कानुन विपरीत उपचार खर्च माग्दै कोशी प्रदेशका पाँच सांसद

विराटनगर । कोशी प्रदेशका उपसभामुखसहित ५ जना प्रदेश सभा सदस्यले कानुन विपरीत उपचार खर्चको माग गरेका छन् । उपसभामुख सिर्जना दनुवारसहित प्रदेश सभा सदस्यहरू तारादेवी ढकाल, उमाकान्त गौतम, डोल्मा तामाङ र गोपालबहादुर विश्वकर्माले कानुन विपरीत लाखौँ रुपैयाँ उपचार खर्च माग गरेका हुन् ।

तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाएर उपचार गर्न भन्दै सुटुक्क काठमाडौँ गएकी उपसभामुख सिर्जना दनुवारले दुई पटकको उपचार खर्चवापत ८१ हजार ९९० रुपैयाँ उपचार खर्च माग गरेकी छन् ।

उपसभामुख दनुवारले सो बेला काठमाडौँको गंगालाल अस्पतालमा उपचार गराइएको विवरणसहित उपचार खर्च माग गरेकी हुन् । उनले छुट्टा छुट्टै दुई अस्पतालमा उपचार गराएको खर्च संसद् सचिवालयमा पेस गरेकी हुन । सहिद गंगालाल हृद्धय केन्द्रले उनलाई २०२३ ।८ । २२ गते डिस्चार्ज गरेको विल पेस गरेकी छिन भने नर्भिक इन्टरनेशल हस्पिटलमा २०२३ मार्च १२ डिस्चार्ज गरेको विवरण पेस गरेकी छिन । उनले संसद् सचिवालयमा पेस गरेको विल ३३ हजार ९५ रुपैयाँको रहेको छ भने नर्भिकको ४१ हजार ८१४ रुपैयाँको रहेको छ ।

यस्तै एमालेकी सांसद तारादेवी ढकालले झापाको दमकको निम्स र काठमाडौँको मेदान्त ह्याम्स,वि एन्ड वि, र निर फार्मेसिमा विभिन्न मितिमा उपचार गराएकी छिन । उनले पेस गरेको विलमा ४ लाख ७७६ रुपैयाँ रहेको छ ।

एमालेकै सांसद उमाकान्त गौतमले विराट मेडिकल कलेजमा विराटनगरमा २०७९माघ १६ गते उपचार गराएका थिए । उनले १ लाख ३८ हजार ६९ रुपैयाँ खर्च भएको निवेदनसहित उपचार खर्च मागेका छन् ।

काँग्रेस सांसद डोल्मा तामाङले ओम अस्पताल चाहविल २०७९ माघ १६ गते उपचार गराएकी छिन । उनले ४९ हजार ४२६ रुपैयाँ खर्च पेस गरेकी छिन ।यस्तै राप्रपाका गोपालबहादुर विश्वकर्माले सहिद गगालाल हृदय केन्द्र काठमाडौँमा गत असोज १६ गते ३५ हजार ९१२ रुपैयाँ उपचारमा खर्च भएको भन्दै भुक्तानीका लागि माग गरेका छन् ।

यसअघि मन्त्रीपरिषद्को बैठकबाट निर्णय गराएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सांसदको उपचार खर्च भुक्तानी गर्ने गरिएको थियो । यस अघि पनि उत्त निवेदनहरू आन्तरिक मामिला मन्त्रालयमा संसद् सचिवालयले पठाएको थियो । आन्तरिक मामिला मन्त्रालयमा पैसा नभएको भन्दै संसद् सचिवालयलाई नै पत्र पठाएका थिए ।

सभामुखको पहिलो निर्णय नै उपचार खर्च माग्ने !

नवनियुक्त सभामुख अम्बरबहादुर विष्टले आफ्नो पहिलो निर्णय नै सांसदहरूको उपचार खर्च माग्ने भनी गरेका छन् । पदभार ग्रहण गर्दै उनले ५ जना माननीयको ६ लाख ९९ हजार ८२ रुपैयाँ उपचार खर्च मन्त्रिपरिषद्बाट निर्णय गरेर उपलब्ध गराउन मुख्यमन्त्री कार्यालयलाई पत्र लेख्ने निर्णय गरेको प्रदेश सभाका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

नेपालभित्रका अन्य अस्पतालमा लागेको खर्च मन्त्रिपरिषदको निर्णयबमोजिम हुनेछ भन्ने ऐनमा उल्लेख गरिएको छ । तर, त्यसका लागि पनि प्रदेश सभा सचिवालयले उपलब्ध गराएको चिकित्सकले जाँच गरेर रिफर गरेको हुनुपर्छ ।

प्रदेश सभाका कुनै पनि चिकित्सकले अन्यत्र उपचार गर्न अनुमति (रिफर)नदिएको संसद् सचिवालयका सूचना अधिकारी निरोज ढकालले बताए ।

यता सांसदहरू भने उपचार खर्च पाइन्छ भनेर दाबी गरेको बताउँछन् । ‘माननीयज्यूहरूले उपचार खर्च पाइन्छ भनेकाले बिल पेस गरेको हुँ,’ प्रदेश सभा सदस्य उमाकान्त गौतमले भने, ‘यसअघि पनि केही माननीयले उपचार खर्च लिएको सुनेको छु ।’ सभामुखदेखि सांसदसम्मले ताकेता गरे पनि प्रदेश सभाका चिकित्सकले रिफर नगरी गरिएको उपचार खर्च दाबी गर्नु कानूनविपरीत देखिएको छ ।

शुक्रबार, २७ पुष, २०८०, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर