काठमाडौं । सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले, कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको बताए ।
उत्पादन साथमा, अनुदान हातमा भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उनले भनाई छ ।बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने बताएको सरकारले यसबमोजिम अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने अर्थमन्त्री महतको भनाई छ ।
यस्तै किसानलाई रसायनिक मलमा अनुदान दिन ३० अर्व विनियोजन गरेको छ । रसायनीक मल खरिद प्रकृयामा सुधार गरि समयमा नै आपूर्ति सुनिश्चित गरिने पनि बजेटमा उल्लेख छ । मल आपूर्ति र वितरण प्रकृयालाई व्यवस्थित र पारदर्शी बनाईने र स्वदेशमा मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरि सार्वजनीक निजी साझेदारीमा लगानी वोर्ड मार्फत काम अगाडि बढाइने योजना पनि बजेटमा उल्लेख छ ।
यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने सरकारको अपेक्षा छ ।
प्रदेश तथा स्थानीय तहले समेत उत्पादनमा आधारित कृषि अनुदान प्रणाली अबलम्बन गर्नसक्ने अर्थमन्त्री डा महतले बताए ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतको भनाई छ ।