जोखिममा सार्वजनिक यातायातका यात्रु

 सम्पादकीय

नेपालको सडक यातायात सेवा जोखिमपूर्ण र यात्रुमैत्री नभएको विषय पटक–पटक उठ्दै आएको छ । क्षमताभन्दा धेरै यात्रुहरु चढाउने सार्वजनिक सवारी साधनलाई कारवाही गर्नुको साटो अनदेखा गर्दा सर्वसाधारण नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । जुन दुर्घटनाको कारण पनि बनिरहेको स्पष्ट छ । विराटनगरवाट चल्ने साना तथा मझौला सवारी साधनमा क्षमताभन्दा बढि यात्रु कोचेर राख्ने सवारी साधन सडकमा निर्वाध गुड्ने गरेका छन् । तर, ट्राफिक प्रहरीले खासै कारबाही गर्दैन । जसले गर्दा यात्रुहरुले एकातिर सास्ती खेप्न परिरहेको छ भने अर्कातिर जोखिम छ । कतिपय सवारी साधनले क्षमताभन्दा दुई गुणा बढी यात्रु चढाउने गरिएको छ । गाडीमा सिट नभएपनि बाटोमा यात्रुलाई झुक्याएर चढाउने गरिन्छ । क्षमताभन्दा धेरै यात्रु कोचाकोच गरेर चढाउने गरेको एकातिर यात्रुले सास्ती र सकस भोग्नु परेको छ भने अर्कोतिर ती सवारी साधन दुर्घटनाको जोखिम बढ्ने गरेको छ ।

ट्राफिक भएको ठाउँमा ढोका बन्द गर्ने नभएको ठाउँमा फेरि यात्रु कोच्ने प्रबृत्ति रहेको छ । अर्कोतिर पुराना सवारी साधनको उचित परीक्षणविनै सञ्चालनमा रहेका छन् । कतिपय त २० वर्षभन्दा पुराना सवारी साधन पनि निर्वाध सञ्चालनमा छन् । जसले दुर्घटनाको जोखिम र संभावनालाई बढाइरहेको छ । विराटनगरबाट ग्रामीण सडकमा गुड्ने बसहरुमा पनि यस्तै मनपरी देखिन्छ । सडकमा ट्राफिक जाँच र सवारी अनुगमन फितलो हुँदा यात्रा सुरक्षित बन्न सकेको छैन । सवारी साधनमा क्षमताभन्दा बढी यात्रु र सामान लोड गर्दा यात्रुहरु पनि समस्यामा रहेपनि उनीहरुसँगै विकल्प हुन्न । जिल्ला स्थित ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायलाई प्रलोभनमा परेर क्षमताभन्दा बढी यात्रु बोकेर सवारी साधन सञ्चालनमा रहने गरेको आरोप पनि लाग्ने गरेको छ । ट्राफिक नियम पालना नगर्ने सवारी साधन र चालकमाथि कार्वाही नहुँदा यो आरोप असत्य हैन भनेर विश्वास गर्ने आधार देखिएको छैन । यसप्रति जिम्मेवार निकायको ध्यान जान जरुरी छ ।

कहिलेकाहिँ चेकजाँच गरेर जरिवाना असुल गर्नु मात्र नियमाक निकायको जिम्मेवारी हैन । त्यस्तो जरिवानाले जोखिमलाई पनि कम गर्ने हैन । तसर्थ सवारी साधन र चालकलाई जिम्मेवार बनाउने ट्राफिक प्रहरीले इमान्दारीसाथ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्ड अनुसार यात्रु राखे नराखेको हेर्ने र जरिवाना गर्ने तथा थप कारवाहीका लागि सिफारिस गर्ने जिम्मेवारी ट्राफिक प्रहरीकै हो । तर, त्यो काम प्रभाबकारी नभएकै कारण यात्रुबहाक सवारी साधनहरुको ‘मनपरी’ फस्टाएको हो । नागरिकलाई सहज रुपमा यात्रा गर्ने व्यवस्था मिलाउने र सडक सुशासन कायम गर्ने जिम्मेवारी पुरा गर्न सरकारी निकायहरु गम्भीर हुनुपर्छ । गलत गर्नेमाथि कार्वाहीको दायरा फराकिलो बनाउनुपर्छ । नागरिकले यात्रामा असुरक्षित महशुस गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।

बुधबार, ३० साउन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर