धनकुटा । सुनसरीको सिमानामा पर्ने भेटारमा निर्माण भएको स्काईवाक शुक्रबार उद्घाटन हुने भएको छ । भेडेटारको चाल्र्स पोइन्टमा निर्माण भएको स्काईवाकको कोशी प्रदेशका मुख्यमन्त्री हिक्तमकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगरले उद्घाटन गर्ने कार्यक्रम छ ।
चार वर्षअघि स्काईवाक निर्माण गर्न थालिएको थियो । तत्कालिन मुख्यमन्त्री शेरधन राईको पालामा सम्झौता भई स्काई वाक निर्माण शुरु भएको थियो ।
स्काईवाक करिब २० करोड लगानीमा निर्माण भएको हो । प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काई वाक निर्माण गरेको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिए ।
यसैबीच भेडेटारमा पर्यटक सहायता पोष्ट पनि स्थापना भएको छ । घुम्न आउने पर्यटकहरुलाई सुरक्षाको पुर्णरुपमा अनुभूति दिलाउने उद्देश्यले नेपाल प्रहरीको पर्यटक सहायता पोष्ट स्थापना भएको हो ।
तीन जनाको दरबन्दी रहेको उक्त पर्यटक सहायता पोष्टको बुधबार साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले उद्घाटन गरेका थिए । नेपाल प्रहरीले भेडेटामार ३ जना पर्यटक प्रहरीको दरबन्दी दिएको छ । पर्यटकहरुलाई अफ्ठेरो पर्दा सहयोग गर्ने, सहजीकरण गर्ने र पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिने काम पोष्टले गर्नेछ ।