विराटनगर । बिहीबार हुने राष्ट्रियसभाको निर्वाचनको प्रचारप्रसार अवधि सकिएपछि नेपाली काँग्रेसले चियापान गरेकोमा नेकपा एमाले र राप्रपाले भेला राखेका छन् ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा नेकपा एमाले र राप्रपा गठबन्धनले उम्मेदवार र मतदाताहरु बोलाएर भेला राखेका हुन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरु भेलामा सहभागी छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा कोशीको अन्य कोटामा राप्रपाका उद्धब पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् । सत्तारुढ गठबन्धनभन्दा विपक्षी गठबन्धनको मत करिब ८ सय कम छ । तर, सत्तारुढ गठबन्धनभित्रको असन्तुष्टिलाई क्यास गरेर निर्वाचन जित्ने भन्दै एमाले र राप्रपाका नेताहरुले रणनीति बनाइरेका छन् ।
नेकपा एमाले र राप्रपा कोशी प्रदेशमा सरप्राइज दिने प्रयासमा छन् । त्यसकै लागि एमाले अध्यक्ष केपी ओली नै विराटनगर आउने तय भएको थियो । तर, निर्वाचन आचारसंहिताको कारण ओली आफू नआएर पोखरेललाई पठाएका हुन् ।
कोशीबाट प्रतिनिधित्व गर्ने एमालेका स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरु विराटनगरको होटल ह्यारिसनमा भइरहेको भेलामा सहभागी छन् । सो होटल एमाले केन्द्रीय सदस्य मोती दुगढको होटल हो ।
बिहीबारको चुनावको सन्दर्भलाई लिएर मंगलबारदेखि सबै प्रदेश सांसदलाई विराटनगर केन्द्रित गरेको एमालेले चुनाबसम्म विराटनगर नछाड्न निर्देशन दिएको छ । एमालेका स्थानीय तहका जनप्रतिनिधिहरु पनि विराटनगर आइसकेका छन् ।