विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा नेपाली काँग्रेसले पटक–पटक धोका दिएको भन्दै सहकार्य भंग हुने चेतावनी दिएका छन् ।
बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँगको सहकार्य तोड्ने चेतावनी दिएका हुन् ।
‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटक–पटक धोका दिएको छ’ नेम्बाङले भने, ‘कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाउनुपर्यो, अहिले पनि हाम्रा उम्मेदवार पराजित भए ।’ अब पार्टी नेतृत्वले केन्द्रमा सहकार्य भएपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्ने अवस्था आएको उनको भनाइ छ ।
नेम्बाङले गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला बिजयी भएर माओवादीका उम्मेदवार पराजित हुनुलाई योजनाबद्ध राजनीतिक बेइमानी भनेका छन् । कोशी प्रदेश सरकार निर्माणमा जसले इन्द्रबहादुर आङ्बोलाई छेक्न षड्यन्त्र गर्यो, अहिले त्यहि पक्षले बेइमानी गरेको उनको आरोप छ ।
राष्ट्रियसभा निर्वाचमा सत्तारुढ गठबन्धनमा रहेका तीन सांसद र स्थानीय तहका १३ प्रतिनिधिले कार्कीको साटो एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गरेको पाइएको छ । कोइरालाले ५०८६ मत प्राप्त गर्दा कार्कीले ४९९२ मत मात्र प्राप्त गरिन् । जबकि सत्ता गठबन्धनको मतभार एमाले गठबन्धनको भन्दा झण्डै ८०० ले बढि थियो ।
राष्ट्रियसभाको अन्य कोटातर्फ भने काँग्रेसका कृष्णप्रसाद सिटौला बिजयी भए । प्रदेशसभा सदस्यतर्फ सिटौला ४५ जनाको र स्थानीय तहतर्फ १५३ जनाको मत पाए । उनले ५२९२ मत प्राप्त गर्दा एमालेको समर्थन पाएका राप्रपाका उम्मेदवार उद्धब पौडेलले ४५६२ मत पाए ।