सम्पादकीय
खुल्ला बोर्डरको कारण सीमा क्षेत्रबाट चोरी तस्करी सामान्य जस्तै बनेको छ । अझ सुरक्षा निकायकै मिलेमतो र संरक्षणमा सीमा क्षेत्रबाट तस्करीको धन्दा चलिरहेको रिपोर्ट बेलाबेला बाहिरिन्छ । सुरक्षा निकायका प्रमुखहरुले तस्करी नियन्त्रण आफ्नो प्राथमिकता रहेको बताउने गरेका छन् । तर, उनीहरुले नै घुमुवा प्रहरी परिचालन गरेर तस्करसँग नजराना असुल गर्ने गरेको तथ्यहरुले बताउँछन् । सायद त्यसकै असर होला, पछिल्लो समयमा तस्करीका सामान बरामद हुने क्रममा कमी आएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा भन्सार चोरी तस्करीबाट प्रहरीले उठाउने राजस्व अघिल्लो वर्षको तुलनामा आधाभन्दा कमी भएको छ । अघिल्लो वर्ष चोरी तस्करीका सामानबाट २६ करोड ९८ लाख ३८ हजार राजश्व असुली गरेको प्रहरीले गत आर्थिक वर्षमा भने १२ करोड ३८ लाख ११ हजार मात्र असुली गरेको छ । सुरक्षा निकायका प्रमुखहरु तस्करी नियन्त्रण भएको र भन्सारबाटै सबै कारोबार भएकोले तस्करीका सामान बरामदी कम हुँदा राजश्व घटेको दावी गर्छन् । तर, उनीहरुको दावी सहि हुने हो भने भन्सारको राजश्वमा बृद्धि हुनुपर्ने हो । तर, विराटनगर भन्सारको राजश्व हरेक वर्ष घटिरहेको छ ।
तस्करीको विषयमा मोरङका सुरक्षा निकायबीच एकअर्काविरुद्ध आरोप प्रत्यारोप र उजुरी हालाहालस्म्म भएको घटनाले संरक्षित रुपमा तस्करी मौलाएको आशंकालाई बल दिएको छ । नेपाल प्रहरी मोरङका प्रमुख एसपी नवराज कार्की र सशस्त्र प्रहरीका एसपी विश्व खड्काले तस्करीको धन्दा चलाएको आरोप एकातिर लागेको छ भने अर्कोतिर राष्ट्रिय अनुसन्धानका एसपी तिलक प्रसाईंले तस्करसँग मिलेमतो गरेर धन्दा चलाएको आरोप छ । संयोग के छ भने दुबै पक्षका विरुद्ध तस्करीलाई संरक्षण गरेको र तस्करबाट मासिक लाखौं रकम लिएको भन्दै प्रधानमन्त्री कार्यालयसहित उपल्लो निकायमा उजुरी पनि परेको छ । यो प्रकरणमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको मौनताले उनीहरुको पनि भूमिकामाथि प्रश्न उठेको छ । गृह मन्त्रालय मातहकत तीन सुरक्षा निकायले मिलेर अपराध र तस्करी नियन्त्रण गर्नुपर्नेमा उनीहरु नै एकअर्कालाई तस्करसँग मिलेको आरोप लगाइरहेका छन् । तस्करसँग को मिलेको हो भन्ने यकिन छानविन हुन सकेको छैन ।
खासगरी प्रहरीको नेतृत्वले घुमुवा प्रहरी परिचालन गरेर तस्करी गर्ने, जुवा तास खेलाउने, क्यासिनो खेलाउनेदेखि होटल सञ्चालकसँग महिनावारी र हप्तावरी असुल्छ भन्ने आरोप पुरानै हो । सुचना संकलन र अपराध नियन्त्रण भन्दा असुली धन्दामा घुमुवाहरुको प्रयोग हुने गरेको घटनाक्रम धेरै छन् । त्यसैले पनि होला मोरङका प्रहरी प्रमुख नवराज कार्कीले जिल्लामा आएपछि आफूले घुमुवा नखटाउने घोषणा गर्दै घुमुवाको रुपमा खटिएका प्रहरीलाई आफ्नो ड्युटीमा जान निर्देशन दिउका थिए । तर, उनै कार्कीले केहि समय नवित्दै घुमुवा परिचालन गर्न थाले । त्यसले उनीमाथि शंका बढाएको छ । एसपी कार्की र उनले परिचालन गरेका घुमुवाले तस्करीको सेटिङ मिलाएको र लाखौं रकम लिने गरेको उजुरी प्रधानमन्त्री कार्यालयस्म्म पुगेको छ । तर, प्रदेश प्रहरी कार्यालयले त्यो प्रकरणलाई गम्भीर अनुसन्धान नै नगरी गुपचुप पारेको छ । उता तस्करसँग मिलेमतो गरेको आरोप राष्ट्रिय अनुसन्धानका प्रमुख तिलक प्रसाईंमाथि पनि लागेको छ । उजुरी परेको छ । उनीमाथि पनि गम्भीर अनुसन्धान भएको छैन ।
तस्करीको सामान गोदाममा थन्क्याएर प्रहरीकै सामुन्ने नेपाल छिराउँदै गरेको सिसिटिी फुटेजसमेतले तस्करी कसरी भइहेको छ भन्ने प्रमाण देखिएको छ । यो प्रकरणमा प्रहरीको उपल्लो निकाय र गृह मन्त्रालयले गम्भीर अनुसन्धान गर्नुपर्छ । तस्करीको ब्यापार गर्नेको नाम र उनीहरुबाट सुरक्षा प्रमुखहरुले लिने रकम नै किटेर परेको उजुरीमाथि गम्भीर अनुसन्धान गर्नुपर्छ । दोषीलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्छ ।