विराटनगरमा दिनदहाडै १४ लाख रकम लुटियो

विराटनगर । विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट दिनदहाडै लुटपाट भएको एक व्यवसायीले बताएका छन् । निर्माण व्यवसायी विवेक कर्णको कार्यालयबाट आइतबार दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको उनले बताएका छन् ।

मोटसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखेएको रकम लुटेर फरार भएको कर्णले बताएका छन् । उद्योगहरुमा कामदार पठाउने पाथिभरा म्यानपावर सप्लायर्सबाट रकम लुटपाट भएको उनले बताए ।

‘लेबरको पेमेन्ट दिनको लागि विराटनगरको कन्चनबारीस्थित एभरेष्ट बैंकबाट दिउँसो मेरो ज्वाईं अमरेशकुमार कर्णले १४ लाख ४७ हजार रुपैयाँ लिएर आइपुग्नुभएको थियो’ उनले भने, ‘मोटसाइकलमा आएका दुई जनामध्ये एक जना फोनमा बोल्दै आएर ब्यागमा राखिएको रकम लिएर फरार भए ।’ लुटेरालाई लखेटेको भएपनि मोटरसाइकलमा बसेर लुटेरा आयल निगमतिर भागेको उनको भनाइ छ ।

कर्णले घटनाबारे प्रहरीमा जानकारी गराएको भएपनि अहिलेसम्म प्रहरी नआएको बताए । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने घटनाबारे प्रहरीमा खबर नआएको बताएका छन् । ‘लुटपाट भयो भनेर हामीलाई खबर आएको छैन,’ उनले भने, ‘घटना के रहेछ हामी यस विषयमा बुझनेछौं ।’

आइतबार, ०६ साउन, २०८१, दिउँसोको ०४:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर