काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) युगान्डा प्रस्थान गरेका छन् । उनी १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा गएका हुन । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका थिए ।
प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।