एसियनको उत्पादन : कोदोको विस्कुट बजारमा

विराटनगर । विराटनगरकोे एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ ।

नेपालमा घरेलु र लघु उद्योगका स्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन भइरहेकोमा एसियनले देशभरि बजारीकरण र निर्यातसमेत गर्ने उद्देश्यले ठुलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन थालेको हो ।

उद्योगले नेपालका कच्चा पदार्थको प्रवद्र्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको बताएको छ । उद्योगका सञ्चालक आशिष जाजूका अनुसार बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो हो ।

बिस्कुटलाई सुगन्धित बनाउन पुर्वी नेपाल इलामको अर्को उत्पादन अलैँचीको धुलो मिसाइएको जाजूले जानकारी दिए । साथै फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ भने सुगन्ध र स्वादमा वृद्धि गर्न दालचिनीको धुलो पनि हालिएको छ । कोदो र दालचिनी मधुमेहको नियन्त्रणका लागि लाभकारी मानिन्छ ।

कोदोको बिस्कुट मधुमेहका बिरामीले सन्तुलित रूपमा प्रयोग गर्नसक्ने, यसले इम्युनिटी वृद्धि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने उद्योगको दावी छ । उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ ।

जाजूले विस्कुटलाई भारत निर्यातका लागि काम सुरु भइसकेको बताए । ‘नेपालमा विक्री गरिने बिस्कुटमा कोदो लेखिएको छ । तर, भारतमा कोदो लेखेर त्यहाँका अधिकांशले बुझ्दैनन्’, उनले भने, ‘त्यसैले त्यहाँ मिलेट र रागी लेखिएको छुट्टै पाकेट बनाएर निर्यात गरिनेछ ।’

भारतीय बजारमा कोदोको बिस्कुटको नमुना पठाएको र त्यहाँबाट अर्डर आएको उद्योगले जनाएको छ । विस्तुक निर्यातका लागि कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्ने कार्य भइरहेको जाजूले बताए । भारतमा दसैँतिहार अगाडि नै बिस्कुट निर्यात गरिसक्ने योजना रहेको उद्योगले जनाएको छ ।

एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको छ । जसमा स्विट बिस्कुट, स्विट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभलगायतका बिस्कुट छन् । एसियनले मुख्यतः भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी राष्ट्रमा बिस्कुटको निर्यात गरिरहेको छ ।

आइतबार, ०९ भदौ, २०८१, बिहानको ११:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर