विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्यसमितिहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिवार पदस्थापन भएको हो ।
सो क्रममा निर्वाचन समितिका संयोजक सूर्य विमलीले अध्यक्षलाई तथा अध्यक्षले अन्य पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
संगठनको अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन् ।
२६ औँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नन्द किशोर राठी, वित्तीय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, ऊर्जा र जलश्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्षमा विपिन कावरा पनि निर्विरोध चुनिएका छन् । त्यसै गरी कोषाध्यक्षमा सुबोध कोइरालासहित आठ जना सदस्य पनि निर्विरोध छानिएका छन् ।
त्यसैगरी सदस्यमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन् । कार्यसमिति थप तीन जना सदस्य अध्यक्षले मनोनीत गरेका छन् । जसमा प्रतिभा रिजाल, जयन्त शर्मा र सिद्धार्थ कावरा रहेका छन् ।
सङ्गठनमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने परम्परा भए पनि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका सुपारी कारोबारमा विवादमा मुछिएपछि उनले उम्मेदवारी नदिँदा कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चुनिएको थियो ।
२०२४ सालमा स्थापना भएको यो संस्थाको संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ हुन् । यो सङ्गठनमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका २ सय ३५ उद्योग तथा प्रतिष्ठान आबद्ध छन् ।