विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समय सकिन अब लगभग ७ घण्टा बाँकी छ । यसअघि बिहीबार नै मुख्यमन्त्रीको लागि ४७ सांसदसहित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र काँग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन् ।
गठबन्धन र पार्टीको निर्णयको विरोध गर्दै विद्रोह गरेका काँग्रेस शेखर कोइराला पक्षका कार्कीले दाबी पेश गरेपछि गठबन्धनको लागि नैतिक संकट उत्पन्न भएको छ । कार्कीको दाबी अस्वीकृत गराउने, उनको दाबी फिर्ता लिन लगाउने वा उनलाई समर्थन गरेका सांसदलाई कन्भेन्स गर्ने विकल्पमा काँग्रेसलगायत गठबन्धन दलहरू लागिरहेका छन् ।
स्रोतका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवाले कोशी प्रदेशमा आफ्नो पार्टीबाट समानुपातिक कोटाबाट सांसद बनेका र कार्कीको पक्षमा मतदान गरेका तीन सांसदहरु इन्दिरा थापा, लिलाकुमारी राई र सुनिता कुमारी गुरुङलाई टेलिफोन गरेर हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् । यस्तै आजै काँग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक बसेर कोइराला पक्षले चालेको कदमविरुद्धमा निर्णय गर्ने तयारी गरेको छ ।
यस्तै काँग्रेसको केन्द्रीय पदाधिकारीको बैठकले पनि कोशी प्रदेशको समस्याबारे छलफल गर्ने तयारी गरेको बताइएको छ । यस्तै गठबन्धनले राप्रपासँग पनि आजै छलफल गर्दैछ । राप्रपाको पनि कोशी प्रदेशको विषयमा के गर्ने भन्ने विषयमा आजै निर्णय गर्ने जनाएको छ । राप्रपाको पदाधिकारी बैठक जारी छ । राप्रपाको ठोस निर्णयपछि पनि कोशीको राजनीतिले थप नयाँ मोड लिन सक्ने बताइएको छ ।
काँग्रेसमा असन्तुष्टि
आफ्नै पार्टीको विधानको व्यवस्था विपरीत शेखर कोइराला समूहले गठबन्धनलाई समर्थन नगरेर एमालेको समर्थनमा मुख्यमन्त्रीको दाबी गरेपछि सो समूहमा पनि असन्तुष्टि देखिएको छ । शेखर कोइरालाको निकट मानिएका काँग्रेस नेता गुरुराज घिमिरेले कोशी प्रदेशको अराजकता अस्वीकार्य रहेको बताएका छन् । ‘कोशी प्रदेशको अराजकता अस्वीकार्य छ । गैरदलीय चरित्र अमान्य छ । संविधानले प्रजातन्त्रको मर्मको उल्लंघ न सोचेको पनि छैन । मेरो असहमति छ,’ घिमिरेले सामाजिक संजाल ट्वीटरमा उल्लेख गरेका छन् ।
यस्तै काँग्रेस सांसद भीम पराजुलीले पनि असन्तुष्टि व्यक्त गरेका छन् । पराजुलीले कोशी प्रदेशमा सत्ता प्राप्तीको गलत प्रयासले काँग्रेसको आदर्श सिद्धान्त, आस्था र विचारलाई मृत तुल्याएको जनाएका छन् । ‘कोशी प्रदशेको सत्ता प्राप्तीको गलत प्रयासले काँग्रेसको आदर्श सिद्धान्त, आस्था र विचारलाई मृत तुल्याएको छ,’ पराजुलीले सामाजिक संजालमा लेखेका छन्, ‘यसले पार्टीको शिर निहुरेको छ । के हाम्रो उद्देश्य जसरी पनि सत्ता प्राप्ती गर्नु हो र ? बीपीले यसरी सोचेको भए त्याग तपस्या संघर्ष गरी जीवनभर जेल बस्नु पथ्र्यो र ? सँधै प्रधानमन्त्री बन्ने अवसर आएको थिएन र ? यस्ते विकृत खेलले काँग्रेसलाई र देशलाई कहाँ पुर्याउँछ नेतृत्वले समयमै सोचोस र यो गलत कार्य र सम्भावित दुर्घटनाबाट जोगाओस् ।’