विराटनगरकी जानकीदेविको हत्या भएको दावी : उच्चको आदेशपछि मुद्दा चलाउने तयारी

महिला मृत्युको घटनामा मुद्दा नै नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णय उच्चद्वारा बदर

विराटनगर । मोरङ विराटनगर–४ इक्राहीका दिलिप मण्डलले सुनसरी छिटाहाकी जानकीदेवी मण्डलसँग आजभन्दा १८ वर्ष अगाडि मागि विवाह गरे । विवाह गरेको दुई वर्षमा जेठो छोरा रुपेश मण्डलको जन्म भयो । अहिले उनी १६ वर्षका भए । उनका भाई ८ वर्षका छन् । तर, आमा जानकी मण्डलको भने दिलिपकै कारण एक महिना अगाडि देह लिला समाप्त भयो ।

दिपिलले आफ्नी प्रेमिका र प्रेमिकाको आमासँग मिलेर जानकीलाई मारेको आफ्न्तहरु दाबी गर्छन् । उनका छोरा रुपेश पनि बुबाले आमालाई बाख्रालाई किला ठोक्ने मुङ्ग्राले हानेर हात भाँचिदिएको र मार्ने प्रयास गरेको बताउँछन् । गत जेठ २९ गते जानकी घरकै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । तर, उनी झुण्डिएको भन्दा ‘झुण्ड्याइएको’ जानकीका छोरा रुपेश र जानकीका माइती पक्षको दाबी छ ।

१० वर्षयता उनीहरुको प्रत्येक दिनजस्तो झैझगडा हुन्थ्यो । मोरङ जिल्ला प्रहरी कार्यालयमा धेरैपटक छलफल पनि भए । मिलापत्र भएर छोडिन्थ्यो । पछि दिलिप मण्डल आफैंले उनकी श्रीमती जानकीसँग डिभोर्सको मुद्दा हालेका थिए । गत जेठको २८ गते मुद्दाको अन्तिम निर्णय आउने आशा थियो । जानकी पनि अदालत गइन् । अदालतमा उनले ‘म छुट्टिएर बस्छु’ भनिन् । अदालतले त्यस दिनको सुनुवाई रोकेर दुई महिना पछिका लागि पेशी तोकिदियो ।

तर, त्यसदिन जब जानकी इक्राही घर पुगिन् । उनीमाथि मारपिट सुरु भयो । ‘म ५ बजेतिर स्कुलबाट घर आएँ । घर आउँदा ममीलाई रोडबाट घिच्याएर घरभित्र लगेर बुबाले कुटपिट गर्नुहुन्थ्यो । त्यसबेला हामी तीन जना मात्रै थियौं । ममीलाई डोरी ल्याएर झुण्डि हाल, मरिहाल भन्नुहुन्थ्यो । बुबाले नै डोरी दिएर झुण्डिन लगाउनु हुन्थ्यो,’ १६ वर्षीय छोरा रुपेश मण्डल भन्छन्, ‘त्यस दिन बुबा बाहिरबाटै खाना खाएर आउनु भएको थियो । घरको चुल्हो र भाँडा वर्तन पनि फालिदिनु भयो । ममिलाई कुटपिट सुरु गर्नुभयो । राती ओछ्यानमै हुँदा पनि ममीलाई घाँटीमा डोरी लगाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो, ‘तँ मरिहाल’ ।’

त्यसबेला आफ्ना बुबाले ममीको हात भाँचिदिएको उनी सुनाउँछन् । ‘बुबाले ममीको हात पनि भाँचिदिनु भएको हो । बाख्रा ठोक्ने मुङ्ग्रोले हातमा हान्दा ममीको हात नै भाँचियो । पोष्ट मार्टम रिपोर्टमा पनि छ,’ रुपेशले भने, ‘राती म ममीसँगै सुतेको हो । कुटपिटको कारण ममी बेहोस जस्तो हुनुहुन्थ्यो । राती ढेड बजेतिर ममी होसमा आउनु भयो । अनि बाहिर निस्किनु भएको थियो । त्यही बेला उनीहरु (दिलिपको प्रेमिका र प्रेमीकाको आमा) राती नै आएका थिए । राती पनि ममीसँग उनीहरूले झगडा गरे ।’ जब उज्यालो भयो जानकीले रुपेशलाई बाख्रा निकाल्न अह्राइन् । ‘ममीले मलाई बाख्रा निकाल्न भनेपछि म अर्को कोठामा गएर सुतें । केही समयपछि म कोठा आउँदा ममीलाई झुण्डिरहेको देखें,’ रुपेश भन्छन् ।

जानकीका बुबा सुकदेव मण्डल त अरू केटीसँग लागेर आफ्नी छोरीको ज्यान लिएको दाबी गर्छन् । ‘पहिले पनि मैले तँलाई मार्छ नजा भनेको थिएँ । त्यसबेला सबै सम्पत्ती त सकिसक्यो अब मारे पनि मारोस् भनेर घर गइ । मैले भेट्न पनि पाइन । झुण्ड्याएरै मारिदियो,’ बुबा सुकदेवले भने, ‘अर्को केटीसँग लागेको थियो । अहिले पनि त्यही केटीसँग मोरङको गछियामा बसेको छ । अहिलेको केटी हुनुभन्दा पहिले धरानको केटीसँग लागेको थियो ।’ मृत्यु भएकै रात जानकीले आफन्तलाई फोन गरेर भनेको सम्झँदै बुबा सुकदेवले भने, ‘आज मलाई मार्छ होला । धेरै कुटपिट गर्यो भनेर भनेकी थिइन् रे ।’ झुण्डिएको शवमा सलले ओडेको मण्डल बताउँछन् । ‘झुण्डिने मान्छेले सल ओडेर झुण्डिन्छ ?,’ उनले प्रश्न गरे, ‘मेरो नातीलाई पनि मार्छु । तेरो आमालाई जस्तै बनाउँछु भन्छ । अहिले पनि धाक धम्की दिइरहेको छ । हामीलाई न्याय चाहियो । जे गरेर हुन्छ । पुलिसले नै घुष खाएर मुद्दा नचल्ने बनायो । मेरो छोरी मारेको छ । मुद्दा नचल्ने निर्णय गर्न मिल्छ ? ।’

जानकीका दाजु रामेश्वर मण्डलले पनि न्याय पाउनु पर्ने बताए । प्रहरीले पन ित्यसबेला ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गर्न मानेन । त्यसपछि आत्महत्या दुरुत्साहन विरुद्धमा मुद्दा हाल्ने कुरा भयो । त्यही अनुसार आफन्त सहमत भए । तर, प्रहरीले सर्जमिन मुचुल्का पनि राम्रोसँग गरिदिएन । अनुसन्धान पनि राम्ररी गरेन । आफ्नै अनुकूलतामा २०–२२ दिनपछि सरकारी वकिलको कार्यालयमा फायल पठाइदियो । जिल्ला सरकारी वकिलको कार्यालयले भने ‘आफैं झुण्डिएको’ भनेर मुद्दा नै नचल्ने निर्णय गरिदियो । दिलिप मण्डल उनकी प्रेमिका भनिएकी युवती र उनकी आमाविरुद्ध मुद्दा दर्ता गर्ने भनिएको थियो ।

उक्त मुद्दा हेरिरहेका अधिवक्ता कल्याण केसीले भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनेर गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालयले बदर गरिदिएको बताए । ‘जिल्ला सरकारी वकिलको कार्यालयको निर्णय बदर गरेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराउनु भनेर मिसिल फिर्ता गर्यो,’ केसीले भने ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सुवास भट्टराईले भने उच्चको निर्णयपछि अब मुद्दा चल्ने बताए । ‘आइतबारतिर अभियोग जान्छ । उच्चले मुद्दा चलाउन भनेपछि हामीले मुद्दा चलाउँछौं,’ उनले भने । तर, के आधारमा जिल्ला सरकारी वकिलको कार्यालय चाहिँ मुद्दा नचल्ने निर्णय गरेको थियो भन्ने प्रश्नमा उनले सबै फायल हेरेर मात्रै जवाफ दिन सकिने बताए ।

उता, दिलिपले भने आफ्नो छोरा रुपेशलाई पनि ज्यान मार्ने धाक धम्की दिइरहेका छन् । ‘मोवाइलमा फोन गरेर भन्नुभयो । मैले भनेको ठाउँमा गइनस् भने तँलाई मारिदिन्छु भन्नुभयो । अहिले म मामाकोमा छु,’ मामा घरमा बस्दै आएका जानकी र दिलिपका छोरा रुपेश भन्छन् । मोरङको गछियामा बस्दै गरेका उनले गछियामै आउन धम्की दिएको रुपेश बताउँछन् ।

आइतबार, ०६ साउन, २०८१, दिउँसोको ०३:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर