विराटनगर । फागुन २१ गते पदाबधि सकिने १९ जना राष्ट्रियसभा सदस्यको लागि आज मतदान हुँदैछ । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचन कोशी प्रदेशका २ पदको लागि हुँदैछ ।
कोशीमा अन्यतर्फ नेपाली काँग्रेसका रमेशजंग रायमाझी र नेकपा माओवादी केन्द्रका विना पोखरेलको स्थानमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धन चुनाबी मैदानमा छ ।
सत्तारुढ गठबन्धनबाट अन्यतर्फ नेपाली काँग्रेसका पूर्वमामन्त्री कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पादेवि कार्की उम्मेदवा छन् । यस्तै एमाले–राप्रपा गठबन्धनबाट अन्यतर्फ राप्रपाका उद्धब पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् । अन्यतर्फ एमालेले पर्शुराम अधिकारीलाई उम्मेदवार बनाएको भएपनि अन्तिम समयमा राप्रपालाई सहयोग गर्ने निर्णय गरेको हो ।राष्ट्रियसभाको निर्वाचन बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका तोकिएको छ । प्रदेश निर्वाचन कार्यालयमा हुने मतदानलत्तै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।
कोशीमा सत्तारुढ गठबन्धनभन्दा विपक्षी गठबन्धनको मत ७९४ सयले कम छ । तर, सत्तारुढ गठबन्धनभित्रको असन्तुष्टिलाई क्यास गरेर निर्वाचन जित्ने भन्दै एमाले र राप्रपाका नेताहरुले रणनीति बनाएको बताएका छन् ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३६७ मतदाता छन् । ९३ जना प्रदेशसभा सदस्य तथा १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।
कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कांग्रेसका प्रमुख/उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ । कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४६४२ छ ।