रक्षा गर्नका लागि सरकारले जे जति तयारी गर्नु पर्दथ्यो, जति सतर्कता अपनाउनु पर्दथ्यो त्यो गर्न सकेको देखिएन । विपद् आउदैछ भनेर समयमा नै जानकारी हुँदा पनि सरकार र त्यसमा पनि गृह मन्त्रालयले संवेदनशील हिसाबले नलिएको देखिएको छ । राजधानीमै उद्धारको लागि घण्टौ नागरिकले याचना गर्नुपर्ने अवस्थाले सरकारको अक्षमता उजागर गरेको छ ।
देशभरमा भएका घटनामा नागरिकको जीउधनको रक्षाको लागि सरकारले गरेका प्रयास अत्यन्त फितलो, अपर्याप्त र झरा टार्ने खालको देखिएको छ । यसबाट सरकारका विद्यमान संरचनाहरु गतिशिल हुनै नसक्ने अवस्थामा पुगेका त हैनन् भन्ने प्रश्न पनि खडा भएको छ । बाढीको विपद्बीच यतिबेला देशभित्र प्रधानमन्त्री केपी शर्मा ओली छैनन् । राष्ट्रसंघको ७५ औँ महासाभामा सहभागी हुन न्यूयोर्कमा पुगेका उनी महासभाको औपचारिक कार्यक्रम सकेर घुमफिरमा व्यस्त छन् । निर्धारित कार्यक्रम छोट्याएर आउने आम नागरिकको अपेक्षा विपरित उनले उतैबाट सामाजिक सञ्जालमा अर्ति, उपदेश र निर्देशन छाँटिरहेका छन् । जसले आम नागरिकलाई आक्रोशित बनाएको देख्न सकिन्छ । प्रधानमन्त्री विदेश रहँदा कार्यवाहकको जिम्मा उप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको काँधमा छ ।
तर, शुक्रबारदेखि नै देशभर बाढी र पहिरोले बितन्डा मच्चाइरहँदा उनी बेपत्ता झै रहे । सिंहदरबारमा बसेर देशभर राहत र उद्धार अभियानको नेतृत्व गर्नुपर्ने समयमा शनिबार सिंह भोजपुरको एउटा गाउँका नाममा खोलिएको क्लबको कार्यक्रममा खादा लगाइहरेको विडम्बना देखियो । सिंहले शनिबार अपरान्ह मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको आकस्मिक बैठक राखेर उद्धार र राहतको विषयमा चासो राखे ।
सरकारको सारा संयन्त्र राहत र उद्धारमा लगाउन कमान्ड गर्नुपर्ने समयमा कार्यवाहक प्रधानमन्त्री सिंह क्लबको कार्यक्रममा सम्मानपत्र बाँडिरहेका दिए । सरकारको चौतर्फी आलोचना भएपछि शनिबार अपरान्हबाट मात्र गृहमन्त्री रमेश लेखकको पनि आँखा खुल्यो । त्यसपछि हेलिकप्टर परिचालन भयो । तर, उनको कामको गति कति सुस्त रह्यो भन्ने नख्खुमा चार जनालाई बगाएको घटनाले पनि उजागर गरिदियो । नख्खुामा चार जनालाई बगाएको र उद्धार गर्न नसक्दा दुःखद घटना भएको उनी बताइरहेका थिए । जबकि त्यसअघि नै चनिकलाले तीन जनाको सकुशल उद्धार गरिसकेका थिए । सडकसँगै पुलहरू भत्किँदा उपत्यका र जिल्लाका सदरमुकामसँग आसपासका ठाउँ सम्पर्क विच्छेद छन् । तत्काल उद्धार र राहतका कामलाई अगाडि बढाउनुपर्ने खाँचो छ । अलपत्र यात्रुलाई तत्काल सहज व्यवस्थापन गर्ने दायित्व पनि छ । आँगनमा आइसकेको बडादसैंमा गाउँघर जाने लाखौं नागरिकका लागि तत्काल सडक र पुलहरूको पनि निर्माणकार्य गर्नु झनै अत्यावश्यक देखिन्छ । यो बेलामा यतिधेरै सुस्त गृहमन्त्री र सरकारले कसरी संकटलाई पार लगाउँछन् भन्ने प्रश्न उठेको छ ।