यस्तो छ कोशी प्रदेशको मन्त्रीमण्डल, एमाले बाहिरिने

विराटनगर । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको मन्त्रीमण्डलको संख्या ५ पुगेको छ ।

गत असोज २७ गते नियुक्त भएका उनले असोज २८ गते एमालेबाट राम रानामगर र काँग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । एमालेको असहमतिका बाबजुत शुक्रबार कार्कीले केन्द्रीय सत्ता गठबन्धनका मुख्य सहयात्री दल माओवादी र नेकपा एसबाट एक–एक जना मन्त्री नियुक्त गरेका हुन् । उनले नियुक्त गरेका माओवादीका मन्त्री गणेश उप्रेती मोरङको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । उप्रेतीले हालसम्म कुनै पनि राजकीय जिम्मेवारी निर्वाह गरेका छैनन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा मन्त्री नियुक्त भएका कमल प्रसाद जबेगु पुराना बामपन्थी नेता हुन् । उनी यसअघि उद्धब थापा मुख्यमन्त्री हुँदा पनि मन्त्री मण्डलमा सहभागी भएका थिए । तर, राम्रो काम गर्नै नपाई मुख्यमन्त्री थापा बर्खास्तमा परेपनि उनको पनि पद गएको थियो । उनी पाँचथर १ (१)बाट प्रदेशसभामा निर्वाचित भएका थिए । यसअघि नियुक्त भएका काँग्रेसका शम्शेर राई इलाम १ (२) बाट निर्वाचित सांसद हुन् । उनी यसअघि इलामको रोङ गाउँपालिकाका अध्यक्ष भइसकेका छन् । यस्तै एमालेको उम्मेद्वार बनेर इलाम २ (२) निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामबहादुर राना अघिल्लो पटक पनि प्रदेशसभाको सांसद र मन्त्री भइसकेका हुन् ।

यता, नेकपा एमालेले भने आफ्नो सहमति बिना मन्त्रीमण्डल विस्तार गरेको भन्दै आफू सरकारबाट बाहिरिने बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले गरेको सरकार विस्तारबारे भोली बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । गठबन्धन दललाई सरकारमा ल्याए आफूहरु बाहिरिने भन्ने आफूहरुको कुरा कार्यान्वयन हुने उनले बताए ।

नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले सरकारमा गठबन्धन सामेल गर्ने कि एमाले मात्र भन्ने निर्णय गर्न नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् । कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरेपनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको थियो । तर, मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी नेपाली काँग्रेस र गठबन्धनको दबाबको कारण गठबन्धनबाटै सरकारमा मन्त्री थप गर्ने निष्कर्षमा पुगेका हुन् ।

शुक्रबार, १७ कार्तिक, २०८०, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर