विराटनगर । कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थप भएका छन् । उनीहरुले आजै पद तथा शपथग्रहण गरेका छन् । एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
नयाँ मन्त्रीहरुमा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जवेगु मन्त्री बनेका हुन् ।
उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनियताको शपथ खुवाएका छन् । जबेगु यसअघि पनि उद्धब थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए । उप्रेतीको लागि भने राजकीय जिम्मेवारीको यो पहिलो अवसर हो ।
गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् । चारै मन्त्रीहरुको कार्यविभाजन भने अझै भएको छैन । आइतबारसम्ममा जिम्मेवारी तोकिने गठबन्धन दलका नेताहरुले बताएका छन् ।