विराटनगर । लामो समयसम्म कर्मचारी टिकाउन बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईलाई सबै भन्दा ठुलो चुनौती बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नटिक्ने समस्याले उनी हैरानीमा छन् । गत भदौ २५ गते बेलबारी नगरपालिकामा आएका तारानाथ लुइँटेलको सरुवा भएको एक महिना भन्दा बढी भएको छ । कामले गति लिने बेलामा सरुवा भएपछि मेयर राई नयाँ प्रमुख प्रशासकीय अधिकृतको खोजीमा छन् । मसिर २५ गतेदेखि बेलबारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका भुक्तानीदेखि सामाजिक सुरक्षा भत्तासम्मका काम रोकिएको नगरपालिकाका सूचना अधिकारी महेन्द्र खड्काले बताए । सम्झौतासमेत रोकिएको उनले बताए ।
जनप्रतिनिधि र कर्मचारीबिच कुरा नमिलेपछि लुइँटेलको सरुवा भएको थियो । ‘मेयरसाव् र तारा सरबिच असहमति बढ्दै गएपछि उहाँले सरुवा मागेर सूर्यविनायक नगरपालिकामा जानुभयो’, कर्मचारी स्रोतले भन्यो मेयरसाव्ले केही कर्मचारीलाई च्याप्ने गरेका कारणले पनि समस्या आएको हो । मेयर राईले लेखा प्रमुख धनमाया राईसँग मिलेर प्रमुख प्रशासकीय अधिकृतलाई लगाम लगाउन खोजेपछि प्रमुख प्रशासकीय अधिकृत नटिक्ने गरेको कर्मचारीहरूको आरोप छ ।
प्रमुख प्रशासकीय अधिकृतले तोक लगाएका फायलसमेत महिनौ दिनसम्म रोकेर भुक्तानीमा ढिला गर्ने अनि ढिला गर्नुको कारण सोध्दा प्रमुख प्रशासकीय अधिकृतकै अगाडी रुने गरेकाले पनि प्रमुख प्रशासकीय अधिकृत रुष्ट हुने गरेको कर्मचारी स्रोतको भनाइ रहेको छ ।
यता नगर प्रमुख राईले किन टिक्दैनन् भन्ने बारे आफू पनि अन्योलमा रहेको बताए । उनले एक हप्तामाभित्रमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने बताए । प्रमुख प्रशासकीय नहुदाँ नगरसभासमेत प्रभावित बनेको छ । पुस मसान्तभित्रै नगरसभा गरिसक्नु पर्ने नगरसभा पछाडि सरेको छ ।