विमल लामिछाने
माओवादीसँग हतियार थियो हतियार गुमाइसक्यो । युद्ध गर्ने सेना थिए, सेना विगठन भइसक्यो, लोकतन्त्रका निम्ति लडेको भन्थ्यो, गणतन्त्र नै आइसक्यो । संघीयता, धर्मनिरपेक्षता, समान प्रतिनिधित्व अर्थात समानुपातिकता हाम्रो एजेण्डा हो भन्थ्यो, यी सबैको अभ्यास भइसक्यो । जे जे गर्नु थियो त्यो गरिसक्यो । अब माओवादीलाई किन मान्नु ?
पछिल्लो समय माओवादी आस्था बोकेका जनता र कार्यकर्ताविरुद्ध यी र यस्तै विषयहरु जोडतोडले उठाइने गरेको पाइन्छ । यस्ता प्रश्न उठाएर माओवादीविरुद्ध प्रचारमा मसला बनाएर आधारभूत वर्गका मानिसहरुलाई साँच्चै हो कि, अब माओबादीलाई किन मान्नु ? भन्ने लागेको हुनसक्छ, यो स्वभाविक हो ।
माओवादी विचारधारा अर्थात कम्युनिष्ट राजनीतिक नेतृत्व भनेर जसरी जनयुद्धताका माओवादीहरुलाई चिनिन्थ्यो त्यो अहिले पाउनै सकिन्न । सामान्यतया आम मानिसले बुझेको माओवादी सिद्धान्त भनेको माओवादीहरु क्रान्तिकारी र परिवर्तनकारी शक्ति हुन् । सामाजिक सांस्कृतिक कुरिति आफू पनि गर्दैनन् र गर्नेकाविरुद्ध पनि लड्छन् । जनताको अधिकारको पक्षमा जस्तोसुकै क्षति व्यहोरेर पनि संघर्ष गर्छन् । व्यक्तिगत फाइदालाई नहेरेर सामुहिक जीवनपद्धतिमा विश्वास र अभ्यास गर्छन् । हरेक क्षेत्रबाट पछिपरेका वा पारिएका व्यक्ति तथा समुदायलाई मूलधारमा ल्याउँछन् र माओवादी विचारधारा मान्ने नेतृत्व आफैंबाट माथिका यी क्षेत्रको परिवर्तन सुरुवात गर्छन् ।
त्यति मात्र होइन समग्रतामा माओवादीहरुको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र धार्मिक संस्कार पनि फरक हुन्छ । उनीहरुले पुरानो र रुढिवादी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र धार्मिक संस्कार आफू पनि अंगाल्दैनन् र त्यसको प्रवद्र्धन पनि गर्दैनन् । वास्तवमा भन्ने हो भने जनता अल्मल्लिएको, झुक्किएको ठाउँ यही हो ।
भनिन्छ, राज्यसत्ताभन्दा सांस्कृतिक सत्ता जटिल प्रव्रिmयाबाट मात्र फेरिन्छ । त्यही सांस्कृतिक सत्ता, वैचारिक सत्ता, स्वभाव र आचरणको सत्ता, आर्थिक सम्बन्धको सत्ता नफेरिएरनै जनताले माओवादी नेतृत्वमा भएका परिवर्तनको गहिरो अनुभूति गर्न नसकेका हुन् ।संविधानले तोकेका मौलिक अधिकारसमेत अलपत्र परेको अवस्थामा जनताले प्रत्यक्ष अनुभूति हुनेगरी न त गणतन्त्रकै स्वाद चाख्न पाएका छन् । न त स्वास्थ्य, शिक्षा, जस्ता जीविकाका सवालमा आज पनि पुँजीवाद, दलालीकरण र सामन्तवादकै चङ्गुलबाट निस्केको अनुभूति गर्न पाएका छन् । यसले जनमानसमा निराशा, कुण्ठा, निष्क्रियता, पलायन, मानसिक विभाजन पनि ल्याएको छ । अहिले समाज एक किसिमले विखण्डित र विभाजित मनोविज्ञानमा बाँचिरहेको छ ।
हिजो भूमिगत कालमा सामाजिक स्तरबाट हुने हत्या, हिंसा, बलात्कार, चोरी, डकैती, बोक्सी आरोप र रुढिवादी धार्मिक संस्कारहरु परिवर्तनमा भूमिका खेलेकै हो यो सत्य कसैले चाहेर पनि लुकाउन सक्दैन । यस्ता विकृत काम गर्नेलाई माओवालीले जनकारबाही गर्छ भन्ने जसरी त्रास थियो त्यसकै कारण नै समाज सुध्रिएको थियो । कुनै बेला समाज परिवर्तनको मुख्य योगदान माओवादी जनयुद्धकाल नै थियो, यो खुलेर भन्न सकिन्छ ।
सांस्कृतिक रूपमा नोकरशाह र सामन्त वर्गको अवशेष अझै पनि बाँकी नै छ । राजनीतिमा विदेशी शक्तिको हस्तक्षेप जारी नै छ । स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न बाँकी नै छ । युवा तथा प्रतिभाहरूको विदेश पलायन पनि जारी छ । खेतबारी बाँझिएका बाँझिएई छन्, उत्पादनमा ह्रास आएको छ । आयातमा निर्भर खाद्यान्नको मापन पनि दिनदिनै झन् झन् भयावह बन्दै जान थालेको छ । यो स्थितिलाई माओवादीले एक स्टेप सच्चिएर फेर्नुपर्ने दायित्व किन छ भने देश माओवादीकै एजेन्डामा चलिरहेको छ ।
अहिलेपनि तीन तहको राज्यसत्तामा डुबुल्की मार्नेहरुको सित्तलताको जग जनयुद्ध नै हो । तीनै तहको संघीय संरचनाको राज्यसत्ता माओवादीकै नीति तथा कार्यव्रmममा आधारित भएर चालु रहेको छ, यो घाम झै छर्लङ्ग छ । यो देशमा गणतन्त्र, राष्ट्रियता, संघीयता, धर्म निरपेक्षता, समावेशिता, समानुपातिकता, आरक्षण तथा जनजाति, दलित, महिला, मधेशी, थारू, मुस्लिम, अल्पसंख्यक आदि सबैले शासन सत्ताको नेतृत्व गर्न पाउँने मुक्तिको बाटो जनयुद्धले नै खनिदिएको हो । जातीय विभेदको अन्त्य र सामाजिक न्यायको नीति पनि माओवादीकै एजेन्डा हुन् ।
अझैपनि नेपाली जनता आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको पक्षमा छन्, तर जबसम्म सिद्धान्त अनुसार कुनै पनि पार्टीको नेतृत्व, कार्यकर्ता र सुबेच्छुकको जीवनशैली र व्यवहारमा परिवर्तन आउँदैन, नेतृत्व र आन्तरिक आचरणको नयाँ मापदण्ड बन्दैन तबसम्म सच्चा देशभक्त, क्रान्तिकारी परिवर्तन वा लोकतन्त्रले सार्थकता पाउन पनि सक्दैन । यसलाई सार्थकता दिने जिम्मा माओवादी बाहेक अरुले लिनै सक्दैन । यसका निम्ति माओवादी एकाएक फेरिनु पर्छ । फेरि एकपल्ट रङ्ग र रुपमा होइन, स्वरुपमा बदलिनुपर्छ ।