करेन्ट चाउचाउ विरुद्ध वाइवाईको झुटो प्रचार !

विराटनगर । यशोदा फुड्स प्रा.लि.ले सर्वोच्च अदालतले करेन्ट चाउचाउ लगायत यशोदा फुड्सका अन्य उत्पादन रोक्न र बजारबाट फिर्ता लैजान कुनै आदेश नगरेको स्पष्ट पारेको छ ।

उद्योगले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै यस्तो आदेश नभएको जनाएको हो । विज्ञप्तिमा उद्योगले करेन्ट नामको ट्रेडमार्क र लेबलसमेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरेर प्रमाणपत्र लिएको बताइएको छ ।

उद्योगका सञ्चालक चुन्नु पौडेलले उद्योगले प्रचलित कानुनभित्र रहेर विभिन्न स्वादका चाउचाउ अन्य खाद्यवस्तु उत्पादन गरिरहेको बताएका छन् । सञ्चालक पौडेलले उद्योगले प्रयोग गरिरहेका ट्रेडमार्क, लेबल र डिजाइन उद्योग विभागबाट नियम कानुनका परिधिभित्र रहेर प्राप्त गरेको स्पष्ट पारे ।

पौडेलका अनुसार उद्योगले करेन्ट ब्रान्डका चाउचाउ ५ वटा प्याकेटलाई एकै प्याकमा विक्री गर्न गृहकार्य सुरु गरेपछि सीजी फुड्स उजुरीमा गएको थियो । यसका लागि यशोदा फुड्सले उद्योग विभागमा आवेदन गर्यो । विभागले कुनै ब्रान्डका उत्पादनसित मिल्दोजुल्दो भए ९० दिनभित्र उजुर गर्न सूचना गरेको थियो ।

त्यसपछि सीजी फुड्सले आफ्नो वाइवाइ ब्रान्डसित मिल्ने भन्दै लेबल तथा ब्रान्ड स्वीकृत नगर्न र बजारमा भएका करेन्ट ब्रान्डका चाउचाउको विक्रीमा रोक लगाउन उद्योग विभागमा उजुर हालेको थियो । विभागले दुबै पक्षको बहस सुनेपछि यशोदा फुड्सका पक्षमा निर्णय दियो ।

विभागको निर्णयविरुद्ध सीजी फुड्स उच्च अदालत पाटन गएको थियो । सीजीले अदालतमा यशोदाका करेन्ट ब्रान्डका चाउचाउलाई बजारबाट हटाउनका लागि आदेशको माग गरेको छ । यशोदाले सीजीले पाटन उच्चमा दिएको रिटविरूद्ध सर्वोच्चमा रिट दायर गरेको छ ।

‘सर्वोच्चले यही मुद्दामा आदेश गर्दै यससम्बन्धी मुद्दा अहिले पनि उच्च अदालत पाटनमा विचाराधीन रहेको र मुद्दा किनारा नलागेको बताएको छ’, सञ्चालक पौडेलले भने, ‘सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासबाट मुद्दाको फैसला आएपछि सोही अनुसार गर्न गराउन आदेश भएको छ । यशोदाको उत्पादनको विक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता गर्न सर्वोच्चले भनेको छैन ।’

सोमबार, ०३ भदौ, २०८१, साँझको ०७:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर