सम्पादकीय
नेपाल विद्युत प्राधिकरणले नेपालमा खपत भएर बढि भएको ४०० मेघावाट विद्युत भारत निर्यात गर्न थालेको सूचना दिएपछि मोरङ उद्योग व्यपार संघले आश्चार्य जनाएको छ । नेपालका सबै जसो औद्योगिक कोरिडोरका उद्योगहरुले विगत केहि महिनादेखि अघोषित तथा अनियमित विद्युत कटौतीको समस्या भोग्नु परिरहेको भन्दै संघले विद्युत प्राधिकरणले त्यो समस्या समाधान नगरी भारत विद्युत निर्यात गर्न आश्चार्य भउको जनाएको छ । विराटनगर र आसपासका उद्योगी व्यवासायीको संस्थाले सार्वजनिक अपिल जारी गर्दै विद्युत नियमित उपलब्ध गराउन प्राधिकरणलाई अनुरोध गरेको छ । प्राधिकरणले थालेको विद्युत निर्यात र उद्योगीहरुको संस्थाको यो धारणाले अन्यौलता बढाएको छ । स्वदेशी उद्योगहरुको आवश्यकता अनुरुप प्राधिकरणले विद्युत आपूर्ति गर्न नसकिरहेको र दिनहुँ १२ घण्टासम्मको अघोषित लोडसेडिङ रहेको उद्योगीहरुले बताएका छन् । उता प्राधिकरण भने नेपालमा खपत हुन नसकेको विद्युत निर्यात थालेको बताइरहेको छ ।
सबैलाई थाहा छ नेपालमा हिउँद याममा विद्युत उत्पादन कम हुन्छ । खोलानाला हिउँदमा सुक्ने भएकोले उत्पादन कम हुन्छ । नेपालमा बर्खाको बेला भने उत्पादन धेरै भएर विद्युत बिक्री हुन नसक्दा खेर जाने अवस्था छ । त्यसैले नेपालमा धेरै हुँदा भारतलाई आवश्यक पर्ने र भारतलाई धेरै हुँदा नेपाललाई आवश्यक हुने बिजुली खरिदबिक्री गर्ने सम्झौता दुई देशबीच छ । हिउँदमा नेपाल विद्युत प्राधिकरणले भारतबाट किनेर आपुर्ती व्यवस्थापन मिलाउने प्रयास गर्छ भने वर्खायाामा बेचेर । विद्युत बिक्रीबाट पछिल्लो समयमा प्राधिकरणले राम्रो आम्दानी पनि गर्न थालेको छ । त्यसकै निरन्तरता प्राधिकरणले १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत बिक्री सुरु गरेको जनाएको छ । तर, ठीक यही बेला नेपालकै उद्योग धन्दामा भने विद्युत् आपूर्ति नियमित नभएको विषय गम्भीर छ । वीरगन्ज, विराटनगर र भैरहवा औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ जारी रहेको उद्योगीहरुले बताएका छन् । यो समस्या सम्बोधन गर्न प्राधिकरणले ध्यान दिनुपर्छ ।
प्राधिकरणको बलियो संरचना र पूर्वाधार नभएकै कारण यो समस्या आइरहेको छ । अहिले नेपालको कुल आन्तरिक जडित क्षमता करिब २९ सय मेगावाट हो । यो वर्ष उत्पादन करिब ३५ सय मेगावाट पुग्ने अनुमान छ । दैनिक विद्युत माग २ हजार मेगावाट छ । यो अवस्थामा भारतमा विद्युत विक्री गर्नुको विकल्प छैन । प्राधिकरणले उत्पादित बिजुली भारत बेच्न थाल्दा पनि नेपाली उद्योगहरुले आवश्यक विद्युत नपाउनु कमजोर संरचनाकै उपज भएको प्राधिरकणको नेतृत्वले बताउँदै आएको छ । प्रसारण लाइन र उच्च क्षमताका ट्रान्सफर्मरहरू आवश्यक ठाउँमा प्राधिकरणले व्यवस्था गर्न नसकेको कारण लोड व्यवस्थापन हुन सकेको छैन । आवश्यक मात्रामा सबस्टेसन निर्माण नहुँदा विद्युत झ्याप्पझ्याप्प काटिने समस्या रहेको छ । यो समस्या समाधान गर्न ध्यान दिनुपर्छ । विद्युतको आन्तरिक खपत बढाउन जोड दिनुपर्छ । जसले आयातित उर्जा खपत कम गर्न सकोस् र आन्तरिक उत्पादन तथा रोजगारी बृद्धि गर्न मद्दत गरोस् । त्यसले देशको आर्थिक समृद्धिमा पनि सहयोग पुग्नेछ ।