सम्पादकीय
कोशी प्रदेश प्रहरीले हालै सार्वजनिक गरेको चाडपर्व लक्षित सुरक्षा योजनालाई नागरिक सुरक्षाको दृष्टिकोणले स्वागतयोग्य कदम मान्न सकिन्छ । दसैं, तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्वहरूको समयमा सुरक्षा चुनौतीहरू बढ्ने गर्दछन्, र यस्तो परिस्थितिमा प्रहरीको सक्रियता अत्यन्त आवश्यक हुन्छ ।
नेपाल प्रहरीले बनाएको चाडपर्व लक्षित योजनाका केही सकारात्मक पक्षहरू छन् । जसमा ८ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी गरिएको छ भने सीमा क्षेत्रमा विशेष निगरानी, र आर्थिक कारोबार हुने स्थानहरूमा सुरक्षा व्यवस्था बढाउने प्रयास सकारात्मक छन् । यात्रु सहायता कक्षको स्थापना र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिने योजनाले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने आशा गर्न सकिन्छ । तर भन्ने एउटा गर्ने अर्कै प्रवृत्ति हाम्रो ब्युरोक्रेसीभित्र उहिलेदेखि ब्याप्त छ । प्रहरीले पनि सीमा क्षेत्रमा कडाइ गर्ने बहानामा मुल आवागमन मार्गमा सर्वसाधारणलाई दुःख दिने तर बाँकी सबै नाकाबाट मिलेमतोमा तस्करी धन्दा चलाउने अझ चाडवाडमा नागरिकहरु मस्त हुँदा ती नाकाहरुबाट खुलेआम तस्करी गरी अनधिकृत लाभ लिन हाम्रो प्रहरी प्रशासन माहिर छ । त्यसैले चाडपर्व लक्षित योजना बनाउँदै गर्दा कतिपय क्षेत्रमा थप सुधार र प्रतिबद्धताको खाँचो पर्ने देखिन्छ ।
पहिलो, स्थानीय समुदायसँगको सहकार्यलाई बढावा दिनुपर्छ । स्थानीय नागरिक समाज, युवा क्लब र आमा समूहहरूसँग मिलेर काम गर्दा सुरक्षा व्यवस्था अझ प्रभावकारी हुन सक्छ । दोस्रो, डिजिटल अपराध र साइबर ठगीको बढ्दो खतरालाई सम्बोधन गर्न विशेष टोलीको गठन गर्नुपर्ने देखिन्छ । त्यसैगरी, महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । चाडपर्वको समयमा यी समूहहरू बढी जोखिममा पर्न सक्छन् । अन्त्यमा, प्रहरी र नागरिकबीचको सम्बन्ध सुधार गर्न सामुदायिक प्रहरी अवधारणालाई थप सशक्त बनाउनुपर्छ । सँगसँगै सीमा क्षेत्रबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गर्न प्रहरी संयन्त्र बढी नै संवेदनशील र गम्भीर बन्नुपर्छ । भन्सार राजश्व दिनप्रतिदिन घट्दै जाने अनि तस्करी भएर आउने वस्तुको परिमाणाम बढ्दै जाने अवस्थाले मुलुकको अर्थतन्त्र बलियो बनाउन सक्दैन । जब मुलुक आर्थिकरुपमा कमजोर बन्दछ त्यतिबेला यहाँको कर्मचारी प्रशासन र अन्य क्षेत्रलाई राज्यले सन्तुष्ट बनाउन सक्ने अवस्था रहँदैन भने बेथिति र अराजकतालाई बढाउन त्यस्तो अवस्थाले भूमिका खेल्दछ ।
निष्कर्षमा, कोशी प्रदेश प्रहरीले विगतकै निरन्तरताका हिसाबले भए पनि झण्डै दुई महिने सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने प्रयत्न गर्नुलाई सकारात्मक लिनुपर्छ । तर यसलाई अझ प्रभावकारी बनाउन समुदायको सहभागिता, प्रविधिको उपयोग र संवेदनशील समूहको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । सबै सरोकारवालाहरूको सहकार्यमा मात्र हामी सुरक्षित र शान्तिपूर्ण चाडपर्वको वातावरण सिर्जना गर्न सक्छौं ।