विराटनगर । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेद्वार माओवादीकी चम्पा कार्की पराजित भएसँगै गठबन्धनमा तरंग उत्पन्न भइरहेको छ । गठबन्धन पराजित भएर एमालेको उम्मेदवार रुक्मिणी कोइरालले जित हात पार्नुमा काँग्रेसकै ३ जना सांसद र १३ जना स्थानीय तहका प्रमुख तथा उप्रमुख, अध्यक्ष तथा उपाध्यक्षले मत दिएको खुलेको थियो ।
सत्ता गठबन्धनले पाउने भोट कसरी एमालेको उम्मेदवारले पाइन भन्ने विषयमा विविध चर्चा भइरहेको छ । धेरैले काँग्रेस नेता शेखर कोइराला खेमाले भोट नहाल्न चलखेल गरेको बताइरहेका छन् भने कतिपयले काँग्रेस सांसद डाक्टर शुनिल शर्माले चखलेख गरेको आरोप लगाइरहेका छन् ।
माओवादी केन्द्रले संस्थागत निर्णय गर्दै काँग्रेसबाट पटकपटक धोका भएको जनाएको छ । माओवादीले यसअघि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन लागेको समूहले नै आफ्नो उम्मेदवार पराजित गरेको दाबी गरेको छ । तर, मोरङ क्षेत्र नम्बर ३ बाट विजयी बनेका काँग्रेसका सांसद सुनिल शर्माले भने आरोपमा सत्यता नभएको भन्दै अपिरपक्व राजनीति गर्नेहरुले त्यस्तो आरोप लगाएको बताए ।
‘तपाईहरु जस्तो स्तरीय पत्रिकाले हावाहावा समाचार लेख्नुहुन्छ । सुनिल शर्माले हराएको भनेर लेख्नु भएको छ । त्यो गलत कुरा हो । त्यसरी जुन माओवादी वा काँग्रेसका नेताले भन्यो त्यो असाध्यै अपरिपक्क, गैर राजनीतिक मानिसले भनेको होला । म त्यसको घोर भत्र्सना गर्छु । मैले त्यस्तो गर्ने हो भने माओवादीलाई हराउने मेरो प्लान हुन्थ्यो भने म भनेरै हराइदिन्थें । मलाई कुनै मतलब थिएन । यिनीसँग म किन डराउँछु ? मेरो त्यस्तो कुनै कुरा थिएन । प्रदेश सरकार बनाउँदा संविधानको धारा १६८ (५) अनुसार सरकार बनाउँदाको परिस्थिति हो । मलाई गिरफ्तारी गरेको अर्कै कुरा हो । उनीहरुले दादागिरी देखाए । अदालतले छोड्यो । मैले न्याय पाइसकें ।’
तपाईहरुलाई त काँग्रेसकै एउटा पक्षले सुनिल शर्मा मुख्य योजनाकार हो भन्छन् नि भन्ने प्रश्नमा पनि उनले भने, ‘त्यो कसले भन्यो मलाई नाम भन्नुहोस् न । हेरौं न दम छ भने । मलाई देउवावाला काँग्रेसले त्यसो भन्दैनन् । शेरबहादुर दाइसँगै मेरो राम्रो छ । उहाँले पठाएरै सिटौलालाई जिताउन ७ जिल्ला दौडेको हुँ ।’
त्यही जिल्ला दौडले त खेलोफड्को बिग्रियो भन्छन् त ? भन्ने प्रश्नमा पनि शर्माले आफू कुनै त्यस्तो योजनामा नभएको बताए । ‘होइन । अहिले मानिसहरु अपराधी र लोभी भए । अर्को कुरा माओवादीसँगको गठबन्धनलाई काँग्रेसभित्र धेरैले पचाएको छैन । रियाक्सन पनि हो । नेताहरु माथि निर्णय गर्छन्, लाद्छन् अनि तल समस्या हुन्छ । त्यस्तोमा राम्रो काउन्सिलिङ गर्नुपथ्र्यो नि त ! गरेको छैन अनि अहिले लोभिपापीको जमानामा पैसाको चलखेल होला । मेरो विश्लेषण त्यो हो । मैले माओवादीका माथिल्लो तहका नेतासँगै कुरा गरिसकेको छु । उहाँहरुले पनि पैसाको चलखेलबाटै भएको हो भनेर भन्नुभएको छ । दुवै साइडको समीक्षा नै यही हो । हामीले हिर्काएको भए यस्तो झाडे तरिकाले हिर्काउँथ्यौं र ? हामी त टिमले नै हान्ने हो नि हान्ने हुँदा । त्यसो हुँदा १२ जना सांसद र ३० जना स्थानीय तहका प्रतिनिधिले नै थाहा हुने गरी हाल्थे नि । हामी त त्यसरी म्यासेज दिन्थ्यौं नि । यस्तो केटाकेटी काम गरिन्छ ? बुद्धि नभएर हो नि यस्तो काम गर्नेको । एउटा सांसद मेनेज गरेको भए एमाले हारिसकेको थिएन ?’
कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार माओवादीकी चम्पा कार्कीलाई एमालेकी रुक्मिणी कोइरालाले सप्राइज जित निकालिन् । कोइरालाले ५०८६ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादीकी कार्कीले ४९९२ मत मात्र पाइन् । उनले कोइरालाले ४९ सांसदको मत पाउँदा कार्कीले ४४ जनाको मात्रै पाइन् । यस्तै स्थानीय तहबाट कोइरालाले १३१ जनाको २ हजार ४८९ मत पाउँदा कार्कीले भने १४० जनाको २ हजार ६५० मत पाइन् । तर, गठबन्धनको मतभार भने बढी थियो । महिला उम्मेदवारले पराजय व्यहोर्दा सत्ता गठबन्धनबाटै काँग्रेस नेता कृष्ण प्रसाद सिटौला भने विजयी भएका थिए ।