विराटनगर । पशुपतिनाथमा जलहरी लगाउँदा सुनको भनेर पित्तलको लगाइएको र भ्रष्टाचार भएको आरोप आफ्ना अध्यक्ष केपी ओलीलाई लगाएपछि एमालेले संसद अवरुद्ध गरेको छ ।
सत्ता पक्षकै सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले आपत्ति जनाएको थियो । जेठ १० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको उल्लेख गरेका थिए । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालको बैदेशिक ऋण ७ खर्बबाट १७ खर्ब कसरी पुग्यो भन्दै प्रश्न गरेका थिए भने पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भन्दै पित्तल लगाएर भष्ट्राचार गरेको आरोप लगाएका थिए ।
‘गएको ३ वर्ष उहाँ सरकारमा जाँदा ७ खर्ब ऋण थियो भने सरकार छोड्दा १७ खर्ब ऋण कसरी पुग्यो । यो सरकारले भ्रष्ट्राचार नियन्त्रण गर्न सक्दैन भन्दा उहाँ सरकारमा छँदा कति भ्रष्ट्राचार काण्ड आए । यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको २ अर्बको भष्ट्राचार । त्यतिमात्र हैन पशुपतिनाथमा जलहरी लगाउँदा पनि सुन भनेर पित्तल लगाइदिएको सयौँ यस्ता भ्रष्टाचारका काण्ड छन् । आफू सरकारमा हुँदा जे गर्न सकिएन, त्यो अहिलेको सरकारले गर्दैछ,’ सांसद लेखनाथ दाहालले भनेका थिए ।
महालेखाको प्रतिवेदनमा के छ ?
पशुपतिमा सुनको जलहरी लगाउँदा अनियमितता भएको र चार किलोभन्दा बढी सुनको हिसाव नदेखिएको महालेखा परीक्षणको कार्यालयले जारी गरेको उनान्साठीऔं प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदनमा ‘जलहरी बनाएर बाँकी रहेको सु्नको सम्पूर्ण परिणाम रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश गरेको छैन’ भन्ने उल्लेख छ ।
‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि यो वर्ष नेपाल राष्ट्रि बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रु.८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ महालेखाले भनेको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमुर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ । ज लहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिणाम रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश गरेको छैन ।’ महालेखाको यो प्रतिवेदनले हिसावमा चार किलो बढी सुनको हिसाव नभएको जनाएको छ ।
महालेखाले जलहरी निर्माणको ज्याला खर्चमा पनि प्रश्न उठाएको छ र भनिएको छ, ‘जलहरी निर्माण कार्यको लागि दाताबाट व्यहोरेको रकमको हिसाव लेखाङ्कन गरेको छैन । पाटन औद्योगिक क्षेत्रको एक रोलिङ मिल्समार्फत उक्त निर्माण कार्य गराएकोमा मिल्ससँग सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेश गरेको छैन । सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखाङ्कन हुनुपर्नेमा परिषद्ले दातामार्फत ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकोले दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखाङ्कन नभएकोले जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ यकिन हुन सकेन । सो रकम यकिन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्छ । नियमावली अनुसार प्राप्त चन्दा अनुदान भेटीघाटी लगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्ने व्यवस्था गरिनुपर्दछ ।’