पुण्य पि अधिकारी
दक्षिणी मोरङवासीलाई हुलाकी सडकको अर्थ धेरै अर्थमा छ । पूर्वमा झापा र पश्चिममा विराटनगरलाई जोड्ने हुलाकी राजमार्ग मोरङको दक्षिणी क्षेत्रका लागि मेरुदण्ड हो ।
तर, यही मेरुदण्डलाई विगत चार वर्षयता ठेकेदारले लापरवाही गरेर भाँचिदिएपछि यस क्षेत्रका स्थानीयको जनजीवन निकै प्रभावित भएको छ । सम्झौता बमोजिम ठेकेदारले काम नगर्दा त्यसको पीडा र सास्ती चार वर्षयता स्थानीयले भोग्नु परेको छ ।
ठेकेदारले निर्माण गर्नुपर्ने सडक निर्माण नगरेपछि अहिले त्यसको दुख र हैरानी स्थानीयले खेप्नु परेको छ । रंगेली पूर्व विराटनगरसम्म सडक भत्काएर ठेकेदार हराएपछि त्यसको सास्ती र हैरानी स्थानीयले खेपेको चार वर्ष वितिसकेको छ । वर्खाका समयमा हिलोसँग संघर्ष गर्नुपर्ने र हिउँदका समयमा धूलो खानुपर्ने स्थानीयको विवशतालाई ठेकेदार र राज्यका नियमक निकायले रमिता मानिरहेको अवस्था छ ।
अहिले एक दर्को पानी परेपछि हुलाकी सडक भएर आवतजावत गर्नुपर्नेहरुलाई सबैभन्दा सास्ती भएको छ । दक्षिणी मोरङवासीलाई हुलाकी सडक सबैभन्दा आवश्यक पर्ने मार्ग हो । प्रदेशको राजधानी विराटनगरलाई जोड्ने यो मार्ग आवतवाजत मात्रै नभएर विराटनगरसँगको सम्पर्क मार्ग पनि हो ।
सडक निर्माणको काम गर्दै केही समयअघि कटहरीका स्थानीयले सडक अवरोध गरे, त्यसको केही समयपछि पुन जनप्रतिनिधि सडक निर्माण सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिए । तर, समस्या ज्यूँका त्यूँह छन् ।
सडक निर्माणका लागि स्थानीय र जनप्रतिनिधिले आन्दोलन गर्नुपर्ने अवस्थाले हाम्रो राज्य संयन्त्रको कार्य प्रणाली पनि अहिलेको हिले हुलाकी मार्ग जस्तै भएको उदाहरण प्रस्तुत गरेको छ ।
दक्षिणी मोरङवासीका लागि हुलाकी सडक जीवन रेखा हो । तर, ठेकेदारले चार वर्षयता निर्माण अलपत्र पारेपछि त्यही मार्ग अहिले मृत्यु मार्गका रुपमा प्रतिदिन रुपान्तरण हुँदै गएको छ ।
निर्धारित समयमा बाटो नबनाएपछि सडक दुर्घटनामा केही व्यक्तिले ज्यान गुमाउनु परेको छ, केही अंगभंग भएका छन् । अव वर्खाको समयमा निर्माण गर्न बाँकी रहेको हुलाकी सडक कर्णाली प्रदेशको जुम्ला जाने बाटो जस्तै मृत्यु मार्गका रुपमा परिचित हुने अवस्थामा पुगेको छ ।
नीतिगत भ्रष्टाचार र तुच्छ कमिसनका लागि राज्यका प्रतिनिधि र ठेकेदारबिच मिलेमतो हुँदा त्यसको मूल्य आमसर्वसाधरणले चुकाइरहनु परेको छ । राज्यले सम्झौताकै समयमा कमजोर हुँदा ठेकेदारहरुले राज्यलाई टेर्दैनन् । जसका कारण विगत चार वर्षयता सडक निर्माण अलपत्र छ ।
आजका दिनमा विराटनगरबाट हुलाकी मार्ग भएर रंगेलीसम्मको यात्रा तय गर्न भगवान भाकी यात्राको सुरु गर्नुपर्ने अवस्थामा छ । समयमा काम नगरेका कारण पानी परेसँगै माटो बगेर पुरानो सडक खराब भएपछि हुलाकी मार्ग प्रयोग गर्नेहरुलाई सशुकल गन्तव्य पुग्छु वा पुग्दिन भन्ने भय छ । यस किसिमको भय, एक दिन वा दुई दिनको होइन ।
चार वर्ष वित्दा समेत सोही भयका साथ यात्रा गर्नुपर्ने आम सर्वसाधरणको जीवन वा जीवनको अधिकारमाथि तमासा गरिरहनेहरुका विरुद्ध अव आम सर्वसाधारण आन्दोलित हुन अबेर भइसकेको छ ।