संविधान दिवसको भव्यताको सन्देश

  विक्रम लुइँटेल

२०७२ सालमा नेपालको संविधान जारी भएपछि यसका विविध आयामहरुका बारेमा चर्चा भइनैरहेको छ । कतिपय सन्दर्भमा यसका आलोचनासमेत हुने गरेको छ । तर एउटा सार्वभौमसत्ता राज्यका लागि संविधान महत्वपूर्ण अंग हो । विश्वका धेरै देशमा संविधान दिवसलाई विशेष महत्वका साथ हेर्ने चलन छ । त्यसै अनुसार संविधान दिवसलाई भब्यताका साथ अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई निम्त्याएर कार्यक्रम गरिन्छ । हाम्रो देशमा संविधान जारी भएको १० वर्ष पुग्दा अनेक कोणबाट यो ठिक कि बेठिक अथवा यसका केही केही कुरा बेठिक भन्ने गरिन्छ । खासगरेर प्रदेश संरचनाप्रति औंला ठड्याउनेहरु प्रसस्तै भेटिन्छन् । तर तिनीहरुलाई यो गर्ने अधिकार संविधानले नै प्रदान गरेको भन्ने हेक्का भने छैन । आज प्रदेश संरचनामाथि धावा बोलियो भने संविधानको सबै अंगहरुमा प्रहार हुन्छ र अन्ततः संविधान कोल्याप्स हुने सम्भावना रहन्छ । आज प्रदेश संरचनालाई देखाएर नयाँ हुन् वा पुराना पार्टी संविधानमाथि धावा बोल्ने प्रयत्न गरिरहेका छन् । यसलाई बलियो बनाएर उसको कार्यक्षेत्रभित्र हुर्काउने बढाउने भन्दा पनि वितृष्णमा फैलाउने प्रयत्न गरिँदैछ । यो परिवेशमा संविधान दिवस २०८१ आयोजना गरेर कोशी प्रदेश सरकारले यस्ता सबैखाले प्रश्नहरुलाई चिर्ने प्रयत्न गरेको छ । आज संविधान नमान्ने भनेर विरोध गर्नेहरुलाई विराटनगरमा भब्य संविधान दिवस मनाएर सबै क्षेत्रका मानिसलाई समेटेर जुन सन्देश कोशी प्रदेश सरकारले दिन खोजेको छ यो अनुकरणीय छ ।

हामीले संविधानलाई बलियो बनाउनतिर लाग्नु पर्छ । यसैमा देशको हित हुन्छ । यहि कुरालाई दृष्टिगत गरेर प्रदेश सरकारले यस वर्ष संविधान दिवसलाई उदाहरणीय रुपमा मनाएको छ । सबै भाषा, संस्कृतिका मानिसहरुलाई एकै ठाउँमा भेला गरेर कोशी प्रदेश सबै जातजाति, भाषा, संस्कृति र धर्म मान्नेहरुको साझा थलो हो भन्ने सन्देश प्रवाह गर्न सफल भएको छ । प्रदेशका १४ वटै जिल्लाका बालबालिका र वयस्कहरुलाई वादविवाद र निबन्ध प्रतियोगितामा सहभागी गराएर संविधानप्रतिको अपनत्वलाई प्रदेशभर फैलाउने प्रयत्न सरकारबाट भएको छ ।

पछिल्लो समयमा कोशी प्रदेश सरकारले गरेका केही सकारात्मक कामलाई समेत संविधान दिवसका अवसरमा मुखरित गर्ने प्रयत्न भएको छ । चाहे त्यो लाइसेन्सको झन्झटबाट मुक्ति दिने काम होस् चाहे पर्यटन प्रवद्र्धनका लागि प्रदेशका विभिन्न धार्मिक क्षेत्रका समितिहरुलाई क्रियाशील बनाउने कुरा होस् । यस विषयलाई कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो मन्तव्य मार्फत प्रस्तुत गरेर सकारात्मक सन्देश प्रवाह गरेका छन् । यसबिचमा भएका ठुला सडकहरुको उद्घाटनदेखि भेडेटारको स्काई वाक परियोजनासम्मका कुराले संविधान दिवसमा आएकाहरुलाई उर्जा प्रदान गरेको छ ।

कोशी प्रदेशमा विभिन्न सरकारहरु गठन भए । यो सात वर्षमा आधा दर्जन व्यक्तिहरु मुख्यमन्त्री भइसकेका छन् । तर, संविधान दिवसमा सबैलाई अटाएर भब्यतापूर्वक सन्देश दिन भने मुख्यमन्त्री कार्की मात्र सफल देखिए । संविधान कार्यान्वयन गर्नु र यसलाई अपनत्व सिर्जना गर्ने काम पनि देश विकासलागि कोशेढुंगा हो । किनभने संविधानका उल्झनहरुलाई न्युनीकरण गर्दै आम मानिसलाई संविधानप्रति आकर्षित गर्न सकिए द्वन्द्वहरु पनि निरुपण हुन्छन् । यस अर्थमा पनि कोशी प्रदेशले हिजो मनाएको संविधान दिवस यस क्षेत्रका लागि एउटा सन्देशमूलक र उर्जायुक्त कार्यक्रम हो ।

शुक्रबार, ०४ असोज, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर