खाणले १ करोड २४ लाख बुझेर गिरोहलाई गरे सहयोग

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले सञ्चालन गरेको ठगीधन्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले पनि रकम लिएर सहयोग गरेको पाइएको छ ।

गृहमन्त्री रहँदा खाँणले गिरोहका नाइके केशव दुलालबाट १ करोड २४ लाख ५० हजार रुपैयाँ बुझेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो प्रकरणमा बुधबार जिल्ला अदालत काठमाडौंमा दायर अभियोगपत्र अनुसार भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन गठित समितिको कार्यादेश नै खाँणले रकम लिएर थप गरेको भेटिएको छ ।

अदातलमा दायर गरेको अभियोगपत्रमा खाँणविरुद्ध पाँच वटा कसुरमा मुद्दा चलाइएको छ । उनीविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राज्यविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा चल्ने भएको छ ।

अभियोगपत्रमा उल्लेख भए अनुसार शटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालिन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदल २०७६ ले तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाए पश्चात नयाँ सरकार गठन भएपछि गृहमन्त्री बनेका खाँणको निर्देशनमा २०७८।०६।१४ गते सचिवस्तरीय निर्णयबाट जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाई छुट भएका शरणार्थीहरुको विवरणलाई पुनः भेरिफाइ गरी पेश गर्नेसमेतको कार्यादेश दिएको पाइएको छ । सो समितिले कुनै काम नै नगरेको अवस्थामा मिति २०७९।०२।२७ गते मन्त्रीस्तरको निर्णयबाट कार्यदलको म्याद पुनः २ महिना म्याद थप गर्दा छुट शरणार्थीहरुको नाम समावेश गर्ने समेतको कार्यादेश थप गरेको पाइएको छ ।

पहिले दर्ता भएका ४२९ जना शरणार्थीहरु नै विवादित रहेको अवस्थामा थप छुट दर्ता गराउन नहुने, भुटानी शरणार्थीहरुलाई मानवीय सहायता सम्बन्धी बिषयमा निर्णय गर्दा अन्य देशका शरणार्थीहरुको हकमा समेत निर्णय गर्न दवाव पर्नसक्ने र सो गर्न अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिकोणले समेत कठिन हुने भएकोले थप छुट शरणार्थीहरु दर्ता गर्ने समेतको कार्य नगर्न तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेलाई मन्त्रालयकै सहसचिवसहितले सुझाव दिएकोमा वेवास्ता गरी छुट शरणार्थीहरु सम्बन्धी निर्णय गरेको पाइएको छ । शरणार्थीहरुको दर्ता प्रक्रिया र तेश्रो मुलुकमा पुनःर्स्थापनाको कार्य पूर्णरुपमा बन्द भईसकेको अवस्थामा अघिल्लो स्वीकृत प्रतिवेदनसँग मिल्ने समानान्तर प्रतिवेदन तयार गरी नेपाली नागरिकहरुलाई भुटानी शरणार्थीको सूचीमा समावेश गराइ झुक्यानमा पारेको, शरणार्थी शिविरहरुको रेखदेख र अभिलेख राख्ने जिम्मेवारी पाएका ना.सु. सुरेन्द्र दाहाललाई नाम दर्ता हुन छुट भुटानी शरणार्थीहरुको बिवरणमा थप गर्नका लागि दवाव दिएको र सो काम निजले गर्न आलटाल गरेकोले तत्कालै सरुवा गरिदिएको पाइएको छ । पक्राउ परेका प्रतिवादी केशवप्रसाद दुलालले प्रतिवादी बालकृष्ण खाँणलाई नेपालीहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यकै लागि भनी एक करोड २४ लाख ५० हजार नगदै दिएपछि कार्यादेशसमेत थप गरी समितीको म्याद थप गरेको अभियोगपत्रमा उल्लेख छ ।

पक्राउ प्रतिवादी दुलालको मोवाईलमा फेला परेको गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डेबीचको संवादमा केशवले ‘सर पन्थी सरले कस्तो राय दिनु भयो हजुर’ भनी भनेको, टेकनारायणले ‘डिटेल कुरा भो, अब युएनएचसिआरसँग मिटिङ्ग छ, अनि थप काम हुन्छ’ भनेको देखिएको । केशवले छुट भएको हकमा कसरी गर्ने हजुर भनी भनेको ।

टेकनारायणले मन्त्रीज्यूको सामान रेडी भएन भनी भनेको, केशवले भोली रेडी हुन्छ जस्तो छ हजुर भनी भनेको । टेकनारायणले मन्त्री ज्यूलाई म भेट गराउछु भनी भनेको । अर्काे संवादमा टेकनारायणले मन्त्रीज्यूको गिफ्ट ल्याएनौ भनी भनेको । केशवले ओके, गेटमा हजुर तल भन्दिनु भनी भनेको । टेकनारायणले ल भन्या छु, गिफ्ट माथि लिएर आउन, गिफ्ट कहाँ छ सँगै लिएर आउनु भनी भनेको देखिँदा बालकृष्ण खाँणलाई केशवप्रसाद दुलालले रकम दिने, गिफ्ट दिने, भेट्ने लगायतका संवादहरुबाट बालकृष्ण खाँड समेतको आपराधिक समूहमा संलग्नता रहेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ । पक्राउ पर्नुभन्दा पूर्व खाँणले आफ्नो निजी मोवाईल विवरणहरु मेटाउने उद्देश्यले फर्मेट गरेको, पाण्डे पक्राउ परेपछि हिरासतबाटै निजले खाँणलाई कसूरबाट जोगाउनका लागि प्रधानमन्त्री समेतलाई भनेर अनुसन्धान प्रकृया रोक्न दवाव दिनुपर्ने तथा दुलाल र भण्डारीले दिएको रकम फिर्ता गरी खाँणको नाम नलिने गरी ईन्कारी बयान गर्न लगाउनु भन्ने समेत लिखित सुचना दिएको र सो सूचना खाँण र निजका स्वकीय सचिव नरेन्द्र के.सी.को साथबाट बरामद भएको, खाँणले प्रतिवादी आङटावा शेर्पालाई सानु भण्डारी र केशव प्रसाद दुलाललाई हिरासतमै भेट्न पठाई पहिले लिएको रकम फिर्ता गर्ने र बयानमा आफु समेतलाई पोल नगर्न भनी पठाएको र त्यसमा सहमति भएपछि एक करोड रुपैयाँ स्वकीय सचिव नरेन्द्र केसीमार्फत आङटावा शेर्पाले लिएर तीस लाख सानु भण्डारीको दाजु राजु भण्डारीलाई भरपाई गरिदिएको पुष्टि भएको छ ।

अभियोगपत्र अनुसार सो अबधिमा आङटावा शेर्पा र नरेन्द्र केसीबीच मोवाईलमा ४९ पटक कुराकानी भएको, केसीको मोवाईल परीक्षण गर्दा फर्मेट गरेको, मोबाइलमा आर्थिक लेनदेन सम्बन्धी म्यासेज रहेको, मोवाईलमा शरणार्थी समन्वय ईकाई बेलडाँगी झापाको सूचना, गृहमन्त्रालयको निर्देशन, र भुटानी शरणार्थी समन्वय सम्बन्धी पत्र, नक्कली शरणार्थी परिचयपत्रको विवरण मेटेको देखिएको छ । प्रतिवादी टेकनारायण पाण्डेले थप बयान गर्दा भुटानी शरणार्थीहरुको सम्बन्धमा प्रतिवादी दुलालले तत्कालिन गृहमन्त्री खाँणकै कार्यकक्षमा निजलाई रकम दिएको खुलाएकोले संगठित ठगी लिखत किर्ते एवं राष्ट्रहित प्रतिकुल काम गरी आपराधिक समूहका अन्य प्रतिवादीहरुलाई परिचालन गरी जाहेरवालाहरु समेतबाट संकलन गरिएको ठगीको रकम, लिनेखाने काममा संलग्न रहेको देखिन आएकोले प्रतिवादी बालकृष्ण खाँणले गैर भुटानी शरणार्थी अर्थात आम नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने समूहमा आवद्ध भई प्रतिवेद लगायत गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करोडौं रकम ठगी गरेको पुष्टि हुने अभियोगपत्रमा उल्लेख छ ।

बुधबार, १० जेठ, २०८०, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर