वैदेशिक रोजगारीको नाममा मोरङमा डरलाग्दो ठगी धन्दा,एक वर्षमा ५५ करोड रुपैयाँ ठगी

विराटनगर । मोरङमा मिटरब्याजपछि वैदेशिक रोजगारीमा हुने ठगी अर्को ठूलो समस्याका रूपमा रहेको पाइएको छ । रोजगारका लागि विदेश जाने र जानखोज्नेहरु ठगीमा पर्ने क्रम मोरङमा बढ्दै गएको पाइएको हो ।

गएको आर्थिक वर्ष २०८०-८१ मा रोजगारका लागि विदेश जाने नाममा मोरङका २१६ जना ठगीमा परेका छन् । ती २१६ जना युवाहरुबाट ५५ करोड रुपैयाँभन्दा बढि रकम ठगी भएको उजुरी जिल्ला प्रशासन कार्यालय मोरङमा परेको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र विराटनगरका परामर्शकर्ता सरोजकुमार खनालले ५५ करोड रुपैयाँ भन्दा बढि रकम ठगी भएको उजुरी आएको जानकारी दिए । मोरङबाट वैदेशिक रोजगारमा जान चाहेका २७ जना महिला र १८९ जना पुरुष ठगीमा परेको उनले बताए । उनका अनुसार प्रत्येक वर्ष यसरी ठगीमा पर्नेहरुको संख्या बढ्दै गएको छ ।

आप्रवासी स्रोत केन्द्र विराटनगरमा ठगीमा परेको भन्दै उजुरी गरेका ११९ जनाले भने लगानी गरेको रकम फिर्ता पाएका छन् । त्यसरी रकम फिर्ता पाउनेमा २४ जना महिला र ९५ जना पुरुष छन् । उनीहरुलाई सम्बन्धित एजेन्ट, तथा म्यानपावर कम्पनीले रकम फिर्ता गरिदिएका हुन् । उनीहरुले ६ करोड ३५ लाख १४७ रुपैयाँ फिर्ता गरेको खनालले जानकारी दिए ।

स्रोत केन्द्रमा परेका उजुरीका आधारमा मालदिभ्स जान खोज्नेहरु सबैभन्दा धेरै ठगिएका छन् । त्यसपछि मलेसिया, साउदी अरविया, दुबई, युएई, माल्टा, रोमानिया, क्रोएसिया, जापानलगायतका मुलुकमा पठाइदिने नाममा व्यक्ति र मेनपावरहरुबाट सर्वसाधारणहरु ठगीमा परेका छन् । यस्तै क्यानडा जान खोज्नेहरु पनि ठगीमा परेको भन्दै उजुरी आएको खनालले जानकारी दिए । गतवर्ष क्यानडा जानखोज्ने दुई जनाले ठगीमा परेको उजुरी दिएका थिए । ती दुई जनाबाट ३० लाख रुपैयाँ भन्दाबढि रकम ठगी भएको उजुरीमा उल्लेख छ ।

एकै व्यक्तिबाट धेरै जना ठगिएको आप्रवासी स्रोत केन्द्र विराटनगरकी परामर्शकर्ता मुना कोइरालाले बताइन् । ‘साउदी पठाउने भनेर एकै जनाले १२ जनालाई ठगी गरेको उजुरी परेको छ,’ आप्रवासी स्रोत केन्द्र विराटनगरकी परामर्शकर्ता कोइरालाले भनिन् ‘ती व्यक्तिले वैदेशिक रोजगारीमा पठाउने भनेर ९ लाख रुपैयाँ लिएर ठगी गरेका रहेछन् ।’

साउदीलगायत खाडी मुलुकमा भने सम्झौता अनुसारको काम र दाम नदिने गरेको उजुरी रहेको परामर्श केन्द्रले जनाएको छ । महिलाहरूलाई भिजिट भिसाका नाममा ठगी गर्ने प्रवृत्ति बढि देखिएको केन्द्रले जनाएको छ । महिलालाई घरेलु कामदार बनाएर लैजान नेपाल सरकारले नै रोक लगाएको छ । दुबईसम्म भिजिट भिसाका लागि लैजाने र त्यसपछि कुवेतमा लगेर घरेलु कामदारका रूपमा काम गर्न बाध्य बनाउने क्रमपनि बढिरहेको केन्द्रका स्रोत व्यक्ति सरोजकुमार खनालले बताए । ‘त्यसरी समस्या पर्ने चार जनाले उद्धारका लागि निवेदन दिएको र उहाँहरुको उद्धारको प्रयास भइरहेको छ,’ खनालले भने ।

‘क्यानडा पठाउन भनेर बिचौलियाले सुरुमा ५० हजार लिएर सबै नक्कली कागज बनाएछन् । पछि कागजात देखाएर भिसा आयो भनेर दुई जनाबाट थप १५ लाख रुपैयाँ असुलेपछि उनीहरु फरार भएछन्,’ खनालले भने ।गाउँका चिनजानकै व्यक्तिले सर्वसाधारणलाई ठगी गरेका धेरै घटनाहरु पाइएको आप्रवासन केन्द्रका कर्मचारीहरू बताउँछन् । आफूले ठगी गरेको प्रमाण नदेखियोस् भनेर चिनेका एजेन्टले अर्कै एजेन्टको नाममा पैसा पठाउन लगाएर ठगी गर्ने प्रवृत्ति पनि देखिएको कर्मचारीहरूले जानकारी दिए ।

‘हाम्रोमा परेका उजुरी हेर्दा र छलफल गर्दा धेरै म्यानपावर कम्पनीहरुकै बदमासी देखिन्छ । विदेश जानेहरू पनि चिनजानकै व्यक्तिबाट जानका लागि गाउँकै एजेन्टको सहयोग लिने र ती एजेन्टले ठगी गर्ने उद्देश्यले नै अर्को एजेन्टको सम्पर्कमा पठाइदिने, उसैमार्फत रकम कारोबार गर्ने आदि काम गर्ने गरेको पाइन्छ । ठगी गर्ने उद्देश्यले अर्कै एजेन्टका नाममा पैसा पठाउन लगाउने, बंैकबाट कारोबार नगरी नगदबाट गर्ने जस्ता प्रवृत्ति देखिएको र त्यसबाट सर्वसाधारणहरु सजिलै ठगीमा पर्ने गरेको देखिन्छ, यस्तोमा ठगीमा पर्नेहरूसँग आवश्यक प्रमाण नहुने समस्या देखिएको छन्’ खनालले भने ।

वैदेशिक रोजगारीमा जानेहरूलाई बैंक तथा वित्तीय संस्थाबाट कारोबार गर्नसमेत आप्रवासन केन्द्रले आग्रह गरेको छ । एजेन्टहरूसँग बोलेका कुराहरू रेकर्ड गरेर सुरक्षित राख्न पनि केन्द्रले सचेत गराउने गरेको छ । वैदेशिक रोजगारीमा जानेहरूका लागि आप्रवासी स्रोत केन्द्र र स्रोत उपकेन्द्रले कानुनी सहायता उपलब्ध गराउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालयमा स्रोत केन्द्र र इलाका प्रशासन कार्यालयमा उपकेन्द्र रहेका छन् । आप्रवासी स्रोत केन्द्रका कर्मचारीहरुका अनुसार खाडी मुलुकमा जाँदा थोरै रकम ठगी हुने तर अस्टे«ेलिया, जापान, क्यानडा आदि देशमा जान खोज्नेहरुबाट धेरै रकम ठगीमा पर्ने गरेको पाइएको छ ।

यता जिल्ला प्रशासन कार्यालय मोरङले ठगी नियन्त्रण गर्न राहदानी बनाउँदा नै सम्झाउने गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । ‘अन्य जिल्लाको तुलनामा ठगीको घटना मोरङमा धेरै बढेको पाएको छु,’ प्रजिअ भट्टराईले भने ‘सचेतना कार्यक्रम लिएर गाउँ गाउँमा जानुपर्छ । यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन ।’ उनले स्थानीय तह र वैदेशिक रोजगार विभागले यसमा विशेष ध्यान दिनु पर्ने बताए । वैदेशिक रोजगार विकास बोर्डले यसमा ध्यान दिनुपर्ने हुन्छ ।

बुधबार, ३० साउन, २०८१, बिहानको ०८:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर