सम्पादकीय
पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडाँगाउँ टोलमा गत बिहीबार दुई जना बालबालिकाको ज्यान जानेगरी बम बिष्फोट भयो । बम सशस्त्र द्वन्द्वकालकै भएको प्रहरीले जनाएको छ । बम विष्फोटबाट स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको मृत्यु भयो । विष्फोट भएको बम ‘होम मेड सकेट बम’ भएको प्रहरीको निष्कर्ष छ । सो घटनापछि गरिएको सर्च अभियानका क्रममा अर्को बम पनि सोही ठाउँमा फेला परेको थियो । द्वन्द्वकालमा त्यस गाउँमा दुई पक्षका सेनाबीच भिडन्त भएको स्थानीय बताउँछन् । यसअघि पनि पाँचथरमा द्वन्द्वकालीन बम पड्किएको थियो । पाँचथरका गाउँहरुमा जस्तै देशभरका द्वन्द्व प्रभावित क्षेत्रमा अझै बम तथा विष्फोटक पदार्थहरु हुनसक्ने प्रहरी बताउँछ । तर, त्यस्ता बम र विष्फोटक पदार्थहरु खोजी गर्ने र डिस्ट्रोय गर्ने अभियान भने चलेको छैन । जसका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ ।
यस्ता घटनाले द्वन्द्वकालमा प्रयोग गरिएका विस्फोटक पदार्थका सम्भावित जोखिम बाँकी नै छ भन्ने देखिन्छ । यस्तो अवस्था रहुञ्जेल भाषण र कागजमा शान्ति प्रक्रिया टुंगिएको दाबी गर्न सकिने भएपनि यथार्थमा भने कहिल्यै पनि नटुंगिने सत्यलाई सबैले बोध गर्नुपर्छ । सशस्त्र द्वन्द्वका बेला विद्रोही र सरकार पक्षले क्षमताले भ्याएसम्मका घातक हतियारको जोहो र प्रयोग गरेका थिए । त्यसक्रममा द्वन्द्वसँग सम्बन्धित र असम्बन्धित १७ हजारको मृत्यु भएको तथ्य स्थापित छ । कैयौं घाइते भए । २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतासँगै द्वन्द्वको औपचारिक अन्त्य भएकाले अनाहकमा मृत्यु नहुने अपेक्षा गरिएको थियो । तर, अझै दुर्घटना रोकिएको छैन । यसप्रति सरकार, राजनीतिक दल तथा सम्पूर्ण सरोकारवाला गम्भीर हुनुपर्छ ।
यो मामिलामा तत्कालीन विद्रोहीजस्तै राज्यपक्षका सुरक्षाकर्मीको जवाफदेहिता अपेक्षित छ । किनकि यो बीचमा राज्यपक्षबाट बिछ्याइएका हतियार विस्फोटमा सर्वसाधारण घाइते भएका उदाहरण छन् । अनौठो देखिने वस्तु नछुन, नखेलाउन र त्यस्ता वस्तु देखिएमा अभिभावक र सुरक्षाकर्मीलाई खबर गर्नुपर्छ भनेर विद्यालयदेखि घरपरिवारले बालबालिकालाई बारम्बार सम्झाइरहनुपर्छ । डेट एक्स्पाएर भएका विष्फोटक पदार्थको असर झन् खतरनाक हुने सुरक्षा विज्ञहरु बताउँछन् । त्यस्ता वस्तुले क्षति नगर्ने र बढी क्षति गर्नसक्ने दुबै जोखिम रहने उनीहरुको भनाइ छ । त्यसैले पनि त्यसबारे गम्भीर हुनुपर्छ । द्वन्द्वको क्रममा छाडिएका विष्फोटक पदार्थहरुको खोजी गरेर निस्क्रिय गराउने काम राज्यले अगुवाइ गर्नुपर्छ । त्यसमा तत्कालीन विद्रोहीले पनि सहयोग गर्नुपर्छ । आवश्यक जनशक्ति खटाएर, अध्ययन गरेर खोजी गर्दै त्यस्ता पदार्थ निष्क्रिय पार्नुपर्छ । थप क्षति हुन नदिन गम्भीरतापूर्वका काम गर्नुपर्ने खाँचो देखिएको छ । नागरिक तहसम्म यसबारे सचेतना विस्तार गर्ने र क्षति न्युनिकरण गर्नेतर्फ तीन तहकै सरकार र नागरिक समाजसहित आम नागरिकहरुले भूमिका निर्वाह गर्नुपर्छ ।