आफ्नै प्रदेशमा निरिह कोइराला

 सम्पादकीय

नेपाली काँग्रेसको आगामी महाधिवेशनबाट काँग्रेसको नेतृत्वमा आउने कसर डा.शेखर कोइरालाले गरिरहेको छन् । गएको महाधिवेशनमा करिब ४० प्रतिशत मत मात्र प्राप्त गरेका उनले आगामी महाधिवेशनमा त्यसलाई बढाएर कोइराला परिवारको विरासत काँग्रेसमा फर्काउने बताउँदै आएका छन् । तर, पार्टीका सबै निकायमा बहुमतमा रहेको काँग्रेसको संस्थापन पक्षले एकपछि अर्को उनलाई कर्नरमा पारिरहेको छ । राजनीतिक हिसाबले मात्र नभएर कार्यनीतिक हिसाबले पनि कोइरालालाई पेलान भएको देखिन्छ । माओवादी र काँग्रेसको गठबन्धन बन्दा यो भत्काउनुपर्छ, काँग्रेसले एक्लै चुनाब लड्नुपर्छ र सरकार पनि एक्लै बनाउनुपर्छ भन्दै कोइराला हिँडे । काँग्रेसको महासमिति बैठकले त्यहि नीति पारित गरेपछि माओवादी र एमालेको गठबन्धन बन्यो । कोइरालाले त्यसपछि काँग्रेस र एमाले मिलेर मुलुकलाई स्थिरता दिनुपर्छ भन्नथाले । लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग मिलेर केपी ओलीलाई प्रधानमन्त्री बनाईदिए । अहिले भने कोइराला ठूला दल मिल्नु लोकतन्त्रको लागि र काँग्रेसको लागि पनि फाइदा जनक नहुने आशंका गरिरहेका छन् । यसरी देउवाले कोइरालालाई राजनीतिक लाइनमा अस्थिर बनाइदिएका छन् ।

पार्टीको पहुँच विस्तामा पनि कोशी प्रदेशमा आफ्नो चासो हुने कोइरालाले बताउँदै आएका थिए । त्यहि भएर गत वर्ष माओवादीसँगको गठबन्धनमा रहँदा माओवादीलाई मुख्यमन्त्री दिने निर्णय भएपछि कोइरालाले केदार कार्कीलाई काँग्रेसभित्रै विद्रोह गराएर एमालेको समर्थनमा मुख्यमन्त्री हात पार्न सफल भए । यपि पटक नयाँ गठबन्धनमा पनि कोशीमा कम्तीमा दुई मन्त्री आफ्नो समूहलाई चाहिने भन्दै सरकार विस्तारमै २ महिना ढिलो गराइदिए । तर, अन्तिममा कोइराला सिंगापुरमा भएको बेला देउवाले संस्थापन पक्षका ३ जनालाई मन्त्री र १ जनालाई मन्त्री बनाउन निर्देशन दिएपछि कोशी सरकार विस्तार भयो । अब कोइरालाले कोशीमा माग गरेको २ मन्त्री पाउने संभावना सकिएको छ । १ मन्त्री र १ राज्यमन्त्री भने उनको भागमा दिनेगरि छाडिएको छ । मन्त्री मात्र हैन, कोशीमा काँग्रेसले पाएको ३ जना संसदीय सभापतिमा पनि कोइराला समूहका कोहि परेनन् ।

कोइराला समूहकै पूर्वमुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री हुँदा सुरु गरेका विभिन्न योजना निरन्तरता दिनुपर्ने माग राख्दै भदौ २५ गते आमरण अनशन सुरु गरे । निषेधित ठाउँमा आमरण अनसन बसेका उनलाई प्रहरीले धरपकड ग¥यो । कार्यकर्तालाई लाठीचार्ज पनि ग¥यो । तर, पनि आफ्ना माग र मुद्दाबाट पछि नहट्ने अडान राख्दै कार्कीले २६ गते पनि अनशनलाई निरन्तरता दिए । तर, कांग्रेस दलका नेता उद्धव थापा र प्रमुख सचेतक गोपाल तामाङकै पहलमा उधारो सहमतिमा अनसन तोडियो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग मिलेर संस्थापन समूहले कोइराला पक्षलाई पेल्न थालेको देखिएको छ । जसले काँग्रेसको भावी नेतृत्वको दावी गरिरहेका शेखर कोइरालालाई कमजोर बनाएको छ । आफ्नो गृहप्रदेशमै कमजोर उपस्थितिले उनलाई देशभरीको काँग्रेस कार्यकर्तालाई विश्वासमा लिन संकट पर्ने देखिन्छ । त्यसमाथि आफ्नै समूहमा रहेका गगन थापाले छुट्टै उपसमूहको अभ्यास गरिहेका छन् । जसले डा.कोइरालाको काँग्रेसको नेतृत्व गर्ने सपनामाथि अर्को चुनौति खडा गर्ने संभावना छ ।

बुधबार, ०२ असोज, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर