चालु वर्षमा कोशी प्रदेशको बजेट कार्यान्वयन, खर्च बढ्दा आन्तरिक राजश्व घट्यो

विराटनगर । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कोशी प्रदेश सरकारको बजेट खर्चमा बृद्धि भएको छ ।
आर्थिक वर्ष २०८०-८१ को साउन र भदौ महिनामा १ अर्ब ७७ करोड ०९ लाख रुपैयाँ खर्च भएकोमा चालु वर्षको सोही अबधिमा २ अर्ब १८ करोड ८ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।

चालु वर्षमा भएको खर्चमध्ये चालुतर्फ १ अर्ब ७९ करोड ९८ लाख छ भने पूँजीगततर्फ ३२ करोड ४२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सो अबधिमा चालुतर्फ १ अर्ब ७३ करोड ६९ लाख तथा पुँजीगततर्फ ३ करोड ४० लाख रुपैयाँ मात्र खर्च भएको थियो ।

यो वर्षमा खर्च भएको चालुतर्फको रकममा संघ अनुदान फिर्ता तर्फ १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । चालु वर्षमा स्थानीय तह अनुदानतर्फ ५ करोड ६८ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षमा सो शिर्षकमा कुनै खर्च भएको थियो ।

विनियोजित बजेटको तुलनामा सुरुको दुई महिनामा गत वर्ष ४.८ प्रतिशत खर्च भएकोमा चालु वर्षमा ६.२ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय, विराटनगरले जनाएको छ । चालु आ.व.२०८१÷८२ मा कोशी प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालु खर्च १४ अर्ब ४७ करोड २३ लाख, पूँजीगत खर्च १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थामा २ करोड र स्थानीय तह अनुदान ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ रहेको छ ।

आम्दानीतर्फ चालु वर्षको भदौसम्ममा प्रदेश सञ्चित कोषमा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ । सो रकम राजस्व तथा अनुदान वापतको जम्मा रकम हो । गत आर्थिक वर्षको सो अबधिमा सञ्चित कोषमा २ अर्ब ४८ करोड ५३ लाख रुपैयाँ जम्मा भएको थियो ।
गत आर्थिक वर्षको दुई महिनाको तुलनामा प्रदेशको आन्तरिक राजश्वमा कमी आएको देखिएको छ भने संघीय राजश्व बाँडफाँड र अनुदान रकममा भने बृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो २ महिनामा ३८ करोड ९४ रुपैयाँ राजश्व असुली भएकोमा चालु वर्षको सो अबधिमा भने २८ करोड ५६ लाख रुपैयाँ मात्र राजश्व जम्मा भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १० करोड ३८ लाख कम हो ।

गत आर्थिक वर्षको पहिलो २ महिनामा संघीय राजश्व बाँडफाँडमा कोशी प्रदेशले कुनै रकम प्राप्त नगरेकोमा चालु वर्षमा ८० करोड ९९ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ गत आर्थिक वर्षको पहिलो २ महिनामा २ अर्ब १९ करोड ५९ लाख रुपैयाँ प्राप्त भएकोमा चालु आ.व.को सो अबधिमा २ अर्ब २३ करोड ५८ लाख रुपैयाँ प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३ करोड ९९ लाख रुपैयाँले बढि हो ।

कोशी प्रदेशको बजेटमा स्रोतमा आन्तरिक राजस्वतर्फ ४ अर्ब ९८ करोड, संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ४० करोड ८ लाख, संघ अनुदानबाट १४ अर्ब ६४ करोड ८५ लाख र नगद मौज्दातबाट ३ अर्ब २५ करोड रुपैयाँ व्यहोरिने अनुमान रहेको छ ।

शुक्रबार, ११ असोज, २०८१, बिहानको १०:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर