सम्पादकीय
मोरङको कटहरी गाउँपालिकाको सामुदायिक शिक्षामा हरेक वर्ष १२ करोड रुपैयाँभन्दा बढी लगानी गर्दै आएको छ । गाउँपालिकामा १९ वटा सामुदायिक विद्यालयमा सो रकम खर्च हुन्छ । गाउँपालिकामा विद्यार्थीहरुको लागि राज्यले त्यति ठूलो लगानी गरेको भएपनि सिकाइ उपलब्धी अति निराशाजनक छ । राज्यको ठूलो लगानी भएपनि गाउँपालिकामा आधारभूत तहको शिक्षा झनै कमजोर भएको देखिएको छ । गत शैक्षिक सत्र २०८० को स्तरमापन परीक्षा र एसईई परीक्षाको नतिजा विश्लेष्ण गर्दा कटहरीमा कमजोर देखिएको गाउँपालिकाकै शिक्षा शाखाले पनि स्वीकार गरेको छ । शिक्षा शाखाले विद्यालयको नतिजा अध्ययन गरेपछि सार्वजानिक गरेको अवधारणपत्र अनुसार सामुदायिक विद्यालयहहरुको शैक्षिक गुणस्तर सन्तोषजनक छैन । कटहरी २ स्थित महेशपुर आधरभूत विद्यालय बाहेक सबै विद्यालयको औसत सिकाइ उपलब्धी ३५ प्रतिशतभन्दा कम देखिएको छ । त्यसको अर्थ फेल हुने विद्यार्थीको संख्या अत्यधिक हुनु हो । जुन कटहरीको शिक्षाको विकासका लागि अत्यन्त चुनौतीपूर्ण सूचक हो ।
विराटनगर महानगरपालिकासँगै जोडिएको पालिका भएरपनि शिक्षाको अवस्था निराशाजनक देखिएको छ । गाउँपालिकाले गतवर्ष लिएको कक्षा ५ को वार्षिक परीक्षाको नतिजा विश्लेषण गर्दा विज्ञान र कक्षा ८ मा गणित विषयमा कुनैपनि विद्यालयले औसत सिकाइ उपलब्धी ३५ प्रतिशत पनि प्राप्त गर्न नसकेको देखिन्छ । सामुदायिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणमा गणित र विज्ञान विषयमाथिको अध्यापन, शिक्षणशैली, पाठ्यक्रम परिपालना आदि कार्यमा निकै कमजोरी देखिएकोे छ । गाउँपालिकाभित्र रहेका १६ वटा आधरभूत विद्यालयको कक्षा ५ को वार्षिक परीक्षामा ३.७ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएको देखिन्छ । ३५२ जना विद्यार्थीले दिएको परीक्षामा १३ जना मात्रै विद्यार्थी उत्तिर्ण हुनु अत्यन्तै कमजोर नतिजा हो । त्यसैगरी कक्षा ८ को परीक्षामा पनि विद्यार्थी उत्तीर्ण हुने दर अत्यन्त छ । कक्षा ८ मा २४४ जना विद्यार्थीले परीक्षा दिएकोमा ५ जना विद्यार्थी मात्रै उत्तीर्ण भएको अभिलेखमा देखिन्छ । १० वटा विद्यालयले कक्षा ५ को परीक्षामा एकैजना पनि विद्यार्थी पनि उत्तीर्ण गराउन नसक्नुले विद्यालयको गुणस्तर, गाउँपलिकाको नियमन र शिक्षकको जिम्मेवारीमाथि पनि प्रश्न खडा भएको छ । कक्षा ८ को परीक्षामा ५ वटा विद्यालयको नतिजा शून्य रहेको पाइएको छ ।
कटहरीमा एसईईको परीक्षामा पनि उत्तीर्ण हुने विद्यार्थीको संख्या न्यून रहेको छ । तीन विद्यालयका विद्यार्थीले एसईई दिने गरेकोमा जनप्रिय माविबाट ६८ जनामा ५ जना, जनता माविबाट ८६ जनामा ८ जना र प्रजातन्त्र माविबाट ३२ जनामा १ जना मात्रै उत्तीर्ण हुनुले सरकारले गरिरहेको लगानीलाई पनि गिज्याएको छ । कमजोर नतिजा आउनुमा शिक्षक, विद्यालय व्यवस्थापन समिति, पालिका, अभिभावक र विद्यार्थीको समेत जिम्मेवारी रहन्छ । त्यसमा पनि प्रमुख जिम्मेवारी शिक्षक, व्यवस्थापन समिति र पालिकाको हो । परम्परागत शिक्षण विधिले विद्याथीईलाई आकर्षित गर्न नसक्दा पनि गुणस्तर र नजितामा सुधार हुन सकेको छैन । अर्कातिर विद्यालयमा आवश्यकता अनुसार दरबन्दीको अभाब, अत्यावश्यक भौतिक पूर्वाधारको कमी, शैक्षिक सामग्रीको अभाब जस्ता समस्या पनि रहेका छन् । यसलाई सुधार गर्न स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्नुपर्छ । सिंगो गाउँपालिकामा एउटा पनि नमुना र उदाहरणीय विद्यालय नहुनु पालिकाको नेतृत्वको क्षमतामाथिकै प्रश्न हो । यसलाई सुधार गर्न पालिकाले ध्यान दिनुपर्छ ।