विराटनगर । जग्गाको सिफारिस गर्दा घुस लिएको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले वडाध्यक्षलाई नियन्त्रणमा लिएका छन् ।
उनीहरूले ८० हजार रुपैयाँ नगदसहित झापाको बुद्ध शान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली (गोपाल)लाई मंगलवार नियन्त्रणमा लिएका हुन् ।
अम्बरनाथ चौहानसँग वडाध्यक्ष ओलीले घुसबापत पैसा लिएकाले आफूहरूले नियन्त्रणमा लिएको नेकपा झापाका न्याय विभाग प्रमुख अर्जुन ‘सी’ पाण्डेले बताए ।
‘अम्बरनाथ भारतको सिलगुडीमा बस्ने भएकाले उहाँले गाउँका पण्डित चतुर्भुज घिमिरेको नाममा २३ लाख रुपैयाँमा जग्गा किन्नु भएको रहेछ,’ अर्जुनले भने, ‘उहाँहरूबीच लेनदेनमा कुरा नमिलेपछि वडामा कुरा पुगेको थियो । यसपछि मिलाउनका लागि भन्दै वडाध्यक्षले डेढ लाख भारतीय रुपैयाँ माग्नुभएको रहेछ ।’ वाट्सएपमा पटक–पटक घुस मागेपछि आफूहरूले पैसा ठीक पारेर बोलाइ नियन्त्रणमा लिइएको अर्जुनले बताए । बिर्तामोडको हनुमान कम्प्लेक्समा बोलाएर उनीहरूले नियन्त्रणमा लिएका हुन् ।भारतमै बसोबास गर्ने भएकाले अम्बरनाथसँग नेपाली नागरिकता थिएन । त्यसैले उनले चतुर्भुजको नाममा जग्गा किनेको पाइएको अर्जुनले बताए ।
नेकपाका कार्यकर्ताले वडाध्यक्ष ओलीलाई उनीहरूले इलाका प्रहरी कार्यालय, अनारमनिमा लगेर बुझाएका छन् । उनलाई इलाका प्रहरी कार्यालयमा राखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा खबर गरेको नेकपाका झापा सचिव सञ्जय ‘सी’ले बताए ।
झापा प्रहरीले भने वडाध्यक्षलाई नियन्त्रणमा लिएको विषय नेपाल प्रहरीको क्षेत्र नभएको जनाएको छ ।