फोहोरले जाम भएको कल्भर्ट २५ वर्षपछि ब्रेक थ्रु

स्थानीय युवाको साथले खुल्यो आधा विराटनगरलाई डुबाइरहेको जाम

विराटनगर । उसै त मधेशको गर्मी त्यसमाथि दिउँसो २ बजेको चर्को घाम लाग्दा विराटनगरको सरदर तापक्रम ३८ डिग्री सेल्सियस थियो । सडकमा उभिन नसकिने तापक्रमको पर्वाह नगरी एक हुल युवाहरु फोहोर नालीमा पसेका थिए । नालामा जमेको फोहोर पानी उसै पनि तातिएको थियो । सबैले रबरको बुट लगाएका थिए । केहीका नाङ्गो ढाड घाममा सेक्किएको थियो भने केहीले सेन्डो गन्जी लगाएका थिए । नालामा पसेका कसैको हातमा कोदालो थियो भने कसैले दाँते (फोहोर तान्ने फलामे औजार) बोकेका थिए । नालाको दूगन्धले पाँच मिनेट उभिएर बस्न गाह्रो हुन्थ्यो तर युवाहरु केही दिनदेखि यसरी नै दूषित नालामा पसेर घण्टौं काम गरिरहेका छन् ।

विराटनगर ६ स्थित केशलिया सडकको दुवै तर्फको नाला जाम भएको वर्षौं भयो । त्यो जाम भएको नाला खोल्ने जमर्को कसैले गरेन । नाला जाम हुँदा झण्डै चार किलोमिटर उत्तर बरगाछीदेखि बगेर आउने पानीले निकास पाइरहेको थिएन । ठूलो वर्षा हुँदा पानीको निकास नभएकै कारण विराटनगरको मुनालपथ, भृकुटी चोक, शिवमन्दिर चोकदेखि महेन्द्रचोकसम्मको भाग एकैछिनमा डुबानमा पथ्र्यो । केशलिया सडक नजिकै पोखरीको डिलमा रहेको मरिक बस्ती हरेक वर्ष डुबानको चपेटामा पथ्र्यो । असार तेस्रो साता परेको अविरल वर्षाले पनि विराटनगर नराम्ररी प्रभावित बनेको थियो । त्यतिबेला पनि डुबेको थियो मरिकहरु बस्ती । त्यसको एउटा कारण केशलिया सडकबाट बस्ता खोला र धुधुवा पैनीमा पानीको निकास बन्द भएको थियो । त्यसको पीडा हरेक वर्ष विराटनगरवासी र मरिक बस्तीले झेल्दै आइरहेको थियो । त्यही पीडाबाट मुक्त हुन केही दिनदेखि मरिक बस्तीका केही युवाहरु नाला सफाइ गर्न आफैं अग्रसर भए । उनीहरुलाई विराटनगर महानगरपालिकाको वातावरण तथा सरसफाइ महाशाखाले ढाडस दियो । महाशाखाले आफ्ना केही सफाइ कर्मचारीहरुलाई त्यस काममा खटायो । दुवै पक्ष मिलेर जाम भएको नाला खोल्ने काम जारी छ ।

त्यसै शिलशिलामा केशलिया सडकमा एउटा ठुलो कल्भर्ट छ जुन कल्भर्टबाट उत्तरतर्फबाट बगेर आउने पानी दुई वटा नालामा विभाजित भएर पश्चिमतर्फ हुँदै धुधुवा र बस्ता खोलामा पुग्थ्यो । त्यो कल्र्भट विगत २५ वर्षदेखि थुनिएको थियो । कल्भर्टमा थुप्रिएको फोहोर खन्दै गरेका उज्जवल मरिकले भने ‘मेरो उमेर ३२ वर्ष भयो मैलो थाहा पाएदेखि नै यो कल्भर्टबाट पानीको निकास हुँदैनथ्यो र यो सफा गर्न कसैले पनि चासो देखाएको थिएन ।’ यसपटक महानगरको सफाइ महाशाखाले स्थानीय युवाहरुलाई प्रेरित गरेर परिचालन गरेको भन्दै उनीहरु खुसीसाथ नालामा पसेका थिए । उज्जवल मरिकले भने ‘कति जनप्रतिनिधि आए, शाखामा कति कर्मचारी आए तर अहिलेका सरहरुले हामीलाई बुझाउनु भयो र समस्याको बारेमा धेरै चिन्ता गरेपछि हामी आफैं काम गर्न अगाडि बढ्यौं ।’ उक्त कल्भर्टमुनि थुप्रिएको फोहोर सफा गर्न एक दर्जन युवाहरुलाई चार दिन लागेको थियो । उनले भने ‘यहाँबाट पाँच टिपर फोहोर निकाल्यौं, अब बल्ल पानी पास हुने अवस्था बन्यो । तर यतिले मात्र पानीको निकास हुनेवाला छैन दुवै साइडको नाला साइफन भएको ठाउँसम्म यसैगरी सफा गर्नुपर्छ ।’

विराटनगर महानगरपालिकाले डुबानबाट जोगाउनका लागि योजनावद्ध कार्यक्रम बनाएको छैन । सरसफाइ शाखा आफ्नो बलबुताले क्रियाशील छ । महानगरको राजनीतिक नेतृत्व र उच्च तहको कर्मचारीहरुबाट अपेक्षाकृत सहयोग पाएका छैनन् । तर पनि पछिल्लो समय विराटनगरमा सरसफाइतर्फ निकै सुधार देखिएको छ । केशलिया सडकको नाला सफाइमा स्थानीय युवाहरुको परिचालन त्यसको एउटा उदाहरण भएको स्थानीय व्यवसायी राजेश निरौलाले बताए । उनले भने ‘यो नाला २०५४ सालपछि पहिलो पटक सफा गरियो, नालामा फोहोर भरिएको र कल्भर्ट जाम भएका कारण ठूलो पानी पर्नासाथ यो ठाउँ डुबानमा पथ्र्यो, यस पटक निकै राम्रो काम भयो ।’

ठूलो समस्याको रुपमा रहेको केशलिया सडक खण्डको नाला सफाइमा महानगरपालिकाले एउटा जेसिबी र टिपर उपलब्ध गराएको छ । त्यसबाहेक सफाइका केही कर्मचारीहरु खटाएको छ । त्यसमा महानगरलाई कुनै अतिरिक्त व्ययभार परेको छैन । तर विगतमा यस्तै नाला सफा गर्ने नाममा महानगरले लाखौं खर्च गरेको थियो ।

सरसफाइ शाखाका प्रमुख पुनम दाहालले आधा विराटनगरलाई डुबानमा पारिरहेको केशलियाको नाला सफाइमा स्थानीय युवाहरुबाट प्रशंसनीय काम भएको बताए । स्रोत र साधनको अभावका बिचमा पनि युवाहरुलाई परिचालन गर्न सरसफाइ शाखा सफल भएको भन्दै उनले भने ‘वर्षौंदेखि जाम भइरहेको कल्र्भटको जाम निकै दुःख गरेर खोलिएको छ र अब दुवै तर्फको नालाको अवरोध हटाएर सहज रुपमा पानी जाने बनाउँछौं, यो खुल्नासाथ विराटनगरको मध्यभागमा हुँदै आएको डुबानको धेरै समस्या घट्छ ।’ विगतमा स्थानीयवासी, स्थानीय व्यवसायीले उत्सर्जन गर्ने फोहोरको सहि व्यवस्थापन नगर्ने, महानगरको फोहोर व्यवस्थापन अभियानमा सदस्य बनेर सहयोग नगर्ने गर्दा यसै ठाउँको फोहोर थुप्रिएर नाला जाम भएको थियो । जसले त्यो लगायत अरु बस्तीलाई डुबानमा पार्न पनि सघाएको थियो । स्थानीय युवाहरुको सक्रियताबाट अब भने त्यसो समस्या केही हदसम्म अन्त्य भएको स्थानीयहरुले बताए ।

आइतबार, ०६ साउन, २०८१, दिउँसोको ०३:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर