विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता राम्रो व्यवस्था भएपनि केन्द्रीकृत शासन व्यवस्था अझै चलिरहेकाले संघीयताबारे प्रश्न उठेको बताएका छन् ।
मंगलबार विराटनगरमा कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले संविधानले दिएको अधिकार तलसम्म ल्याउन सके संघीयता खारेज गरौं भन्नेहरु संघीयताको पक्षमा उभिने दाबी गरे ।
‘संघीयता राम्रो व्यवस्था हो । तर, जसरी केन्द्रीकृत शासन व्यवस्था हामी चलाइरहेका छौं, त्यसले संघीयतामाथि प्रहार भइरहेको छ’ उनले भने, ‘केन्द्रीकृत शासनकै कारण संघीयता खराब हो भन्ने परिरहेकोले केन्द्रको संविधानले दिएको अधिकार तलसम्म ल्याउन सक्यौं भने अहिले खारेज गरौं भन्ने साथीहरु नै यो राम्रो व्यवस्था हो भनेर भन्नेछन् ।’ उनले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक कुनै कुरा पनि ठीक ढंगले नचलेको बताए ।
अहिले सुशासन दिन नसकेको, भ्रष्टाचार बढेको र दण्डहीनता फस्टाएकोले व्यवस्थामाथि प्रश्न उठेको कोइरालाले बताए । आर्थिक वर्ष सुरु भएको ६ महिनासम्म पनि १६ प्रतिशत मात्रै बजेट खर्च हुनु सकारात्मक नभएको भन्दै उनले संविधान कार्यान्वयनका लागि राजनैतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने उल्लेख गरे ।
पिताजी कृष्ण प्रसाद कोइराला स्मृति परिषदले आयोजना गरेको सो कार्यक्रममा पिताजी कृष्ण प्रसाद कोइराला सम्मान पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको थियो । सम्मान ग्रहणपछि पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमा अनेकौ त्रुटी रहेकाले पूनरावलोकन गर्ने बेला आईसकेको धारणा राखे ।
प्रजातन्त्रको लाभ जनताले अनुभूति गर्न नपाए वितृष्णा उत्पन्न हुने र विद्रोह हुन सक्नेतर्फ राजनीतिक दलका नेताहरु सचेत हुनुपर्ने श्रेष्ठले सुझाब दिए । उनले जनताले हारेको र नेताले जितेको प्रजातन्त्रले मुलुकको विकास गर्न नसक्ने धारणा राखे ।