जनतालाई सेवा दिन १० वटा विमान खरिद गर्न लागेका हौं : मन्त्री किराती

विराटनगर । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया नरोकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री किरातीले पहाडी र हिमाली क्षेत्रका जनताले सधैँ कष्टपूर्ण यात्रा गरिरहनु पर्छ भन्ने मान्यतामा आफू नरहेको भन्दै जनताको सेवाका लागि जहाज अभाव भएकोले खरिद गर्न लागेको बताए ।

विकट गाउँका महिला सुत्केरी हुन नसक्दा सबैले हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था नहुँदा मृत्युवरण गर्नुपर्ने परिस्थिति रहेका कारण पनि नेपाल वायु सेवा निगमले जहाजको आवश्यकता महशुस गरिरहेको उनको भनाइ छ ।

जहाज खरिदका लागि आर्थिक स्रोत कसरी जुटाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मुख्यकुरा स्रोतको होइन आवश्यकता हो कि होइन भन्ने हो । यदि आवश्यकता हो भने सरकारले स्रोतको प्रबन्ध गर्छ, हामी स्रोतको व्यवस्था मिलाउँछौं ।’ निगमले १० ओटा ट्वीनेटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको र यसै आर्थिक वर्षभित्र जहाज आइसक्ने उनले बताए ।

यसैबीच मन्त्री किरातीले विराटनगर विमानस्थलभित्र सञ्चालित पसल तथा क्यान्टिनहरुको अनुगमन गरे । अनुगमनका क्रममा पानी लगायतका पेय पदार्थ तथा जंङ्क फुडहरु लेज, चाउचाउ आदिमा उल्लेख गरिएको अधिकतम बिक्री मूल्य भन्दा तीन गुणा बढीसम्ममा बिक्री गर्ने गरेको पाइएको थियो । मन्त्री किरातीले आजैबाट एमआरपीमा उल्लेख भएभन्दा बढी मूल्य लिएर बिक्री गर्नेलाई कारवाही गर्न निर्देशन दिए । उनले अबदेखि उपभोक्तासँग बढी मूल्य लिएको पाइएमा कुनै मौका नदिइ कारवाही गर्ने चेतावनी पनि दिए ।

राष्ट्रिय सहमतिको सरकार आवश्यक

राजनीतिक विषयमा संक्षिप्त टिप्पणी गर्नुभएका मन्त्री किरातीले मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए । अहिले देशको अवस्थालाई हेरेर मुलुक निर्माणका लागि एकपटक सबै मिल्नु पर्ने उनको भनाइ थियो । ‘यो देश सबै मिलेर बनाउनु पर्छ, मुलुकको अवस्था राम्रो छैन, भ्रष्टाचार, बेथिति र राजनीतिक अस्थिरता छ,’ मन्त्री किरातीले भने, ‘त्यसैले देश बनाउने, भ्रष्टाचार हटाउने काम सबै मिलेर मात्र सम्भव छ त्यसैले एक पटक सबै मिलेर राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’

बुधबार, ०१ कार्तिक, २०८०, दिउँसोको ०१:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर