विराटनगरमा भदौ २७ गते बिहीबारबाट कृषि एक्स्पो आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजानमा विशद्ध कृषिसँग सम्बन्धित औजार, कृषि उत्पादन, मल, बिउ, पशुजन्य उत्पादन आदिको सहभागिता रहने गरी एक्स्पो आयोजना गरेको हो । औद्योगिक मेला र प्रदर्शनी गरेर लाखौं आम्दानी गर्ने अन्य कार्यक्रम भन्दा फरक र राष्ट्रिय महत्व तर सबैबाट हेलामा पर्दै आएको कृषि, किसान र त्यससँग सम्बन्धित रहेर आयोजना गर्न लागिएको एक्स्पोको बारेमा हामीले महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतसँग कुराकानी गरेका छौं ।
उद्योग व्यवसायमा क्रियाशील नेपाल उद्योग वाणिज्य महासंघले कृषि एक्स्पो आयोजना गर्ने तयारी गरिरहेको छ । यो काम गर्न कुन कुराले प्रोत्साहित गर्यो ?
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशको नेतृत्वमा विभिन्न ठाउँमा औद्योगिक महोत्सवहरु आयोजना गर्ने गरिएको छ । कोशी प्रदेशमा कृषिको जुन सम्भावना छ, जिडिपीमा कृषिले जसरी योगदान दिइरहेको छ केन्द्रमा २२ र प्रदेशमा ३३ प्रतिशत कृषिको योगदान छ । त्यसैले हाम्रो प्रदेशमा कृषिको राम्रो सम्भावना छ । त्यसैगरी हाम्रो छिमेकी भारतको बंगाल र बिहारमा पनि कृषिको धेरै राम्रो सम्भावना छ । निर्यातका लागि त्यो ठूलो बजार पनि हो । नेपालमा ४१ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये १० लाख हेक्टर जमिन बाँझो भएको तथ्यांक सार्वजनिक भएको छ । त्यतिधेरै उत्पादनशील जमिन कसरी बाँझो रहने अवस्था किन आयो, खेती गर्ने युवाहरु खेतीमा किन आकर्षित भइरहेका छैनन् ? किन कृषि उत्पादनमा लगानी बढ्न सकेको छैन ? यतिधेरै सम्भावना भएर पनि यो पेशा र व्यवसाय किन हेलामा परिरहेको छ भन्ने विषयमा ध्यानाकर्षण गराउन यो एक्स्पोले योगदान गर्नेछ । आज सही ठाउँमा सही वस्तुको खेती, ठिक ठाउँमा उचित लगानी हुन नसकेको अवस्था र उपयुक्त बिउ तथा मल पाउन नसक्ने र खेतीमा आधुनिक यन्त्र तथा उपकरणहरुको प्रयोग नहुँदा पनि उत्पादन बढाउन नसकिएको अवस्था देखिन्छ । त्यसैले यो एक्स्पो विशुद्ध उत्पादकहरु (किसान तथा कृषि उद्योगीहरु), बजार प्रतिनिधिहरु र उपभोक्ताहरुको सम्मिलन गर्ने र कृषिमा रहेको सम्भावनालाई उजागर गर्न आयोजना गरिएको हो । कृषिमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने सम्भावना देखेर नै हामीले कृषि एक्स्पो आयोजना गर्ने सोच बनाएका हौं ।
एक्स्पोमा कस्ता वस्तु तथा उत्पादनहरु प्रदर्शन गरिन्छ ?
एक्स्पोमा कृषि औजार, बिउबिजन, मलखाद, पशुपंक्षीका दाना, आदि सबैलाई एउटै छानामुनि प्रदर्शनी गरेर किसानलाई र उत्पादक उद्योगी र बजारको खोजीमा रहेका सबैलाई लाभ पु¥याउन खोजिएको छ । उहाँहरु भौतिकरुपमा उपस्थित भएर जानकारी लिनसक्ने वातावरणका लागि एक्स्पो महत्वपूर्ण हुनेछ । हाम्रो उत्पादन भएका जतिपति वस्तुहरु छन् ती एक्स्पोमा प्रदर्शनी गरिने छ । एक्स्पोमा विशुद्ध कृषिसँग सम्बन्धित वस्तुको मात्र प्रदर्शनी हुनेछ अन्य कुनै मनोरञ्जनात्मक तथा कृषिसँग असम्बन्धित वस्तुका स्टल रहने छैनन् ।
एक्स्पोमा उत्पादनहरुको प्रदर्शनी मात्र हुन्छएक्स्पोमा उत्पादनहरुको प्रदर्शनी मात्र हुन्छ कि अरु थप क्रियाकलापहरु पनि आयोजना हुन्छन् ?
एक्स्पोमा पहाडी जिल्लाहरुबाट किसान, व्यवसायीहरु यहाँ आउने छन् । हाम्रा उद्योग वाणिज्य संघहरु र कृषि ज्ञान केन्द्रहरुको समन्वयमा किसान, व्यवसायी, कृषि सहकारी आदिबाट विभिन्न क्षेत्रका व्यक्तिहरु आउनुहुन्छ । विभिन्न क्षेत्रका व्यक्तिहरु आउने भएकोले हामीले उहाँहरुलाई लाभ पुग्ने गरी धेरै क्षेत्रका विज्ञहरुलाई पनि आमन्त्रण गरेका छौं । स्वदेश र विदेशबाट कृषि क्षेत्रका विभिन्न विधामा विज्ञता हासिल गर्नुभएका व्यक्तिहरुले किसान, व्यवसायी र उत्पादकहरुसँग छलफल अन्तरक्रिया गर्नुहुन्छ । टाढाबाट आउने किसान, व्यवसायी र प्रतिनिधिहरुलाई बस्ने खाने व्यवस्था हामीले नै मिलाएका छौं । उडिसा र पश्चिम बंगालबाट तीन जना, विहार सरकारको समन्वयमा चार जना विज्ञ यहाँ आउँदै हुनुहुन्छ । भारत र नेपालका विभिन्न क्षेत्रका विज्ञहरुले प्यानल डिस्कसनमा सहयोग गर्नुहुनेछ । मुख्य कुरा त के छ भने बिहारका कृषि मन्त्री पनि यो एक्स्पोमा सहभागी बन्दै हुनुहुन्छ । बिहारबाट २० वटा स्टल बुक भएको छ जसमा पाँच वटा कृषि औजारको छ भने १५ वटा अन्य क्षेत्रका छन् ।
विहारबाट आउने विज्ञहरु विशेष गरेर लिची, आँप, मकै, मखना आदि उत्पादनका छन् । बिहारमा अहिले मखनाको उत्पादन र टर्नओभर निकै बढेको छ । बिहार हाम्रो तराईको भुगोल उस्तै रहेकोले मखनाको उत्पादन निकै राम्रो हुने देखिएकोले टेक्नोलोजी ट्रान्सफर गर्ने विषयमा पनि यो एक्स्पो निकै महत्वपूर्ण हुनेछ ।यो एक्स्पोमा टेक्नोलोजी आयातकर्ताहरु र स्वदेशी कृषि औजार उत्पादकहरु पनि सहभागी हुनुहुनेछ । त्यसबाट उत्पादक र किसानहरु सबैलाई फाइदा पुग्न सक्छ ।
एक्स्पोमा स्थानीय उत्पादनहरुको सहभागिता कस्तो रहन्छ ?
मुख्यरुपमा बिउबिजन, मलखाद, पशुपंक्षीको दाना, कृषि औजार र धेरैजसो किसानले गर्ने उत्पादनकै स्टलहरु अवलोकनका लागि रहने छन् । व्यवसायीहरुले अलैंची, छुर्पी, चिया, तरकारी, तरकारीको बिउ उत्पादकहरु आदिका स्टलहरु रहनेछन् । बिक्रीकर्ता भन्दा उत्पादकहरु र किसानहरुकै सहभागितालाई जोड दिइएको छ । हामीले ११२ वटा स्टलको तयारी गरेका थियौं तर त्यो भन्दा धेरै माग भयो । बिहारबाट मात्र २० वटा स्टल आउने भएपछि हामीले १३० वटा स्टल निर्माण गरेका छौं ।
प्रदेश राजधानीमा कोशी प्रदेशमा मेची र कोशी करिडोरमा हुने उत्पादन आउने गरेको छ । मेची करिडोरको उत्पादन बिर्तामोडमा संकलन भएर स्वदेशी बजारमा र भारत तर्फ निर्यात हुने गरेको छ । कोशी करिडोरबाट आउने कृषि उत्पादनहरु धरान, इनरुवा र विराटनगरमा संकलन भएर बजारमा जाने गरेको छ । किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने कोशी र मेचीका चोक खरिदकर्ताहरुबीच समन्वय र व्यापार गर्न सक्ने गरी संयन्त्र बनाउने सम्भावनाका बारेमा पनि एक्स्पो अवधिमा अध्ययन गरिनेछ ।
यो हाम्रो लागि पनि नयाँ अनुभव हो । यो अनुभवले आगामी दिनमा गर्ने एक्स्पोमा थप के गर्न सकिन्छ भन्ने शिक्षा हामीले प्राप्त गर्ने छौं । कुन क्षेत्रलाई कसरी समेटेर लैजानु पर्ने रहेछ भन्ने एउटा अध्ययनको विषय पनि हुनेछ यस पटकको एक्स्पो । सबैभन्दा ठूलो कुरा भनेको बिहारबाट आउने स्टल र बिहार सरकारबाट जुन सहयोग भएको छ यो धेरै राम्रो छ । बिहार इण्डष्ट्रिज एशोसिएसनसँग हाम्रो जुन सम्बन्ध भएको छ त्यसलाई निरन्तरता दिँदै आगामी दिनमा बंगाल सरकारसँग पनि सहकार्य गरेर हाम्रो कृषि क्षेत्रको विकासमा सहयोग गर्ने सोचेका छौं ।
हाम्रो कृषि उत्पादन भारतमा निर्यात गर्दा भारतीय पक्षबाट विभिन्न अवरोध हुने गरेको गुनासो बेलाबखत आउने गरेको छ, यो एक्स्पोमा बिहारका कृषि मन्त्री नै आउनु हुने यहाँले जानकारी दिनुभयो । कृषि उत्पादन निर्यातमा देखिएको समस्या समाधान गर्न यसलाई अवसरको रुपमा प्रयोग गर्न सकिदैन ?
यो राम्रो विषय हो । हाम्रो मात्र होइन केही विषयमा उहाँहरुका पनि गुनासो रहेछ । नेपालमा पर्यटनका लागि आउँदा सीमा क्षेत्रमा हुने व्यवहार, घण्टौं उभिनु पर्ने अवस्था र गन्तव्यसम्म पुग्दा व्यहोर्नु पर्ने हैरानी हटाउन उहाँहरुले चासो देखाउनुभएको छ । हामीले कृषि उत्पादन निर्यातमा अवरोध नगरिदिनुस् भन्दा उहाँहरुले सहज पर्यटनको वातावरण बनाइदिनुस् भन्नुभएको छ । कृषिको धेरै राम्रो सम्भावना भएर पनि उत्पादन भएका वस्तुहरु निर्यात हुन नसक्ने, बजार नपाउनुको कारण क्वारेन्टाइनको समस्या हो । हिजो जतिबेला भारतलाई टमाटर आवश्यक भयो क्याविनेटले निर्णय गरेरै नेपालबाट टमाटर निर्यात खुला गरियो । यसको अर्थ हामीले निर्यात गर्ने सम्भावना छ र बजार छ भन्ने नै हो । त्यसको वातावरण बनाउन सरकारले विशेष ध्यान दिनुप¥यो । यो चार दिनको एक्स्पोमा नेपाल र भारतबाट जुन तहको विज्ञहरु आउँदै हुनुहुन्छ त्यसलाई अवसरको रुपमा लिएर समस्या समाधानको उपायहरुको खोजी गर्नुपर्छ । आवश्यक नीतिगत सुधार गर्ने र निर्णय गर्ने काम हाम्रो सरकारले पनि गर्नुपर्छ ।
हाम्रो यो क्षेत्रमा ६२ हजार टन तरकारी उत्पादन गर्ने क्षमता छ । नेपाल सरकारले यो उत्पादन गर्ने र भारतमा बजार खोज्ने तर्फ पहल गर्नुपर्छ । सँगसँगै पूर्वाधारहरु पनि तयार गर्नुपर्छ । क्वारेन्टाइन स्थापना गर्ने, वेयर हाउस निर्माण गर्ने, किसानलाई मल, बिउ बिजनको सहज आपूर्ति व्यवस्था गर्ने र कृषिको व्यवसायिक उत्पादन गर्ने विषयमा सहजीकरण गरिदिने तर्फ सरकारले ध्यान दिनुपर्छ । यो एक्स्पोबाट प्राप्त हुने अनुभव, किसान, व्यवसायी र विज्ञहरुको सुझावबाट प्राप्त हुने निश्कर्षका आधारमा हामी सरकारसँग थप समन्वय गर्नेछौं ।
यो कृषि एक्स्पोलाई प्रदेश सरकारले कसरी लिएको छ ?
प्रदेश सरकारबाट पनि सहयोग भइरहेको छ । मुख्यमन्त्रीले समन्वय गरिरहनुभएको छ । मुख्यमन्त्रीले प्रष्टसँग भन्नुभएको छ कि यो हामीले गर्नुपर्ने काम हो तपाईंहरुले गरिरहनुभएको छ भनेर उहाँले हामीलाई ढाडस दिनुभएको छ । जुन सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर हिडेको छ त्यो मात्र विश्वमा सफल भएको छ । यहाँ पनि सरकारले विगतमा दिइरहेको अनुदान फलदायी नभएपछि बन्द गरिदिएको छ । हाम्रो मनिटरिङ गर्न निकायहरुको अवस्थालाई हेर्दा अनुदान बन्द गर्नु गलत देखिदैन । उत्पादन गर्ने किसान तथा उत्पादकलाई बैंक ब्याज अनुदान दिने नीति प्रदेशले लिएको छ । यो सकारात्मक छ ।
कृषि एक्स्पो आयोजना गरिरहनुभएको छ । किसान वा अरु उपभोक्ताहरुलाई के सन्देश दिनुहुन्छ ?
हामीले जुन कृषि एक्स्पो भदौ २७ गतेदेखि ३० गतेसम्म आयोजना हुँदैछ त्यसमा तपाईंहरु सबैले एक पटक आएर अवलोकन गरिदिन, हाम्रा किसानहरुले उत्पादन गरेका वस्तुहरु हेर्न र आफ्ना सुझावहरु दिनका लागि विशेष अनुरोध गर्दछु ।