विराटनगरको श्रमधान रोजगार मेलामा हजारौं युवा सहभागी

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार विराटनगरमा उद्घाटन गरेको श्रमाधान रोजगार मेलामा हजारौं युवाहरु पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न मेला फलदायी हुने बताएका थिए ।

विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा जारी मेला आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजना गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संयोजन गरेको मेलामा रोजगारदाताका ५० भन्दा धेरै स्टल रहेको महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

रोजगारीको खोजीमा रहेकाहरुले सीप, क्षमता र योग्यताअनुसारको जागिरका लागि मेलामा आएर प्रस्ताव पेश गरिरहेको र उनीहरुमध्येबाट २५० जनासम्मलाई जागिर प्रयाद गरिने आयोजकले जनाएको छ । प्रदेशको ७० प्रतिशत उद्योग व्यवसाय भएको सहर विराटनगरमा आयोजित मेला रोजगारी खोजी गरिरहेका जनशक्ति र श्रमिक खोजी गर्ने उद्यमीहरुबीचको संगमस्थल बनेको छ ।

धेरै उद्योगी व्यवसायीलाई श्रमिक आवश्यक रहेकोमा मेलाबाट आवश्यक जनशक्ति छनौट गर्न सहयोग पुगेको राउतले बताए । विदेशमा सीप सिकेर फर्किएका युवाहरुले मेलाबाट रोजगारी पाउनसक्ने देखिएको उनको भनाइ छ ।

मेलामा सामी कार्यक्रम, रेमी परियोजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले स्टल राखेका छन् । कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ ।

मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ ।

शुक्रबार, १८ जेठ, २०८१, बिहानको ११:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर