विराटनगर । विश्वमा कोरोनाबाट संक्रममित हुनेको संख्या ३४ लाख नाघेको छ । वर्ल्डमिटर अपडेट अनुसार शनिबार बिहानसम्म विश्वका ३४ लाख एक हजार १५ जनामा भाइरस संक्रमण भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म २ लाख ३९ हजार ६०२ जनाको निधन भइसकेको छ ।
पछिल्ला दिनहरुमा संक्रमण बढ्ने क्रम नरोकिएपनि मृत्युदरमा भने नियन्त्रण आएको देखिन्छ । विश्वमा दैनिक सरदर ६ हजार ५ सय जनाको मृत्यु कोरोना संक्रमणकै कारण हुँदै आएको छ ।
दैनिक करिव एक लाख हाराहारीमा नयाँ बिरामी थपिदै गएपनि मृत्यु हुनेको संख्या भने करिव एक महिना यता उस्तै दरमा कायम रहँदा यसबाट हुनसक्ने सम्भावित क्षति निन्त्रणमा लिन विश्व समुदाय सफल नै भएको देखिएको छ ।
कोरोन भाइरसका कारण सबैभन्दा धेरै अमेरीकाले क्षति व्यहोरेको छ । अहिलेसम्म अमेरिकामा ११ लाख ३३ हजार जनामा यो भाइरस संक्रमण भइसकेको छ भने ६५ हजार जनाले ज्यान गुमाएका छन् । विश्वभरका संक्रमितमध्ये अमेरिकामा मात्र करिव ३३ प्रतिशत छन् भने सो भाइरसबाट ज्यान गुमाउने मध्ये २५ प्रतिशत अमेरिकी नागरिक छन् ।
पछिल्लो समय इटली र स्पेनमा भाइरस संक्रमण र त्यसबाट मृत्यु हुने संख्यामा निकै ठूलो सुधार आएको छ । शुक्रबाट इटलीमा २६९ जनाको मृत्यु भएको थियो भने स्पेनमा २८१ जनाले ज्यान गुमाएका छन् ।
भारतमा संक्रमण बढदै
दक्षीण एशियाली मुलुक भारतमा पछिल्लो समय कोरोना भाइरस फैलिने क्रम तिब्र भएको छ । भारत ४५ दिनदेखि लकडाउनमा छ । उसले थप १५ दिन लकडाउन गर्ने निर्णय गरिसकेको छ । तरपनि त्यहाँ संक्रमण नियन्त्रणमा आएको छैन । पछिल्ला दिनहरुमा भारतमा दैनिक २ हजार नयाँ संक्रमित पहिचान हुन थालेको छ ।
भारतमा अहिलेसम्म १२ सय २३ जनाको मृत्यु भइसकेको छ । शुक्रबार मात्र ६९ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा शनिबार बिहानसम्म ३७ हजार २५७ जना भाइरसबाट संक्रमित भइसकेका छन् ।