पानीको निकास र नागरिक सहभागिता

 सम्पादकीय

विराटनगरको केशलिया सडक क्षेत्रमा वर्षौंदेखि जमेको फोहोर र जाम भएको नालाको समस्या स्थानीयको सक्रियताबाट खोलिएको छ । वर्षौंसम्म महानगरको नेतृत्व गर्नेहरु र स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुले नदेखेको वा देखेर पनि बेवास्ता गर्दै आएको एउटा समस्या स्थानीय युवाहरुको पहल र सक्रियताले अन्त्य गर्नेतिर उन्मुख भएको छ । यो समाधानको जस स्वतः स्थानीय युवाहरूले नै पाउँछन् र पाउनु पनि पर्छ । सँगसँगै उनीहरुलाई अग्रसर गराउन पहल र प्रयत्न गर्ने, त्यसको अग्रसरतालिने विराटनगर महानगरपालिकाको वातावरण तथा सरसफाई शाखा पनि यो उपलब्धीको हकदार हो । तर पूरै महानगर भने यो कामको जस लिन सक्षम छैन । सँगसँगै यस घटनाले नागरिक सहभागिता र स्थानीय सरकारको समन्वयको महत्व कतिसम्म हुन्छ भन्ने एउटा उदाहरण पनि प्रस्तुत गरेको छ । स्थानीयलाई उत्प्रेरित गर्न अपनाउनु पर्ने शैली र त्यसका लागि योग्य कर्मचारी तथा राजनीतिक नेतृत्वको भूमिका यसबाट सहजै स्पष्ट हुन्छ ।

२५ वर्षदेखि थुनिएको कल्भर्ट र जाम भएको नालाले हरेक वर्षा याममा विराटनगरका विभिन्न क्षेत्रहरूलाई डुबानमा पार्दथ्यो । तर कुनै पनि राजनीतिक नेतृत्वले त्यो समस्या समाधान गर्ने विषयमा सोचेनन् । स्थानीयले कैयौं पटक त्यो गुनासो लिएर गए तर उनीहरुले सुनेनन् । बरु डुबान भएको बेला चाउचाउका कार्टुन बोकेर मरिक बस्तीमा राहत बाँड्न र फोटो खिचाउन उनीहरु पुगे तर बन्द भएको नाला खोल्न, नियमित सरसफाइ गर्न, फोहरको दिगो व्यवस्थापन गर्ने तर्फ महानगरको कहिल्यै ध्यान गएन । तर यसपटक महानगरको सरसफाइ शाखा क्रियाशील भएकै कारण यो समस्या पहिचान भयो र उनीहरुको पहल प्रयत्न र उत्प्रेरणाबाट स्थानीय युवाहरूको साथ मात्र होइन निरन्तर परिश्रम र सहभागिता नै प्राप्त गर्यो । पछिल्लो कार्यबाट यस क्षेत्रमा हुने डुबान नियन्त्रण हुनेमा झिनो भएपनि यहाँका स्थानीयले आशा गरेका छन् । यसले स्थानीय समस्याहरूको समाधानमा नागरिकहरूको सक्रिय सहभागिताको महत्वलाई स्पष्ट पनि पार्दछ ।

यद्यपि, यो समस्या समाधानको पहल स्वागतयोग्य छ, तर यसले केही प्रश्नहरू पनि उठाएको छ । किन महानगरपालिकाले यस्तो गम्भीर समस्यालाई यति लामो समयसम्म बेवास्ता ग¥यो ? के शहरी योजना र व्यवस्थापनमा दीर्घकालीन दृष्टिकोणको अभाव छ ? अब आगामी दिनमा यस्ता समस्याहरूको समयमै पहिचान र समाधान गर्न महानगरपालिकाले ठोस योजना बनाउनु आवश्यक छ । साथै, फोहोर व्यवस्थापन र शहरी सरसफाइमा नागरिकहरूको जागरूकता र सहभागिता बढाउन निरन्तर प्रयास गर्नुपर्छ ।

अन्तमा, यो घटनाले देखाएको छ कि नागरिक र स्थानीय सरकारको सहकार्यले ठूला चुनौतीहरू पनि पार गर्न सकिन्छ । यस्तै सहकार्य र समन्वय अन्य क्षेत्रहरूमा पनि विकसित गर्न सके मात्र हाम्रा सहरहरू वास्तवमै सुन्दर, सफा र स्मार्ट बन्न सक्नेछन् ।

मङ्गलबार, ०८ साउन, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर