कोरोना उपचारमा रहेका तीन डाक्टर अस्पतालको झ्यालबाट हामफाले

मस्को । कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न रसियाका तीन जना चिकित्सकले अस्पतालको झ्यालबाट हामफालेका छन् ।

रसियाका संचार माध्यमहरुका अनुसार हामफालेका दुई जनाको घटनास्थलमै र जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो ।

विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन् ।

चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागीरबाट हटाइने धम्की दिने गरिएको चिकित्सकको भनाई छ । अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो ।

रसियामा सयौंको संख्यामा चिकित्साकर्मीहरु नै कोरोना भाइरसबाट संक्रमित भएका छन् । रसियाको राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा.अलेक्जान्डर शुलेपोभको गत मे २ मा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हाम फालेका कारण ज्यान गएको थियो । कोरोना संक्रमित डा.शुलेपोभको त्यही अस्पतालमा उपचार हुँदै थियो ।

पश्चिम साइबेरियाको क्रानोयास्र्क शहरमा अप्रिल २५ मा डा येलेना नेपोमन्यास्चाया नाम गरेकी चिकित्सकको अस्पतालकै पाँचौं तलबाट खसेर ज्यान गयो । उनको मे १ तारिखका दिन अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

त्यस्तै अप्रिल २४ मा मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर डा. नताल्या लेभेदेभाको मृत्यु भयो । अस्पतालले दुर्घटनाबस नताल्याको निधन भएको बताएपनि स्थानीय संचार माध्यमहरुले डा.नताल्यामाथि कोरोना भाइससँग सम्बन्धित तनाब नै मुख्य रुपमा जिम्मेवार रहेका बताएका छन् ।

रसियामा १ लाख ६६ भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म एक हजार ५३७ जनाको ज्यान गइसकेको छ । (रासस)

बिहिबार, २५ बैशाख, २०७७, रातीको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर