अनन्तराज न्यौपाने
जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिचको त्रिपक्षीय झगडा सामसुम भएको छ । दुई हप्ताअघि यो झगडा क्लाइमेक्समा थियो । अहिले युद्धविराम भएको छ । हिन्दीमा ‘चोर–चोर मौसेरा भाइ’ भन्ने उखान छ । अर्थात् चोरहरू जहाँका र जस्ता भए पनि सानीमा–ठुलीआमाका छोरा मिलेजस्तै मिलिहाल्छन् । सिडियो, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरू पनि अहिले मौसेरा भाइजस्तै भएर ट्याप्प मिलेका छन् ।
खासमा गलतीको सुरुआत मोरङ प्रहरीका एसपी नवराज कार्कीले नै गरेका थिए । जिल्ला प्रहरीको प्रमुख भएर आउनेबित्तिकै कार्यालयको कर्मकाण्डलाई पालन गर्दै उनले स्थानीय पत्रकारसित परिचय कार्यक्रम राखे । त्यस कार्यक्रममा उनी केही भावुक मुद्रामा प्रस्तुत भए ।भावुक शैलीमा कार्कीले भने, ‘अब कार्यालयले घुमुवा राख्तैन । भएका घुमुवा सरुवा हुन्छन् । अनि नयाँ कोही आउँदैनन् ।’
उनले घोषणा गरेको हप्ता दिन नपुग्दै जिल्ला घुमुवाविहीन भयो । तर यसको अप्ठ्यारो उनै एसपी कार्कीलाई प¥यो । किनकि तस्करसित माल उठाएर ल्याएर दिने घुमुवा नै हुन्थे । घुमुवा हटाएपछि सायद उनलाई आर्थिक संकट नै प¥यो होला । साबिकका घुमुवा हटाएको एक महिना नपुग्दै उनले नयाँ घुमुवाको नियुक्ति गरे । आफ्नै वचनलाई डस्टबिनमा हाले ।
घुमुवामा यो सीमाको राज्य मेरै हो, यहाँ हामीबाहेक कोही आउन पाउँदैन भन्ने भावनाले जरो गाडेको हुँदो रहेछ । त्यसैले हटाइएका कटुवाल लगायतका घुमुवाले नयाँ घुमुवासहित एसपी नवराजका विरूद्ध बेनामे उजुरी दिए । यस्तो उजुरी प्रहरी प्रधान कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रदेखि अख्तियारसम्म पुग्यो । उजुरी दिलाउनेमा निवर्तमान एसपी दीपक पोखरेलको मुख्य हात थियो । किनकि उनको र हटाइएका घुमुवाको न्यानो घनिष्ठता थियो । उनी जिल्लामा नयाँ घुमुवा घुमेको हेर्न चाहँदैनथे ।
यो उजुरीपछि प्रहरी प्रधान कार्यालयबाट छानबिन टोली आइपुग्यो । टोलीले छानबिन गर्न थालेपछि लहरो तान्दा पहरो गर्जने डर भयो । त्यसैले केस मिलाउन डिआइजी चन्द्रकुबेर खापुङ आफैँ अघि सरे । छानबिन टोलीलाई पनि के चाहियो र ? जो हात सो साथ भइहाल्यो । बाटाखर्च राम्रै मिल्यो । सबैलाई क्लिन चिट दिएर टोली काठमाडौँ फर्कियो ।
डिआइजी खापुङ भविष्यमा आइजीका निर्विरोध उम्मेदवार हुन् । उनी आइजी बन्ने बेलामा उनीमात्र प्रतिस्पर्धी हुनेछन् । अरू सबैले अवकाश पाइसक्ने छन् । प्रहरी वृत्तमा उनी बौद्धिक र इन्टिग्रिटी भएका अधिकृतमध्ये पर्दछन् । तर विडम्बना, घुमुवाको केसमा उनी पनि बेदाग रहन सकेनन् ।
यता एसपी कार्कीले क्लिन चिट त पाए । तर आफूविरूद्ध उजुर हाल्ने को हो ? यस चिन्ताले उनी छटपटिन थाले । यसपछि उनको शङ्काको तीर राष्ट्रिय अनुसन्धानका एसपी तिलक प्रसाईंतिर सोझियो । अनि उनले प्रसाईंविरूद्ध बेनामे उजुरीको वर्षा गराए । आश्चर्ययुक्त संयोग कस्तो थियो भने प्रहरीका एसपी विरूद्धको उजुरीको भाषा जेजस्तो थियो, अनसन्धानका एसपी विरूद्धको उजुरीमा सेम टु सेम त्यही थियो । कमा, फुलिस्टप फरक थिएन । मान्छेको नाम मात्र फरक थियो, जिल्ला प्रहरी प्रमुख कार्कीको नाउँका ठाउँमा अनुसन्धानका प्रमुख तिलकको नाम थियो । प्रहरी एसपीले यति मात्र गरेनन्, काठमाडौँका क्राइम रिपोर्टर परिचालन गरेर उजुरीको समाचार पनि छ्याप्छ्याप्ती छपाए ।
यसपछि भने जिल्ला प्रहरी–प्रशासनमा ठुलो हडकम्प मच्चियो । अनुसन्धान एसपी पनि कम पावरफुल होइनन् । कांग्रेस नेता डा. शेखर कोइरालासित उनको नाताको नभए पनि पारिवारिक सम्बन्ध रहिआएको छ र गृहमन्त्रीमा कांग्रेसकै रमेश लेखक छन् ।
यो देखेर डिआइजी खापुङ र सिडिओ प्रेमप्रसाद भट्टराई विवाद मिलाउन आफैँ अघि सरे । लगातार बैठकहरू भए । अनुसन्धानका एसपी प्रसाईंले प्रहरी र सशस्त्र प्रहरीसामु अकाट्य तर्क प्रस्तुत गरे ।उनका प्रश्न थिए, ‘तिमीहरू तस्करसित नमिली म एक्लै कसरी मिल्नसक्छु ? म एक्लैले महिनावारी कसरी उठाउन सक्छु ? मेरो जनशक्ति भनेको जम्मा ३०–३५ जना हुन्, भन तिमीहरूका कति हुन् ? मोरङ जिल्लाको यति लामो नाकामा मेरा कर्मचारी छन् कि तिम्रा अधिकृत र जबान तैनाथ छन् ? के बजार अवैध आयातका सामग्रीले भरिएको छैन ? भन, म यी सबै कुरा लिएर गृहमन्त्रीकहाँ जाऊँ ?’
अनुसन्धान एसपी तिलकका धम्कीपूर्ण प्रश्न सुनेर सिडिओ, प्रहरी, सशस्त्र प्रहरी सबै निलोकालो भए । यो विवाद जसरी भए पनि मिलाऊँ भन्न थाले र अन्ततः उनीहरू मौसेरा भाइ भए । डिआइजी खापुङझैँ प्रहरी एसपी कार्की पनि आफ्नो सङ्गठनभित्र सज्जन, बौद्धिक र इमानदार छविका मानिन्छन् । तर जिल्ला आएपछि उनको छवि धूमिल भएको छ । भविष्यमा राम्रो सम्भावना भएका र मौका परे आइजी नै हुनसक्ने अधिकृत विवादमा परेका छन् ।
मूलतः प्रहरी–प्रशासन र राष्ट्रिय अनुसन्धानको दायित्व भनेको आफ्नो कार्यक्षेत्रमा न्याय र सुशासन दिने, तस्करीजस्ता अवैध कार्यको नियन्त्रण गर्ने, अपराध हुन नदिने लगायत हो । तर दुर्भाग्य, राज्यका निकायका रूपमा बसेका उनीहरू नै तस्करसित नियमित महिनाबारी उठाउँछन् र तस्करीको धन सांसद्, नेतादेखि माथिल्ला हाकिमसम्मलाई पठाउँछन् । अनि पत्रकारसितको अन्तर्वार्तामा होस् वा सार्वजनिक कार्यक्रममा भाषण गर्दा होस्, उनीहरू नै न्याय, सुशासन र तस्करी नियन्त्रणका ठुलाठुला राग अलाप्दछन् । लज्जा शरणम् भन्नुबाहेक अरू शब्द अब छैनन् ।