विराटनगर । साउन ३१ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक ४३ अंकले बढेर तीन हजार विन्दुमा बन्द भएकोमा एक महिनापछि भदौ ३१ गते ४२० अंकले घटेर २५८० मा झरेको छ ।
साउन ३१ गते दिनभरको कारोबारमा ३०३६ विन्दुसम्म पुगेको नेप्सेले लगानीकर्तामा जगाएको उत्साह एक महिनामा पुरै हराएको छ ।
साउन अन्तिममा शेयर बजारका जानकार तथा लगानीकर्ताहरूले शेयर बजारमा उछाल आउने र २०७८ साल भदौ २ गते बनाएको ३२०० को विन्दु समेत पार गर्ने घोषणा गरेका थिए । चोक, बजार र चिया पसलदेखि संसदसम्म शेयर बजारको चर्चा चुलियो ।
कारोबार रकमले नयाँ रेकर्ड बनाएर बजारलाई उछालेपछि शेयर बजारमा नयाँ लगानीकर्ता पनि प्रवेश गरेका थिए । तर, त्यसयता लगातार नेप्से घटिरहेको छ । एक महिनामा १९ दिन शेयर कारोबार हुँदा नेप्से मात्र घटेको छैन, करिब ३० अब पुगेको कारोबार रकम पनि ७–८ अर्बमा खुम्चिएको छ ।
भदौमा १९ दिन शेयर बजार खुल्दा २ खर्ब ४५ अर्ब ७७ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्से तीन हजारको विन्दुमा पुग्दा ४–५ करोड कित्ता कारोबार हुने गरेकोमा बजार घटेसँगै शेयर कित्ता पनि घटेर १ करोडमा सीमित भएको छ ।
तीन हजार विन्दुमा नेप्से पुग्दा २–३ लाख पटक शेयर किनबेच हुने गरेकोमा अहिले हजारमा सीमित भएको छ । एक महिनामा २८ लाख ४७ हजार २७९ पटक किनबेच हुँदा दैनिक १ लाख ४९ हजार ८५६ पटक शेयर किनबेच भएको हो ।
भदौको १९ कारोबार दिनमा १३ दिन बजार घटेको छ भने ६ दिन मात्र बजार बढेको छ । करिब २ हजारको बिन्दुबाट एक हजारले बजार बढेकोले अहिलेको घटाई स्वभाविक भएको लगानीकर्ताहरुले दावी गर्दै आएका छन् । तर, लगानीकर्ताले धैर्यता गुमाएर घाटामै शेयर बेचिरहेको अवस्था छ ।
सबै कुरा सकारात्मक हुँदा पनि बजार घट्नुमा भने चलखेल भएको हुनसक्ने अनुमान पनि छ । ब्याजदर घटेको, बैंकमा लगानीयोग्य रकमको थुप्रो लागेको र राष्ट्रबैंकले संस्थागत शेयर कारोबारीलाई कर्जामा लगाएको १५ करोडको सिमा हटाएकोले बजार बढ्नुपर्ने अनुमान विज्ञहरुको छ । तर, पछिल्लो समयमा बजार बन्द हुनुभन्दा आधा घण्टाअघि घटिरहेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूले बोनस घोषणा गरिहेको, ब्याजदर घटिरहेको, चाडपर्वका बेला विदेशमा भएका व्यक्तिले रेमिट्यान्स पठाउँदा बैंकमा पैसा थुप्रिने भएकाले बजार बढ्ने संभावना छ ।