गोकुल पराजुली
स्थायित्वको खोजी गर्दै सरकार बदल्ने राजनीतिक अभ्याससँग नेपाली जनता अभ्यस्त भइसकेका छन् । यस कार्यमा हाम्रा राजनीतिक दलहरु निपूर्ण बने । एउटा कुरा निश्चित के हो भने मुलुकमा दलीय सरकारको अभाव भने अब यिनीहरुले कहिल्यै अनुभूत गर्न दिने छैनन् । यति विश्वास गर्दा कुनै पाप लाग्दैन । हाम्रा पुराना तथा नयाँ दलहरुको मुख्य विशेषताले हामी सहजै त्यसप्रति विश्वस्त हुन सक्छौं ।
किनभने हामी निर्दलीयताविरुद्ध लडेर आएको, निरंकुशताविरुद्ध संघर्ष गरेको भएर पनि होला जुनसुकै दलसँग मिलेर चुड्कीमै सरकार बनाउने र जनतालाई बहुदलीय प्रजातन्त्रको अनुभूति गराउने विलक्ष्यण क्षमता हाम्रो लोकतन्त्रले विकसित गरिसक्यो ।
बहुदलीय प्रजातन्त्रको विशेषताहरुमध्ये आवधिक निर्वाचन एउटा हो । एउटा निर्वाचनपछि अर्को निर्वाचन पाँच वर्षमा हुन्छ । भवितब्य नपरेको खण्डमा अब मध्यावधि निर्वाचन गर्ने र बिच अवधिमै निर्वाचनको सकस झेल्नु पर्ने दिन करिब सकियो । २०७८ सालमा वर्तमान प्रधानमन्त्री केपि ओलीले दुई दुई पटक विघटन गरेको संसद पुनस्र्थापना गरेर अदालतले संसदको स्थायित्व करिब सुनिश्चित गरिदिएकै छ । अब रह्यो सरकारको स्थायित्वको कुरा । यो त संसदको संख्याले निर्धारण गर्ने विषय हो । संख्या पुग्दा सरकार बन्छ नपुग्दा ढल्छ । केही दिनअघि प्रचण्ड नेतृत्वको सरकारलाई चाहिने संख्या नपुग्दा ढल्यो, पुगेपछि केपि ओलि प्रधानमन्त्री बने । यो सामान्य कुरा भयो । तर यसरी सरकार बनाउँदा र भत्काउँदा राजनीतिक स्थायित्वका लागि, स्थिर सरकारका लागि भन्ने गरेको सुनिन्छ । यो के भनेको होला खासै बुझ्न सकिएको छैन ।
ल ठिक छ, अघिल्लो सरकार स्थिर बन्न सकेन नयाँ बनाउनु स्वभाविक हो । त्यो त स्थिर र बाँकी अवधिका लागि हुनुपर्ने हो नि । संघमा धेरै दुःख गरेर केपि ओली प्रधानमन्त्री बन्नु भो अब सरकारको बाँकी अवधि उहाँले नै चलाउँदा त्यो नारा सार्थक हुन्छ । यो देश र जनताका लागि पनि फाइदाजनक हुन्छ । तर के गर्नु जन्मिदै अन्त्यष्टिको मितिपत्रमा हस्ताक्षर गरिसक्नु भएको छ । केबल प्रधानमन्त्री पदका लागि । अब दुई वर्ष प्रधानमन्त्री चलाउने पालो उहाँको । त्यसपछिको पालो काँग्रेस सभापति शेरबहादुर देउवाको ।
एउटा अवधिमा कम्तिमा पनि तीन थान प्रधानमन्त्री बन्ने हो भने सरकारको स्थिरता कसरी भयो ? अझ भनौं, प्रचण्डलाई हटाएर ओली बन्दा अनि ओलीले छोडेर देउवा बन्दा स्थिरता कसरी भयो ? होइन भने प्रचण्डले कहिले ओलीसँग कहिले देउवासँग मिलेर मन्त्रीहरुमात्र फेरबदल गरिरहँदा अस्थिरता कसरी भयो ? प्रधानमन्त्री नफेरिँदा अस्थिर र फेरिदा स्थिर मिल्ला कि नमिल्ला ? एउटा कुरो नि नबुझेको !
हुन त प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा एउटा प्रसङ्गमा भन्नुभएको थियो ‘कुराले रोटी सेक्न पाइन्छ, सकिन्छ, राजनीतिमा यस्तो हुन्छ’ भनेर । कुरैले सेक्ने रोटी न हो किन पछि हट्नु ? त्यसैले हामीले प्रधानमन्त्री फेरिएपछि स्थायित्व आउँछ भनेर विश्वास ग¥यौं । त्यसो भए दुई वर्षमा प्रधानमन्त्री छोड्ने कुरा पालना नगरिदिनु होला किन भने कांग्रेस पनि स्थिर सरकार बनाउन सहमत भइसकेको छ ।
अब आफ्नै प्रदेशको कुरा गरौं । यहाँ पनि स्थिर सरकारकार चाहिएको छ । चुनावपछिको २० महिनामा छैटौं मुख्यमन्त्रीको रुपमा हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारको नेतृत्व गरिरहनुभएको छ । यहिबेलामा फेरि सरकारमा दोस्रो ठूलो पार्टीलाई सहभागी गराउनु पर्ने अवस्था बनेको छ । तर त्यसभन्दा अगाडि नै फेरि मुख्यमन्त्री आलोपालो गर्ने कुरा सतहमा छ । एकातिर कोशी प्रदेशले अस्थिरताको रेकर्ड नै बनाइसक्यो । यो २० महिनामा न त संघ न त अरु कुनै प्रदेशले ६ वटा सरकार बनाउने क्षमता देखाए । यति क्षमता देखाइसकेपछि र यसलाई अरुले चुनौति दिएर रेकर्ड तोड्ने सम्भावना नभएपछि किन सातौं सरकार बनाउने सोच्नु परेको होला ? वर्तमान मुख्यमन्त्रीले सातौं मुख्यमन्त्री बनाउनु पर्ने अर्थात आफ्नो सरकारको आयु आफैं तोकेर कर्मचारीहरुलाई सरकार विदा हुने दिन औंला भाँची भाँची गनेर बस्ने अवसर दिनुहोला भन्ने लाग्दैन । तर नेपालका दल र नेताहरु अनुदार प्रवृत्तिकाविरुद्ध लडेर आएका हुन्, शायद उदार भैजालान् ।
जे होस् वैज्ञानिक खोज अन्वेषणहरु खासै नभए पनि राजनीतिक खोज, अनुसन्धान, अन्वेषणहरु नेपालमा प्रसस्तै भइरहेका छन् । वर्षैपिछे सरकार बनाउँदा पनि स्थिरताको परिभाषाभित्र समेट्ने खुबी हाम्रा नेताहरुसँग छ । हरेक तीन महिनामा विश्वासको मत लिइरहने, पाइरहने मन्त्रीहरु फुटबल बनिरहन गर्दा पनि स्थिरताको जलपले छपक्कै छोपेकै हो । त्यसैले कोशीमा पनि बाँकी ४० महिनाको अवधिमा नवौं मुख्यमन्त्री बनेको खबर सुन्नु परेमा पनि हामीले आश्चर्य मान्न हुँदैन । हामीले यो बहुदलीय लोकतन्त्रको अनुपम उपहार र सुन्दरता हो भनेर गर्व गरिरहनु पर्छ ।