रथयात्राका क्रममा डिजेमा हुलहुज्ज वर्जित होस्

  पुण्य पि अधिकारी

आजको पाँच दिनपछि विराटनगरमा श्रीकृष्ण रथयात्रा निस्कने छ । रथयात्राको अन्तिम तयारी चलिरहेको छ । भदौ ६ गते रथयात्राका विषयमा आयोजक समितिले पत्रकार सम्मेलन गरी थप जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।दक्षिण एसियामा भारतको जगन्नाथपुरीपछि विराटनगरमा श्रीकृष्णा जन्माष्टमीको भोलिपल्ट निकालिँदै आइएको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो र नेपालकै ठूलो रथयात्रा भनिने गरिएको छ । रथयात्राले विराटनगरको पहिचानलाई हरेक वर्ष विराट बनाउँदै लगेको छ ।

भदौ ११ गते निकालिने रथयात्राका लागि अहिले विभिन्न समिति र उपसमितिहरू बनाएर काम भइरहेको छ । रथयात्रालाई प्रत्येक वर्ष विशेष बनाउन आयोजक समितिले सोही अनुसारको मेहतन गर्दै आएको छ । जसका कारण हरेक वर्ष विराटनगरमा निकालिने रथयात्राका विषयमा राष्ट्रियसहित अन्र्तराष्ट्रिय सञ्चार माध्यममा चर्चा समेत हुने गरेको छ । लाखौँ भक्तजन सहभागी हुने रथयात्राले विराटनगरलाई एकताको सहरका रूपमा समेत परिचित गराउँदै लगेको छ । रथयात्रालाई सबै तह र तप्काबाट सफल बनाउन प्रदेश सरकारले आवश्यक सहयोगसहित यो वर्ष रथयात्रा निकालिने दिन भदौ ११ गतेलाई सार्वजनिक बिदा दिएको छ ।

रथयात्राका लागि आवश्यक तयारी गरिरहेको आयोजक समितिले प्राथमिक उपचारदेखि सुरक्षा संयन्त्रलगायतका विषयमा तयारी गरेको छ । रथयात्राका क्रममा झाँकी प्रदर्शन गर्नेहरूको नाम दर्तादेखि लिएर कस्ता झाँकी प्रर्दशन गर्ने भन्ने विषयमा समेत आवश्यक ज्ञान र निर्देशन दिएको छ । तर, भीडभाँडमा भनेजस्तो दुरूस्त अवस्था नहुने भएकाले यस पटकको रथयात्रामा आयोजक समितिले केही विषयमा अति सम्वेदनशील हुन आवश्यक छ ।

विगतको रथयात्राका क्रममा हुलहुज्ज गर्ने र भीडलाई भड्काउने साथै सोही मौकामा गरगहना, मोवाइल, पर्स चोरी गर्ने वा छोरीचेलीलाई छेडखानी गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लियो । यस पटकको पनि सोही अवस्था नआउँला भन्न सकिन्न । तसर्थ यसपटक प्रहरीले सुरक्षामा मोवाइलगस्ती सँगै झाँकी प्रर्दशन गर्ने समूहहरू सदस्यहरूको विवरण राखी उच्छृखल गतिविधिहरुलाई तत्काल नियन्त्रणमा लिन आवश्यक देखिन्छ ।

रथयात्रा कोशी प्रदेशको राजधानी विराटनगरमा हुने भएकाले भारतीय सीमावर्ती क्षेत्रबाट रथयात्रा हुनभन्दा केही दिनअघि नै भारतीयहरूको प्रवेश हुने भएकाले प्रहरी सबैभन्दा चनाखो हुन आवश्यक छ । रथयात्रामा भक्तजनको बहानामा बंगलादेशबाट विस्थापित भएकाहरू विराटनगर प्रवेश गर्ने उच्च सम्भावना भएकाले सीमाक्षेत्रमा प्रहरी विशेष चनाखो हुन आवश्यक छ ।

अघिल्ला वर्षहरूमा रथयात्राका क्रममा झाँकीका अघिअघि कपडा फुकाएर हुलहुज्ज गर्नेहरूको संख्या अत्यधिक देखिएकाले यस पटक त्यस किसिमका गतिविधि नियन्त्रणका लागि आयोजक समितिले अहिलेबाट नै आवश्यक कार्य गर्न आवश्यक छ । विशेष गरी पञ्जावीहरू गायकहरूले हिन्दू र मुस्लिम धर्मालम्वीबिच तिक्तता बढाउने किमिमले गाएका गीतहरू डिजेमा बजाएर बेसुरले हुलहुज्त गर्ने समूहलाई यस पटक आयोजक समितिले बैलेमा वर्जित गरोस् ।

बिहिबार, ०६ भदौ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर