सम्पादकीय
मेची पहाडलाई तराईसँगै जोड्ने सबैभन्दा छोटो बाटो हो, दमक–चिसापानी–रवि सडक । यो सडक निर्माण सुरु भएको दशकौं भएपनि काम सम्पन्न भएको छैन । जसको कारण यसडक भएर यात्रा गर्ने यात्रुहरुले मानबीय र भौतिक क्षति हरेक वर्ष व्यहोर्न परिरहेको छ । इलामको चुलाचुलीमा सोमबार बेलुका त्यस्तै घटना भएको सडक खण्डमा पर्ने रतुवा खोलामा पुल नबनेको कारण खोलाबाटै सवारी साधन सञ्चालन हुने गरेका छन् । वर्षायाममा सडक अबरुद्ध हुने गरेको छ । खोलामा पानी थोरै रहेको अनुमानमा सोमबार खोलाभित्र यात्रुसहित पसेको बोलेरो जीपलाई नै खोलाले बगाउँदा इलाम माङ्सेबुङ–३ का तीन वर्षका बालक नियन नेम्वाङ र माङ्सेबुङ ५ की ३० वर्षीय सर्मिला फागोको मृत्यु भयो । चुलाचुलीको चपेटी क्षेत्रमा रतुवा खोला तर्ने क्रममा चालकले बाढी आएको थाहा नपाउँदा बलेरो खोलामा बगेको थियो । सडकको दुर्दसाकै कारण वर्षेनी मानवीय क्षतिका घटना भइरहेका छन् ।
इलामको माङ्सेबुङ, फाकफोकथुम, पाँचथरको मिक्लाजुङ गाउँपालिकाका मानिसहरुको लागि तराई झर्न छोटो दुरीको बाटो हो, त्यो । दैनिक १ हजार भन्दा धेरै सवारी साधन ओहोरदोहोर गर्ने सडकको निर्माण पुरा नहुँदा हरेक वर्षायाममा सास्ती हुने गरेको छ । विद्यार्थीहरु विद्यालय आउजाउ गर्न समस्या हुन्छ । मनसुन सक्रिय भएको समयमा बाटोलाई खोलातर्फ डाइभर्सन गरेको कारण पछिल्लो दुर्घटना भएको छ । सडक निर्माणको जिम्मा लिएको ठेकेदारले लापर्वाही गर्दा घटना भएको हो । निर्माण कम्पनीले अस्वभाविक रुपमा काममा ढिलाइ गरेको कारण सो क्षेत्रका स्थानीयले सास्ती पाइरहेका छन् । सडकको पहिलो खण्डको दमकबाट सुरुको प्याकेज ७ किलोमिटर कालोपत्रेका लागि ठेक्कामा लागेको छ । २२ करोड ५९ लाख ६४ हजारमा सडक निर्माणको जिम्मा लिएको महालक्ष्मी–किराँतेश्वर जेभीले चौथोपटक म्याद थपिएको अवधिमा पनि काम सकेको छैन । अझै साढे ४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ ।
मध्यवर्षामा कालोपत्रे गर्ने भन्दै बाटो बन्द गरेपछि सवारी साधन खोलामा कुदाउनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । यो प्रकरणमा निर्माण कम्पनीकै लापर्वाही प्रमुख देखिएको छ । समयमा काम नगर्ने अनि बर्खा लागेपछि बाटो बन्द गरेर सडक बनाएको नाटक गर्ने गरेको निर्माण कम्पनीमाथि यो प्रकरणमा कार्वाहीको खाँचो छ । दमक–चिसापानी–रवि सडकलाई सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा विभाजन गरी ठेक्कामा लगाएको थियो । सडकको दोस्रो र तेस्रो खण्ड २६ किलोमिटर निर्माणको जिम्मा लिएको लुम्बिनी–गणपति जेभीले पनि तेस्रो पटक म्याद थप्दा पनि काम सकेको छैन । जसको कारण ती दुबै खण्डको ठेक्का सडक विभागले एक महिनाअघि नै तोडिसकेको छ । अब नयाँ प्रक्रिया छिटोभन्दा छिटो सञ्चालन गरेर काम सम्पन्न गर्नुपर्छ । विकास आयोजना दशकौंसम्म अलपत्र पार्ने प्रबृत्ति अन्त्य गर्न सरकारी निकाय पनि काडाइको साथ प्रस्तुत हुनुपर्छ ।