विर्तामोड । पूर्वी नाका काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार ११४ र शनिबार १४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको जानकारी दिए । नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी छन् ।
अध्यागमन प्रमुख पनेरुले आन्दोलनका कारण हिंसा बढेपछि उनी पनि नेपालीसँगै आएको बताए । भारतीय अध्यागमन अधिकारीले पनि उनलाई नेपाल जान अनुमति दिएका थिए ।
चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ । जसको कारण सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएको छ भने आन्दोलनको क्रममा दर्जनौंको मृत्यु भइसकको छ ।
ढाकास्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख पनेरुले जानकारी दिए । कुनै कारणवश होस्टेलबाट बाहिरिनुपर्ने भएमा दूतावासमा जानकारी गराउनसमेत भनिएको उनले बताए ।
बङ्गलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किने प्रयासमा छन् । राजधानी ढाकाबाट २० किलोमिटर टाढा इनाम मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेका विद्यार्थी जारी निषेधाज्ञाका कारण स्वदेश फर्किन सकेका छैनन् ।
बङ्गलादेशमा इन्टरनेट सेवा बन्द गरिँदा ‘वाट्स एप’, ‘मेसेन्जर’ लगायत समाजिक सञ्जालका साथै मोबाइल एप्लिकेसनबाट सम्पर्क बन्द छ । पछिल्लो समयमा टेलिफोन सम्पर्कमा समेत नेटवर्कको समस्या देखिने गरेको बताइएको छ ।