माटोको भाँडामा पनि सिमावर्ती बजारकै भर !

विराटनगर । चाडपर्वमा प्रयोग गरिने माटाका भाँडाकुँडामा पनि नेपालीहरु भारतीय उत्पादनमै निर्भर हुनुपरेको पर्ने अवस्था देखिएको छ । कुमाल समुदायले धान्दै आएको माटाका भाँडाकुँडा बनाउने पेशा उनीहरुले छोड्दै गएका कारण ती वस्तुका लागि भारतीय बजारमा निर्भर बन्नु पर्ने अवस्था आएको हो ।

परम्परादेखि गर्दै आएको पुख्र्यौली पेशाबाट कुमाल समुदाय विमुख हुँदा विराटनगरसहित आसपासका नेपाली बजारमा भारतबाट माटाका सामग्रीहरु आयात हुने र बिक्री वितरण गर्ने काम सुरु भएको हो ।

भाँडा बनाउने माटो र मेहनत अनुसारको आम्दानी नहुँदा पेशा धान्दै आएका नेपाली कुमाल समुदाय आफ्नो पुख्र्यौली पेशबाट विखुम भई अन्य पेशा तथा रोजगार गर्न थालेका छन् । यही अभाव पूर्ति गर्न भारततर्फ उत्पादित भाँडाकुडाँ आयात हुन थालेको सुनसरी साहेवगंजका महेन्द्र पण्डितले जानकारी दिए ।

पुस्तौदेखि गर्दै आएको काम आधुनिकताको चपेटाले संकटमा परेपछि कुमालहरु अहिले अन्य पेशमा संलग्न हुन थालेको बताउँछन् । नेपालमा भाँडा नबनेपछि भारतीय सिमावर्ती बजार डुमराहीबाट किनेर विराटनगरमा माटोको भाँडा बेच्ने पंडितले बताए । सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि माटोको भाँडा बनाउने पेशा संकटमा परेको भन्दै नेपाली कुमालले अन्य पेशा रोजेको उनको बुझाइ छ ।

चाड पर्वको बेला माटाको भाँडा बढी प्रयोग हुने भएकोले भारत बिहारका सिमावर्ती गाउँका फारविसगञ्ज, जिमराही, पुलकाहाका कुमाल समुदायले बनाएको भाँडाकुँडा बिहानैदेखि सडक किनारामा बिक्री गर्न राख्ने गरेका छन् ।

लामो समयदेखि विराटनगरको भट्टीमोडमा माटोका भाँडाको पसल संचालन गर्दे आएका रमानन्द साहले आफूले भारतीय कुमालले बनाएका भाँडा बिक्री गरिरहेको जानकारी दिए । ‘व्यापार राम्रो छ । तर नेपाली कुमालले माग अनुसारको माटोका भाँडा बनाउँदैनन्’, उनले भने । भारतको फुलकाहा बजारका चिन्तादेवीले चार्डपर्वको बेला आफूहरु नेपाली बजारमा आएर भाँडा बिक्री गर्ने गरेको सुनाइन् । उनले बिहानदेखि बेलुकासम्म भाँडाको बिक्री राम्रो हुने गरेको बताइन् ।

भारतीय जिमराहीका श्यामदेव पण्डितले विराटनगरका अधिकाशं पसलमा आफूले थोक रुपमा माटाका भाँडा उपलब्ध गराइरहेको बताए ।
नेपाली बजारमा माटोका भाँडा बिक्री गरेर चार जना छोराछोरीको पठनपाठनदेखि घर खर्च सबै त्यसकै आम्दानीबाट चलाइरहेका छन् । माटोका भाँडा प्रायः धार्मिक काम, पूजापाठको काममा प्रयोग हुने गरेको छ ।

मेहनत अनुसारको आम्दानी नहुने भएकाले आफूहरु माटोका भाँडा बनाउन छोडेको विराटनगरका मनोज कम्हारले जानकारी दिए । पछिल्ला दिनमा युवा पुस्ताको आकर्षण कम हुँदा माटोका भाँडा भारतबाट ल्याउनु पर्ने बाध्यता भएको उनको भनाइ छ ।

परम्परादेखि नै माटोबाट बनाइएका विभिन्न भाँडा घरघरमा हिजोआज प्रयोग हुन छाडेपछि पेशा नै संकटमा परेको छ । कुमालको पेशा बजारमा आएका प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा संकटोन्मुख हुँदै लोप नै हुन लागेकोमा बूढापाकामा चिन्ता पनि देखिन्छ ।

आइतबार, २३ भदौ, २०८१, बिहानको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर